उत्तरकोरियामाथि अमेरिकाले एक्सन लिने संकेत

सिरियामा रसायनिक हतियार आपूर्ति गरेको आरोप

दृष्टि न्यूज

काठमाडौं (एजेन्सीहरु) । १६ फागुन । स्वतन्त्र राष्ट्रको हैसियतमा कोरियाली प्रायः दिपमा रहेको उत्तर कोरियामाथि अमेरिकाले कुनै पनि समयमा आक्रमण गरे अन्यथा नहुने भएको छ । यद्यपि चीन र रसियाको दरिलो संरक्षण प्राप्त उत्तर कोरियामाथि यसअघि पनि अमेरिकाले पटक पटक आक्रमण गर्ने धम्की, चेतवानी र तयारीलाई रोक्न बाध्य हुँदै आएको छ । तर, यस पटकको दृष्य भने केही फरक छ । सिरियामा भइरहेको मानव संहारमा उत्तर कोरियाको हात रहेको भन्दै अमेरिकाले गम्भिर आरोप लगाएपछि दुई देशका बीचमा बढ्दै गएको कटुता कुनै पनि समयमा युद्धमा परिणत हुने खतरा अगाडि आएको छ । 
बुधबारदेखि अमेरिकी सञ्चार माध्यमहरुमा सिरियामा मानव संहारको लागि उत्तर कोरियाले रसायनिक हतियार उपब्ध गराएको समाचार सार्वजनिक गरेका छन् । संयुक्त राष्ट्र संघीय अधिकारीहरुलाई उध्रित गरिएको समाचारमा कुनै ठोस तथ्य वा प्रमाण समावेश छैन । त्यसैले उत्तरमाथि आक्रमण गर्न वातावरण सिर्जना गर्ने क्रममा अमेरिकाले प्रपोगाण्डा अघि सारेको अनुमान गरिएको छ । 
अमेरिकी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको न्यूयोर्क टाईम्सले सिरियाका राष्ट्रपति बसर अल असदको सेनालाई उत्तर कोरियाले घातक रसायनिक हतियार उपलब्ध गराएको समाचार प्रकाशित गरेको हो । बीबीसीले सिरियामा उत्तर कोरियाले रसायनिक हतियार पठाएको उल्लेख गर्दै समाचार प्रशारण गरेको छ भने अर्को अमेरिकी सञ्चार माध्यम सिएनएनले समेत सोही व्यहोराको समाचार प्रशारण गरेको छ । 
न्यूयोर्क टाईम्सले संयुक्त राष्ट्र संघीय सुरक्षा विज्ञलाई उध्रित गर्दै प्रकाशित समाचारमा उत्तर कोरियाले एसिड रेसिस्टेन्ट टाइल, भल्भ एण्ड पाइपलगायतका सामग्री पठाएको उल्लेख छ । राष्ट्र संघीय विज्ञले तयार गरेको प्रकाशन हुन बाँकी रहेको भनिएको रिपोर्टमा सो कुरा उल्लेख रहेको दावी अमेरिकीहरुले गरेका छन् । साथै उनीहरुले सिरियामा आणविक हतियार उत्पादन गर्न प्योङयाङले आणविक हतियार विज्ञलाई पठाएको समेत दावी गरिएको छ । बीबीसीका अनुसार उत्तर कोरियाले पाँच जहाज त्यस्ता सामग्री पठाएको अमेरिकीबाट प्रशारित समाचारमा  उल्लेख छ । सिरियाबाट उत्तर कोरियाले ति सामग्रीको भुक्तानी लिएको समेत दावी समाचारमा उल्लेख गरिएको छ । 
सिरियाली सरकारी सेनाले प्रयोग गरेको भनिएको क्लोरिन ग्याँस समेत उत्तर कोरियाले नै पठाएको दावी अमेरिकाले गरेपछि अब उत्तर कोरिया र अमेरिकाको बीचमा जारी तनाव नयाँ मोडमा पुगेको छ । उत्तर कोरियाले रसानिक हतियार उत्पादन गर्ने कारखानामा लाग्ने सामग्री आपूर्ति गरेको आरोप अमेरिकाले लगाए पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । 
‘उत्तर कोरिया–सिरियाबीच प्रतिवन्धित केमिकल, ब्यालेस्टिक मिसाइल तथा कन्भेन्सनल हतियारमा सहकार्य’ शिर्षकमा खोजपूर्ण रिपोर्ट भन्दै उत्तर कोरियामाथि गम्भिर आरोप लागेपछि उत्तर कोरिया र अमेरिकाबीचको तनावले नयाँ मोड लिने निश्चित भएको छ । 
उता, संयुक्त राष्ट्र संघले भने प्रतिवेदन लिक नभएको दावी गर्दै प्रवक्ता स्टेफन डुजारिकले भनेका छन्, प्रतिवेदन लिक भएको कुरा थाहा छैन । तर, संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी सबैले पालना गर्नु सबै सदस्य राष्ट्रको दायित्व हो । सिरियाली सरकारले भने उत्तर कोरियाको उपस्थिति केही खेलकूदका कोचका रुपमा मात्रै रहेको प्रष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 
उता, चीनले भने उत्तर कोरिया र अमेरिकालाई प्रत्यक्ष वार्तामा बसेर समस्याको हल निकाल्न आह्वान गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले अमेरिका र उत्तर कोरियाबीच प्रत्यक्ष वार्ता गर्नुपर्ने उल्लेख गरेको सिन्हवाले जनाएको छ । लुले भनेका छन्, पछिल्ला दिनहरुमा कोरियाली प्रायदिपमा उत्पन्न समस्याको समाधान आपसी वार्ताद्वारा गर्नुपर्ने उल्लेख गरेका छन् । लुले भनेका छन्, ‘अमेरिका र उत्तरकोरियाबीचको वार्ता हुने चीनले आशा गरेको छ ।’
पछिल्ला दिनमा सिरियामा अमेरिका समर्थित विद्रोहीको आक्रमणमा परी सयौं निर्दोष मानिसको ज्यान गएको घटनाको अन्तर्राष्ट्रिय जगतले चर्को निन्दा र भत्र्सना गर्दै आएका छन् । 

Related News