​दरबारमार्गका पसलमा ज्यादति

काठमाडौं । आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आज दरबारमार्गका पसलहरुमा अत्यधिक मुनाफा लिई सामान बिक्री गरेको आरोप लगाउँदै सिल गरेको छ । दरबारमार्गका वेन्टली, पुमा, नाइक र स्टोर वानमा छापा मारेर पसल सिल गरेको पर्सिपल्ट आज दिउँसो ‘लिवाइज’, ‘एडिडास’, ‘रिबक’ सो रुममा पनि विनाकारण छापा हान्ने र ‘सिल’ गर्ने काम सुरु गरेको छ । विभागले २० प्रतिशत भन्दा बढी मुनाफा लिएर सामान बिक्री गरी कालोबजारी गरेकाले सिल लगाएको छ । ब्यापारीले के कति मूल्यमा सामान आयात गर्छन् र कति मूल्यमा बिक्री गर्छन् भन्ने कुराको जानकारी नै नलिई सरकारले जबर्जस्ती छापा मार्ने काम गरेपछि ब्यापारीहरु आक्रोसित भएका छन् । 
दरबारमार्ग जस्तो ठाउँमा २० प्रतिशत मात्र मुनाफा लिएर पसल संचालन गर्न संभव छ कि छैन, त्यो पाटोतिर ध्यान दिन सकेको छैन । विभागले करोडौंको लगानीमा खुलेका पसल बन्द गर्नु ज्यादति हो । अत्यधिक मुनाफा लिनेलाई पसल बन्द नगरी प्रारम्भिक रुपमा सचेत गराउने बाटो छाडेर एकैचोटी पसल बन्द गर्ने कामले ब्यापारी आतंकित भएका छन् । विभागको ज्यादतिको विरोध गर्र्दै दरबारमार्गका अन्य ब्यापारीले समेत पसल बन्द छन् । कति मूल्यमा सामान आयात गरेको हो, कतिमा बिक्री गरेको छ, त्यसबारेमा बुझ्दै नबुझी एकाएक पसलभित्र छिरेर वाइसीएल शैली अपनाएकोमा ब्यापारीहरु रुष्ट भएका छन् । सरकारले भनेअनुसार २० प्रतिशतमात्र मुनाफा लिएर दरबारमार्गमा कसैले पनि पसल संचालन गर्नसक्दैन, दरबारमार्ग जस्तो ठाउँमा पसल खोल्न अत्यधिक महंगो भाडा तिर्नुपर्छ, त्यसमा स्टाफ खर्च समेत जोड्दा २० प्रतिशत मुनाफाले कसरी ब्यापार चल्छ ? 
आपूर्ति ब्यवस्था विभागको टोलीले आज छापा मार्ने क्रममा रिबक जुत्ताको सोरुमबाट खरिद मूल्य र बिक्री मूल्यमा खासै अन्तर पाएन । विभागका महानिर्देशक कुमार दाहालले मूल्यमा खासै अन्तर नपरे पनि रिबकमा पनि ताला लगाउन आदेश दिएका थिए । अरु बेला अनुगमन नगर्ने विभाग दशैंमा एकाएक जाग्ने गरेको छ । दशैंको मुखमा ब्यापारी तर्साएर लाभ लिनेतिर उन्मुख भएको आशंकालाई थप पुष्टी गरेको छ । 

Related News