​दुर्गा तिवारी हत्या रहस्यमय बन्दै

अरुण ज्ञवाली/भैरहवा १२ पुस । युवासंघ रूपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको साता दिन बितिसक्दा पनि घटनामा संलग्न अपराधीहरु पक्राउ पर्न नसकेपछि  हत्या प्रकरण रहस्यमय बन्दै एको छ । हत्यापछि कतिपयले आर्थिक र राजनीतिसँग जोडेर गरेका टिकाटिप्पणीले तिवारीको हत्याको सत्यतथ्य पत्ता लाग्न अझै लामो समय लाग्ने हो कि भन्ने आशंका उत्पन्न हुन थालेको छ ।
देवदह नगरपालिका–६ का २८ वर्षीय मनोज पुन भनिने मनोज बुढामगरले आर्थिक लेनदेनका कारण गोली हानेर हत्या गरेको आशंका प्रहरीले गरेको छ भने तिवारी परिवार उक्त कुरामा सहमत हुन सकेका छैनन् । अनुसन्धानका लागि ४ चार जनालाई पक्राउ गरे पनि उनीहरुको नाम ठेगाना भने गोप्य राखिएको छ । 
हत्याको भोलिपल्ट सरकारले नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा छानविन टोली गठन गरेर अनुसन्धान सुरु गरेको छ । शर्माको उक्त टोलीलाई सत्यतथ्य पत्ता लगाएर १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । प्रहरी स्रोतका अनुसार छानविन टोलीले गम्भीररुपमा अनुसन्धान गरिरहेको छ । इन्टरपोल र भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले दृष्टिलाई बताए । 
तिवारी परिवार मात्र होइन उनी आवद्ध युवासंघ र नेकपा एमालेसमेत दुर्गा तिवारीको हत्या आर्थिक लेनदेन नभई विशुद्ध राजनीतिक कारणबाट भएको बताइरहेको छ । आर्थिक लेनदेनसँग मिलाएर घटनालाई कमजोर बनाउन खोजिएको दावी युवासंघको छ । 
६ वर्षपछि कोरियाबाट फर्केपछि रुपन्देहीको सुरजपुरमा इ‘ट्टा भट्टा चलाउँदै आएका दुर्गा तिवारी र उनको परिवारको समाजमा राम्रो सम्मान थियो भने उनले छोटो समयमा सफल व्यवसायीको पहिचान पनि बनाएका थिए । बैंकबाहेक अन्य कसैसँग आर्थिक कारोवार र लेनदेन नगरेका र अघिल्लो दिनसम्म ५ नं प्रदेश विभाजनविरुद्धको आन्दोलनको अगुवाई गरेका तिवारीको हत्या हुनुलाई ब्यक्तिगत भन्न नहुने तर्क एमालेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र धानुकले तिवारी हत्याका बिषयमा प्रहरीले सुक्ष्म तवरले अनुसन्धान गरिरहेको बताउ‘छन् । 
घटनालगत्तै मनोज पुनका नाममा घटनाको जिम्मेवारी लिएको हल्ला चलाइनु र कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालमा मनोज पुन युवासंघको पूर्वकार्यकर्ता रहेको भन्दै घटनालाई ब्यक्तिगत रिसइबीमा परिणत गर्ने षड्यन्त्र गर्नुले पनि राज्यको नेतृत्व र उसैले चलाएको अपराधिक समूहको पूर्वयोजनामा घटना घटेको एमाले नेताहरुले आरोप लगाएका छन् ।
युवासंघ नेपालका उपाध्यक्ष राजु गुरुङले लेनदेन नभई राजनीतिक प्रतिशोध राखेर हत्या गरिएको दाबी गरेका छन् । यसअघि गत फागुन ६ गते दुर्गामाथि गोली हान्ने प्रयास गरिएको र त्यसबेला पक्राउ गरेका ८ जनाको बयानका आधारमा मनोज पक्राउ पर्न नसक्नुमा प्रहरीको कमजोरी मात्र होइन मनोजको शक्तिकेन्द्रसँगको संलग्नता हो कि भन्ने प्रश्न उठेको छ ।
देवदह क्षेत्रमा तस्करी, अपहरण, हप्ता असुली  र गुण्डागर्दीमा संलग्न मनोज पुनलाई युवासंघमा आबद्ध गराएर सुध्रने मौका दिइएको भए पनि मनोजले अपराधकर्म नत्यागेपछि केही दिनमै निष्काशन गरिएको एमाले स्रोतले जनाएको छ ।
युवासंघबाट आफू र आफनो अपराधको संरक्षण नहुने देखेपछि आक्रोशित पुनले त्यस क्षेत्रका एमाले निकट कार्यकर्ता तथा ब्यवसायीहरुलाई धम्क्याउन थालेको बताइन्छ । यसमा सवैभन्दा बढी आक्रोशित दुर्गा तिवारीसँग रहेको घटनाक्रमले देखाएको छ ।
युवासंघले साथ नदिएपछि आफ्नो छुट्टै समूह बनाउन पुनले विभिन्न अपराधिक घटनामा संलग्न शालिकराम चापागाई, ऋषि घिमिरे, राजेन्द्र धमेल, संजोस नेपाली, उक्रेन गुरुङ, बेनीराम सोमै, चित्रबहादुर गुरुङ, रवि केसीलगायत स‘ग मिलेर गुण्डागर्दी अपरहण र हप्ता असुलीजस्ता काम गर्दै आएको घटनाक्रमले देखाएको छ ।
दुर्गा तिवारीको हत्यालगत्तै स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमहरुमा फोन गरेर जिम्मा लिएको भनिएका मनोज पुनले नै हत्या गरेको वा गराएको भन्ने अझै यकिन हुन भने सकेको छैन । यसअघि पनि तिवारीमाथि गरिएको गोली प्रहारको असफल प्रयासमा मनोजको संलग्नता पुष्टि भएकोले पनि यो घटनामा सबैको ध्यान मनोजतिरै केन्द्रित भएको हो । 
तिवारीको हत्याको अर्को दिन मंगलबार केही सञ्चारकर्मीहरुलाई मधेश जनमुक्ति सेनाका संयोजक प्रतापसिंह मधेशीले दुर्गा तिवारी हत्या ट्रेलर मात्र भएको र अब अरू नेपाली पत्रकार, मारवाडी उद्योगपति र पहाडिया उद्योगपतिको साथै मधेशविरोधी जुनसुकै समुदायका नेताको समेत पालो आएको धम्कीपूर्ण सन्देश पठाएकोले पनि यो हत्याकाण्ड रहस्यमय बनेको हो । 
विभिन्न अपराधिक घटनामा संलग्न मनोज पुनका सहयोगीहरु अझै पनि देवदहमा रहेको र उनीहरुले तिवारीको हत्याबारे निरन्तर जानकारी गराइरहेकोले उक्त हत्याकाण्ड मनोज पुनकै समूहले गरेको स्थानीय बताउ‘छन् ।
आफूले घटनाको जिम्मा लिएर त्रास फैलाउने र आफू डन भएको प्रमाणित गराएर स्थानीय मात्र होइन देशभरिका उद्योगी ब्यापारीहरुबाट रकम असुल्ने योजनामा मनोज पुन रहेको हुनसक्ने पनि देखिन्छ । उनले सञ्चार माध्यमहरुमा गरेको कुराकानीले पनि त्यो संकेत गरेको छ ।
दुर्गा तिवारीको बढ्दो लोकप्रियताका र प्रदेश नं ५ को विभाजनविरुद्धको आन्दोलनमा खेलेको भूमिकालाई निस्तेज पार्ने षड्यन्त्रस्वरुप हत्या गराएको हुन सक्ने अनुमान धेरैको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले हत्याको विषयमा गहिरो अनुसन्धान भइरहेकोले हत्यारा छिट्टै पत्ता लाग्ने बताउँदै युवासंघको मागअनुरुप  दुर्गा तिवारीलाई सहिद घोषणाको लागि केन्द्रमा सिफारिस गरिएको जानकारी दिए ।

Related News