​अर्थतन्त्रको असामान्य तस्बिर

अर्थमन्त्री युवराज खतिवडाले सरकारको तर्फबाट शुक्रबार मुलुकको आर्थिक अवस्था र भविष्यमा चालिनुपर्ने कदमसहितको श्वेतपत्र संघीय संसदमा प्रस्तुत गरेका छन् । मूलतः उनले अर्थतन्त्रको भयावह तस्बिर सबैका सामु छर्लंग पारिदिएका छन् ।
उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रममा होडबाजी देखिँदा र बजेट अनुशासन उल्लंघन हुँदा सरकारी ढुकुटी करिब रित्तो अवस्थामा छ । विगतको सरकारले बजेटको मनपरी परिचालन गरिँदा अर्थतन्त्र असन्तुलित भएको छ । स्थापित प्रणाली र मान्यताविपरीत कतिपय कर छुट दिइएको छ, जसले आर्थिक प्रणाली नै धराशयी बन्ने मोडमा पुगेको छ । हातमा डाडुपन्यु छ भन्दैमा गैरबजेटरी खर्च गर्न उद्यत रहने राजनीतिक र प्रशासनिक नेतृत्वका कारण पनि अर्थतन्त्रको यो गति भएको श्वेतपत्रको निष्कर्ष छ । यसले पुराना योजना सम्पन्न हुन नसक्ने र लहडमा ल्याइएका नयाँ योजनाका नाममा राज्यकोषको रकम छर्ने प्रथालाई मलजल गरेको छ । न विकास हुने, न त बजेट नै बाँकी रहने, सीमित राजनीतिक र बिचौलिया वर्ग पोसिने अवस्था यसले सिर्जना गरेको छ । 
सहज व्यावसायिक वातावरणको अभावमा आर्थिक क्रियाकलाप विस्तार हुन नसक्नु मुलुकको अर्थ व्यवस्थाका निम्ति अर्को पीडादायी अवस्था हो । आयातमा आधारित राजस्व, विप्रेषणमा आधारित उपभोगको चक्रमा अर्थतन्त्र रुमलिएको छ । अनौपचारिक अर्थतन्त्र मौलाउँदा राजस्वको दायरा संकुचित भएको छ । आयातमा आधारित राजस्व र अनौपचारिक अर्थतन्त्रको बोलवाला हुनुको सोझो अर्थ हो, मुलुकमा बिचौलिया अर्थतन्त्रको जगजगी छ र त्यसमा पनि अवैध कारोबारले वैध अर्थतन्त्रलाई निल्न लागेको छ । मुलुकको अर्थमन्त्रीबाट प्रस्तुत यो तीतो वास्तविकता प्रस्तुत गर्नुपर्ने अवस्था आउनु थप विडम्बनापूर्ण छ ।    
मुलुकले धान्नै नसक्ने गरी वैदेशिक व्यापार घाटामा गइसकेको छ भने विप्रेषणको घट्दो दर अनि वैदेशिक सहायता प्रतिबद्धतामा मात्र सीमित हुँदा विदेशी मुद्रा सञ्चितिको अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ । पुँजी बजार र वित्तीय क्षेत्र आर्थिक वृद्धिसँग जोडिन सकेको छैन । वस्तुको उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने उत्पादनमुखी बाटो अँगाल्न नचाहने जुम्सो निजी क्षेत्र पैसाका पसल थापेर बसेको छ, जसले बैंक र सेयर बजारमा बिचौलियागिरी गरी सर्वसाधारणको कमाइमा गोरखधन्दा चलाइरहेको छ ।
मुलुक संघीयतामा गइसकेपछि स्वभाविकरुपमा एकातिर प्रशासनिक खर्चमा वृद्धि हुँदैछ । त्यसमाथि मुलुक असामान्य परिस्थितिमा हुँदा कम खाएर धेरै काममा खटिऊँ र राष्ट्रलाई अप्ठेरो परिस्थितिबाट माथि उकासौँ भन्ने भावना राष्ट्रसेवकमा सर्वथा अभाव देखिएको छ । बरु उल्टै अप्ठेरो परेका थप घाँटी कस्ने र एकमुस्ट ‘पेन्सन’को बार्गेनिङ गर्ने कर्मचारीतन्त्र न पाल्न सकिने, न फाल्न सकिने स्थिति बनेको छ ।
अर्थमन्त्रीकै भाषामा विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले आर्थिक अनुशासनका सम्पूर्ण दायरा निर्ममतापूर्वक तोड्यो । स्थापित प्रणाली र मान्यताविपरीत अर्ब र खर्बको हिसाबमा कर छूट दियो । योजना, बजेट र कार्यक्रममै नभएका ठाउँमा करिब खर्ब बजेट खर्चिइएको छ । भैपरी आउँदाका लागि २५ करोड मात्र छुट्याइएको आर्थिक सहायता शीर्षकमा देउवा सरकारले ४० करोड आसेपासेलाई बाँडेको छ । 
नेता तथा कर्मचारीको तलबभत्ता र सुखसुविधामा जाने रकम घट्नुपर्नेमा अस्वाभाविक रुपमा बढेको छ र विकास निर्माणको बजेटको आकार मात्रै चाउरिएको छैन, खर्चको प्रवृत्ति समेत निराशाजनक छ । श्वेतपत्रकै भाषामा, विगत ५ वर्षमा ६४ प्रतिशत चालु र २१ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको छ । चालुमा सबै खर्च हुँदा पुँजीगततर्फ भने बजेटको औसत ७२ प्रतिशत मात्रै खर्च भएको छ । खर्च भएको भनिएको बजेटमा पनि अनियमतिता, अराजकता र विकृतिले सिंगो शासकीय प्रणालीलाई नै अस्तव्यस्त तुल्याएको छ ।
बाम गठबन्धनका नेता केपी शर्मा ओली नेतृत्वको सरकारले सबैभन्दा पहिला गर्नैपर्ने काम थियो, मुलुकको वास्तविक अवस्थाको चित्र सबैसामु पेस गर्ने । यो काम इमानदारीपूर्वक र कठोरतासाथ सम्पन्न गरेका छन्, अर्थमन्त्री खतिवडाले । विगतमा जेजस्ता कार्य भए, त्यसवापत नेपाली जनताले कांग्रेसलाई इतिहासमै कमजोर स्थानमा पु¥याएर दण्डित गरिसकेका छन् । अब प्रधानमन्त्री, अर्थमन्त्री वा सत्तारुढ दलका कुनै पनि नेताले अरु कसैलाई औँल्याएर आफू दायित्वविमुख हुने अवस्था छैन । यो सरकारसँग आमनागरिकको व्यापक अपेक्षा पनि छ । तसर्थ, यी समस्याको समाधान गरी मुलुकलाई आर्थिक समृद्धि र सुशासनको बाटोमा अग्रसर बनाउन दृढतापूर्वक कदम चाल्नुपर्छ । यस क्रममा ससाना व्यक्तिगत, पारिवारिक वा समूहगत स्वार्थबाट माथि उठेर बृहत स्वार्थका निम्ति कठोरतम कदम चाल्न पनि पछि हट्नुहुँदैन । यो असामान्य परिस्थितिमा पद र शक्तिमा रहेका नेता तथा हरेक कर्मचारीले यतिखेर व्यक्तिगत लाभहानिलाई तामेलीमा राखेर आर्थिक अनुशासन र मितव्ययिता अपनाउनुपर्छ । नेपालीहरु राष्ट्र जोगाउन र राष्ट्रिय उन्नति हासिल गर्न कसरी त्याग र समर्पणको भावना देखाउन सक्छन् भनेर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । 

Related News