​गृहमन्त्रीको अग्निपरीक्षा

दृष्टि न्यूज

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि धेरैले आश्चर्यका रुपमा लिएका थिए । बहालवाला गृहमन्त्रीले दिएको यो अभिव्यक्तिलाई कतिपयले पद सुहाउँदो नभएको भन्दै आलोचना समेत गरेका थिए । तर, उनले आफ्नो कार्ययोजना सार्वजनिक गरेलगत्तै सुन तस्करीको जालो छिचोल्न गृह मन्त्रालयकै सहसचिव ईश्वरी पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । र, हालसम्मको अनुसन्धानअनुसार नेपाल प्रहरीकै जवानदेखि उच्च तहका अधिकारीहरुको नाम यसमा मुछिएको छ ।
विमानस्थलबाट सजिलै सुरक्षा घेरा तोडेर सुन बाहिरिन्छ । तर पुग्नुपर्ने ठाउँमा सुन नपुगेपछि मात्र महानगरीय अपराध महाशाखाका प्रहरीलाई सुन लुटिएको सूचना आउँछ । उता सुन बोकेर गएका व्यक्ति मृत अवस्थामा गाडीभित्र भेटिन्छन् । करेन्ट लगाएर उनलाई मारिएको हुन्छ । यता प्रहरीलाई सुन लुटियो भनेर जानकारी दिने व्यक्ति गत वर्षको ३३ किलो सुन तस्करी प्रकरणमा प्रमुख अभियुक्तका रुपमा किटान गरिएका व्यक्ति गोरे भनिने चूडामणि उप्रेती हुन्छन् । र, यसपटकको ३३ किलो सुन लुटियो भनेर प्रहरीलाई तिनै गोरे भन्ने उप्रेतीले जानकारी दिनुले घटनाका धेरै पहेलीहरु उजागर गरेको छ । 
प्रथमतः विगतका ठूल्ठूला तस्करीका प्रमुख व्यक्ति भनेर प्रहरी अनुसन्धानबाट किटान भइसकेका व्यक्तिसँग बहालवाला अनुसन्धान अधिकृतहरुसँग राम्रै हिमचिम रहेछ भन्ने यस घटनाले उजागर गर्छ । नभए काठमाडौँ उपत्यकाबाहिर कार्यक्षेत्र नै नभएको प्रहरीको हाकिमलाई सन्दिग्ध व्यक्तिले फोन गरी जानकारी दिनु सम्भव थिएन । अर्को, त्यो जानकारी पाएलगत्तै अपराध महाशाखाको टोली आफ्नो क्षेत्राधिकारबाहिर गएर सनम शाक्य मारिएको मोरङको पोखरी भन्ने ठाउँमा पुगेको छ । त्यसरी उपत्यकाबाहिर जाने प्रहरी अधिकृतले तत्कालीन महाशाखा प्रमुख दिवेश लोहनी र महानिरीक्षक प्रकाश अर्यालको आदेशले गएको बयान दिएका छन् । 
यतिखेर लोहनी लगायत केही प्रहरी अधिकृतहरु छानबिनको दायरामा छन् । विमानस्थल सुरक्षा प्रमुख समेत भइसकेका पूर्वनायब महानिरीक्षकलाई समेत अनुसन्धान समितिले नियन्त्रणमा लिएको छ । यसको लहरो अझै फैलिँदै धेरैतिर पुग्ने देखिएको छ । अनुसन्धान समितिले खुट्टा नकमाई सत्यतथ्य पत्ता लगाएमा मुलुकमा भूमिगत गिरोहले सञ्चालन गरिरहेको छायाँ अर्थतन्त्रको यथार्थ विवरण बाहिर आउने नै छ । तसर्थ, यो एउटा घटनाविशेषका रुपमा नभई सिंगो तस्करी–सञ्जाल तोड्ने प्रयासका रुपमा अगाडि बढाइनुपर्छ । तस्करको जालो तोड्न सफल भएमा गृहमन्त्री सम्मानका भागीदार हुनेछन् । तसर्थ, यो उनको निम्ति परीक्षाको घडी पनि हो ।
प्रहरीका उच्च तहका हाकिमहरु नै तस्करीसँग जोडिएको घटनाले राज्यसंयन्त्रभित्र कालो कारोबारीहरुको घूसपैठको डरालाग्दो तस्बिर बाहिर ल्याइदिएको छ । डीआईजी र आईजीपी तहकै व्यक्तिको नाम जोडिइसकेपछि प्रहरी संयन्त्रभित्रै तस्करीको जालो भयावह तरिकाले फैलिएको प्रस्ट देखिन्छ । तसर्थ, प्रहरी शुद्दीकरणको लागि समेत यो महत्वपूर्ण अवसर हो । प्रहरीले आँटिला र अनुसन्धानमा अब्बल कहलिएका सर्वेन्द्र खनाललाई प्रमुखको रुपमा पाउनु पनि सुखद संयोग नै मान्नुपर्छ । प्रहरी शुद्दीकरणका निम्ति यस घटनालाई अवसरका रुपमा लिँदै कठोर कदम चाल्न उनी समेत पछि पर्नुहुँदैन । कुनै पनि प्रकारका अवैध हर्कतलाई साथ र सहयोग प्रहरीबाट मिलेको रहेछ भने बिनासम्झौता कारवाहीको दायरामा ल्याउनुपर्छ । 
प्रहरी स्वस्थ भयो भने मुलुकको शासन संरचना र समाजका ९० प्रतिशत विकृति नाश हुन्छन् । त्यसैले गृहमन्त्री र प्रहरी प्रमुख दुवैले सुन प्रकरणबाट छिरेर यो समाज र शासनभित्रका विकृतिमाथि कठोर प्रहार गर्नैपर्छ । नयाँ संविधान, नयाँ राज्य संरचनाको अभ्याससँगै नयाँ युगको ढोका खुलेको आभास सबै नेपालीलाई भएको छ । यो आशालाग्दो घडीमा प्रहरी र गृह नेतृत्वले इतिहासले सुम्पिएको अभिभारा पूरा गरून् । यो भूमिकामा इमानदार भएर प्रस्तुत भएमा भावी पुस्ता र समग्र मुलुकको इतिहास नै उनीहरूप्रति धन्य हुनेछ ।

Related News