​चीन भ्रमण र आर्थिक समृद्धि

दृष्टि न्यूज

आर्थिक समृद्धिको एजेण्डा बोकेको सरकारको नेतृत्व गरिहेका केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण सम्पन्न भएको छ । समृद्धि नेपाल सुखी नेपाली भन्ने नारा लिएर चीनतर्फ लागेका प्रधानमन्त्री ओली आइतबार काठमाडौंमा अवतरण गरेपछिको हसिलो अनुहारमा भ्रमणमा तस्विर झल्किएको छ । प्रधानमन्त्री ओलीको ओलीको चीन भ्रमण निकै फलदायी मात्रै नभएर चिनियाँ भाषामा ‘विशेष उपलब्धीमूलक’ रुपमा सम्पन्न भएको छ । कुटनीतिमा लेनदेनको कोणबाट मात्रै कुनै पनि भ्रमणलाई हेरिदैन । आपसी सद्भाव बृद्धि, विश्वास थप मजबुत, प्रविधिमा साझेदारी अनि एक अर्काप्रतिको सम्मानको कोणबाट समेत यस पटकको प्रधानमन्त्री ओलीको चीन भ्रमण सम्झनालायक रहन पुगेको छ । नेपालबाट हुँदै आएको चीन विरोधी गतिविधि रोक्ने सन्दर्भमा नेपालले चीनलाई आश्वस्त पार्न सक्नु महत्वपूर्ण उपलब्धी हो । विभिन्न विदेशीको प्रभावमा काठमाडौंबाट हुने फ्रि–तिब्बत गतिविधिमाथि नेपालले सम्झौता नगर्ने प्रतिबद्धताप्रति चीन आश्वस्त हुनु नेपाल–चीन सम्बन्धमा आपसी विश्वास र सामिप्यता अझ बढेको रुपमा लिन सकिन्छ । नेपालको स्थायीत्वले चिनियाँ एकता र अखण्डतालाई थप बलियो बनाउने विश्वास पैदा हुनपुग्नु राष्ट्रकै लागि गौरवको विषय हो । चीन भ्रमणको क्रममा प्रधानमन्त्री लि खस्याङले नेपालको ‘एक चीन नीति’को प्रशंसा गर्नुले दुई देशलाई भौगोलिक रुपमा मात्रै नभएर व्यवहारिक रुपमा समेत अझै नजिक पु¥याउन सफल भएको छ । चीन भ्रमणको क्रममा नेपालले लिएको नयाँ परराष्ट्र नीतिको चीनले स्वागत गर्नुले नयाँ सरकारप्रति चिनियाँ विश्वास अझै गहिरो हुन पुगेको छ । चिनियाँ प्रधानमन्त्री ली खस्याङको ‘नेपालको राष्ट्रिय स्वतन्त्रताको रक्षा, सार्वभौमिकता र संवैधानिकताको चीनले समर्थन गर्दै उच्च सम्मान व्यक्त गर्ने प्रतिबद्धता जनाउँदछ’ भन्ने भनाईले नेपाल–चीनका बीचमा सम्भवतः अविश्वासरहित वातावरण सिर्जना गर्न यो भ्रमण फलदायी भएको छ । अन्तर्राष्ट्रिय फोरममा सहकार्य गर्ने, एसिया क्षेत्रमा स्थायित्व र शान्ति कायम गर्न नेपाल–चीनबीचको आपसी सहकार्य महत्वपूर्ण हुने चिनियाँ नेतृत्वको भनाईले प्रधानमन्त्री ओलीको भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता र सम्मान दिएको कुराको पुष्टि गर्दछ ।
चीन भ्रमणको क्रममा दुई देशबीच बिहीबार हस्ताक्षर भएका १० वटा समझदारीपत्र र चारवटा ‘लेटर अफ एक्सचेन्ज’ले नेपाललाई आर्थिक समृद्धिको नयाँ उचाईमा पु¥याउनेछ । ट्रान्स–हिमालयन रेलवे निर्माणका लागि ठोस तयारी अगाडि बढाउने उद्देश्यसहित गरिएको प्रारम्भिक–समझदारीले नेपालको आर्थिक समृद्धिको प्रधानमन्त्री केपी ओलीको सपनासँग जोड्ने काम गर्नेछ भने जलस्रोत, ऊर्जा, कृषि र जडीबुटीबाट दुवै देशले लाभ लिने गरी भएका सम्झौताहरुले आगामी दिनमा नेपाल र चीनले उल्लेखित क्षेत्रबाट उल्लेख्य प्रगति हासिल गर्न सक्नेछन् । त्यस्तै नेपालमा नयाँ खोल्ने सम्झौता गरिएको चिनियाँ बैंकका शाखाहरुका कारण आर्थिक गतिविधि, औद्योगिकीकरण तथा पुँजिको समस्या समाधान भई आर्थिक समृद्धिमाथि थप योगदान पुग्नेछ । उर्जाका लागि निजी क्षेत्रका बीचमा भएका सम्झौताहरुले नेपालको उर्जा संकटको समाधान दीर्घकालिन रुपमा हुने भएको छ । केरुङ–काठमाडौं रेलमार्ग, कार्गोरेल सेवा सञ्चालनका लागि भएका सम्झौताहरुले नेपालको आर्थिक वृद्धिका लागि वातावरण तयार भएको छ । नेपालको व्यापार तथा पारवहन एउटा मात्रै छिमेकी देशमार्फत हुँदै आएकोमा अबको केही वर्षपछि नेपालले अर्को छिमेकी मुलुकबाट समेत पारवहन तथा व्यापार खुल्ला गर्न यो भ्रमणले मार्गप्रशस्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीका बीचमा आपसी सम्बन्ध स्थापित गर्न पनि यो भ्रमण फलदायी बनेको छ, जसले आगामी दिनमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (नेकपा)बीचमा पनि सहकार्यको ढोका खोलेको छ । राजनीतिक रुपमा समेत यो महत्वपूर्ण फड्को हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बेईजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको वार्तामा दुई देशका कम्युनिष्ट पार्टीका बीचमा सहकार्य गर्ने विषयमा समेत छलफल हुनुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्व अन्तर्राष्ट्रिय जगतमा अझै बढ्न पुगेको छ । 
कुटनीतिक सम्बन्धमा नयाँ अध्यायको सूत्रपात, आपसी विश्वास अभिबृद्धि, प्रविधियुक्त विकासपूर्वाधारमा सहकार्य र नेपाल–चीनबीचमा अन्तर्राष्ट्रिय फोरममा मिलेर अघि बढ्ने समझदारी हुनुले यो भ्रमण ऐतिहासिक रुपमा सफल हुन पुगेको छ । छिमेकी मुलुक विश्वस्त, निर्धक्क र मन फुकाएर सहकार्य गर्ने वातावरण सिर्जना गर्न सफल हुनु प्रधानमन्त्री ओली मात्रै नभए नेकपा (नेकपा) पार्टी र नेपाली जनताको लागि समेत उपलब्धीपूर्णछ । दुई छिमेकी मुलुकको भ्रमण सम्पन्न भएपछि प्रधानमन्त्री ओलीको ध्यान छिमेकीहरुसँग सम्झौताहरु कार्यान्वयनमा ध्यान केन्द्रीत गर्न आवश्यक छ ।

Related News