​भूराजनीतिक मैदानमा ओली

दृष्टि न्यूज

आफ्ना जायज अडान र व्यापक जनसमर्थनका बलमा घरेलु राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तित्व जसरी चुलिएको छ, त्यसरी नै भूराजनीतिक मैदानमा पनि गणनायोग्य खेलाडीका रुपमा उनी प्रस्तुत भएका छन् । स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा व्यापक जनमत पाएसँगै ओलीप्रति अन्तर्राष्ट्रिय एवं क्षेत्रीय शक्तिहरुको ध्यान पुनः नेपालकेन्द्रित भएको छ । यसअघि पनि यो तहको ध्यान ओली नै प्रधानमन्त्री हुँदा तानिएको थियो । २३ देखि २५ चैतमा सम्पन्न भारत भ्रमणले ओलीको व्यक्तित्वलाई अझ माथि उठाएको छ ।
नेपालका प्रधानमन्त्रीको यसपटकको भारत भ्रमण विगतमा झैँ केवल परम्पराको निर्वाह मात्रै रहेन । विगतका प्रधानमन्त्रीले जस्तो त्यहाँ नेपालका आन्तरिक राजनीतिक मामिला छताछुल्ल पारिएन । दुई मुलुकको संयुक्त वक्तव्यमा पनि हाम्रो राजनीतिक विषय राखिएन । भारतले पनि संविधानप्रति असन्तुष्टि, नाकाबन्दी लगायतका आफ्नो त्रुटिपूर्ण विगतलाई बिर्सेर हालै सम्पन्न स्थानीय, प्रदेश तथा संघीय तहको निर्वाचनपछिको अवस्थाबाट सम्बन्धलाई नयाँ उचाइ दिन तयार भएको सन्देश दियो । 
भारतसँगका प्रायः उच्चस्तरीय भ्रमण र भेटवार्तामा नेपाली पक्षबाट प्रशस्तै आशंका व्यक्त गरिन्थ्यो, कतै हाम्रो राष्ट्रहित र राष्ट्रिय सार्वभौमिकतालाई सौदाको विषय बनाइन्छ कि भनेर । प्रधानमन्त्री ओलीप्रति नाकाबन्दी लगत्तैको भारत भ्रमणमा लिएको अडानले त्यस्तो आशंकाको तह कम त थियो । तर नेपाली मन ढुक्क भने हुन सकेको थिएन । जब दुई मुलुकका कार्यकारीले संयुक्त पत्रकार सम्मेलन गरे र दुई देशबीच संयुक्त वक्तव्य समेत जारी भयो, त्यसपछि भने ओलीले थप स्यावासी पाएका छन् । आर्थिक र कूटनीतिक क्षेत्रका विज्ञहरुले प्रधानमन्त्री ओलीको यो भ्रमणलाई विकास र पूर्वाधार निर्माणको मिसनकै अंगका रुपमा लिएका छन् । अहिलेको हाम्रो राष्ट्रिय अभियान पनि यही नै हो । हुन पनि राष्ट्रको विदेशनीति आन्तरिक नीतिको विस्तार हो, अंश हो । तसर्थ, समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारासहित आर्थिक समृद्धि र विकासलाई मूल अभियान बनाएको ओली सरकारले विदेश भ्रमण र कूटनीतिक वार्ताहरुमा त्यसैलाई केन्द्रमा राखी सहयोग र साझेदारीका नयाँनयाँ सम्भावनालाई पर्गेल्नु स्वाभाविक र अपेक्षित छ । 
२०७१ मा भारत भ्रमणमा जाँदा केपी शर्मा ओली मुलुकै संकटपूर्ण अवस्थामा थियो । भारतीय नाकाबन्दीले नेपाललाई घुँडा टेकाउन त सकेन तर राष्ट्रिय जीवनका धेरै आयाममा नोक्सान अवश्य पारेको थियो । अरुथोक बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिन्न भन्ने यथार्थलाई समेत मनन गर्ने हो भने आफ्नो भारतसँगको सम्बन्ध सुधार नगरी हामी हाम्रो राष्ट्रिय लक्ष्य सहज रुपमा भेट्न सक्दैनौँ । यतिखेर भारत आफै राजनीतिक मुद्दालाई तामेलीमा राखेर नेपालसँग विकास र समृद्धिका मुद्दामा साझेदारी र सहकार्य गर्न अग्रसर भएको छ । तीतो विगत बिर्सनका निम्ति यो बुद्धिमत्तापूर्ण उपाय पनि हो । प्रधानमन्त्री ओलीको प्रस्तुतिमा पनि पर्याप्त सुझबुझ र सचेतता देखियो ।
यति मात्र होइन, आन्तरिक र बाह्य परिस्थिति चुनौतीपूर्ण हुँदाहुँदै ओलीले आफ्ना जायज अडान र सुझबुझपूर्ण कदमका माध्यमबाट अनुकूलतामा ढाल्दै गएको देखिन्छ । तसर्थ, पहिलो कार्यकालको भारत भ्रमण र अहिलेको भ्रमणको पृष्ठभूमिका केही तात्विक भिन्नता छन् । विगतमा नेपालका केही शक्ति दक्षिणकै आडमा ओलीको सेखी झार्ने मौकाका रुपमा उपयोग गर्न लालायित थिए । तत्कालीन संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नाकाबन्दी भन्नसमेत हिच्किचाइरहँदा कांग्रेसका हितचिन्तकलाई लाजमर्नु भएको अवस्था थियो । अर्कोतिर ओली संसदका कमजोर शक्तिहरुलाई मिलाएर सरकारको नेतृत्व गरिरहेका थिए । नाकाबन्दीको घाउ नसेलाउँदै ओली भारत भ्रमणमा जाँदा नेपाली जनमानसमा पर्याप्त शंका र भयले घर गरेको थियो । तर, ओलीले संविधान संशोधनको सम्बन्धमा यसरी अडान लिए कि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न मानेनन् र उक्त वक्तव्य नै जारी नभई स्वदेश फर्किए । ओलीले जे कुरामा सहमति जनाउन मानेका थिएनन्, पछि शेरबहादुर देउवा गएर सिंगो नेपालीको शिर निहुरिने गरी मोदीसामु उठबस गरेर फर्किए । त्यसको सजाय देउवालाई आमनिर्वाचनमा नेपाली जनताले दिइसकेका छन् ।

Related News