​अन्योलमा अर्थतन्त्र

दृष्टि न्यूज

वर्तमान अर्थमन्त्रीले गत चैत १६ गते श्वेतपत्र जारी गर्दै देशको अर्थतन्त्र टाट पल्टने स्थितिमा रहेको तथा ढुकुटी रित्तो रहेको बताएका थिए । तर हालै एक कार्यक्रममा उनले भने– ‘नेपालको इतिहासकै लगातार दुई वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल भयो, यसले हामीलाई छिटो विकास गर्ने एउटा स्पाइरल खडा गर्दैछौँ, हामी माथि जाँदैछौँ ।’
उनले लगातार दुई वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल भएकोले हामी माथि जाँदैछौँ  भनेर देशको अर्थतन्त्र माथि जाँदै गरेको संकेत गरे । ६ महिना अगाडि देशको ढुकुटी रित्तो भएको घोेषणा गरेर विगत अर्थतन्त्रको चित्रण गरेका अर्थमन्त्रीले ६ महिनापछि कसरी देशको अर्थतन्त्र माथि गएको चित्रण गरे भन्ने प्रश्न उठेको छ । त्यो बेला पूरै नकारात्मक मात्रै देख्ने अर्थमन्त्रीले अहिले सकारात्मक मात्रै देख्न थाल्नुले उनको एकलकाँटे दृष्टिकोण उजागर भएको छ ।
अर्थमन्त्रीले पेश गरेको बजेटबाट जनतामा तथा पार्टीपंक्तिमा पनि निराशा छाएको तथ्य हो । उनका विषयमा पार्टी तथा सरकारभित्र र बाहिरबाट आलोचना तीव्र भएपछि अहिले अर्थतन्त्र माथि जाँदैछ भनी आफ्नो ६ महिना पुरानो विश्लेषण उल्टाएका छन् । यसरी प्रतिरक्षा गर्दा उनको विज्ञतामाथि झन् प्रश्न उठेको छ । ६ महिनामा आर्थिक परिसूचकहरुमा खासै भिन्नता नआउँदै कसरी खोक्रो अर्थतन्त्र अहिले राम्रो भयो भन्ने प्रश्नको जवाफ उनीसँग छैन ।
यस बीचमा आयकर ३६ प्रतिशतसम्म पु¥याएकाले लगानीको वातावरण झन् बिग्रन थालेको छ र पूँजी पलायन शुरु भएको छ । व्यापार घाटा बढेको नै छ । चालु खाता घाटामै छ । पुँजीगत खर्च आर्थिक वर्षको अन्तिम महिनामा ४० प्रतिशत हुनुले परम्परागत शैली कायमै देखिन्छ । तीन तहका करहरुले अलमल बढाएकै छ । उनले दाबी गरेजस्तै औद्योगिक कच्चा पदार्थ र मेशिन आयात भएकोले व्यापार घाटा बढेको होइन । उपभोगका सामानहरुको आयातले नै व्यापार घाटा बढेकोले व्यापार घाटा पनि राम्रो भन्ने उनको तर्क तथ्यपरक देखिन्न ।
‘सरकार लगानी ल्याउन दौडेर पार्टनर खोज्दै हिँड्ने पनि होइन’ भन्ने उनको भनाइ पनि सही होइन । अहिलेको समयमा सबै देशका अर्थमन्त्रीले लगानी ल्याउनको लागि ठूलो परिश्रम गरेका हुन्छन् । लगानी ल्याउन चीन भारतलगायत देशका राष्ट्रपति र प्रधानमन्त्री स्वयं खटेको तथ्य छ ।
‘कार्यान्वनको चरण सम्म पर्खिनु प¥यो’ भन्ने अर्थमन्त्रीको आग्रहलाई अन्यथा लिन नमिल्ला । तर, बिहानीले दिनको संकेत गर्छ भनेझै बजेटले वर्ष दिनको संकेत गरेको छ । बजेटले यथास्थितिवादकै पक्षपोषण गरेको छ । देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने ढंगले बजेट नआएको यथार्थ हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा अगाडि सारेको बेला कम्तिमा पनि बजेटले जनतालाई त्यसतर्फ उन्मुख हुन अभिप्रेरित गराउनुपर्ने हो । तर, बजेटले जनतालाई आशावादी बनाउन सकेन । अहिले नै प्रतिफल नखोज्न अर्थमन्त्रीले आग्रह गरे पनि भविष्यमा यो बजेटले राम्रो परिणाम दिन्छ भनेर कसरी आशा गर्ने ?
अहिले समस्या समाधानको सर्वोत्तम उपाय भनेको बजेटमा भएका कमजोरी सच्याएर पूरक बजेट ल्याउनु हो । एक त्यस्तो पूरक बजेट जसले आर्थिक क्रान्तिको सुरुवात गर्न सकोस्, जसले कांग्रेसी अर्थमन्त्री र कम्युनिष्ट अर्थमन्त्रीको बीचमा फरक देखाओस् र जसले जनतामा उत्साहको जागरण गराओस् ।

Related News