​जबजलाई घोडा नबनाऔं

दृष्टि न्यूज

जननेता मदन भण्डारीको ६७ औँ जन्म जयन्ती मनाइरहँदा उनीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादको औचित्य र सान्दर्भिकता झन् बलियो बनेको छ । संसारभरि कम्युनिस्ट आन्दोलन कमजोर र संकटग्रस्त बनिरहेका बेला नेपालमा भने २०४६ सालको परिवर्तनपश्चात् मदन भण्डारीले दूरदृष्टिका साथ नयाँ सिद्धान्त प्रतिपादित गरी तत्कालीन नेकपा माले (पछि एमाले)लाई मूलधारको राजनीतिमा स्थापित गरेका थिए । सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्ने कम्युनिष्ट आन्दोलनको शास्त्रीय सूत्रलाई विनिर्माण गरी उनले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्ने, सडक र संसद र सरकार हुँदै राज्यका नीति तथा संरचनामा प्रगतिशील मूल्यमा आधारित रहेर हस्तक्षेप गर्ने मान्यता अघि सारेका थिए । यही मान्यताको जगमा एमाले मुलुकको एक प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भयो ।
देशव्यापी संगठन, धेरैपटक सत्ताको नेतृत्वकर्ता एवं हिस्सेदार, हरेक राजनीतिक परिवर्तनको संवाहक बनेको यो संगठन नै आज मुलुकको सबैभन्दा ठूला संसदीय शक्ति बनेको छ । १० वर्ष सशस्त्र संघर्षमा होमिएको माओवादी समेत एमालेले अढाई दशकअघि नै लिएको राजनीतिक मार्ग आत्मसात् गर्न बाध्य मात्र भएन, अन्ततः एमालेसँगै एकता गरी नेपाल कम्युनिस्ट पार्टी निर्माण गर्न पुगेको छ । यसले मदन भण्डारीको दूरदर्शितालाई अझै पुनर्पुष्टि गरेको छ । मदन भण्डारीको स्मृति दिवसकै दिन गत जेठ ३ गते पार्टी एकता घोषणा गर्नु पनि उनको सिद्धान्त र मान्यता अद्यापि जीवन्त रहेकोप्रतिको स्वीकारोक्तिसमेत हो ।
यति हुँदाहुँदै पनि मदन भण्डारीको दूरदर्शिता र लोकप्रियतालाई भजाउने तर उनका सिद्धान्त एवं मूल्य मान्यतालाई नजरअन्दाज गर्ने प्रवृत्ति राजनीतिक नेतृत्वमा मौलाएको छ । पद प्राप्तिका निम्ति जस्तोसुकै सम्झौता गर्ने, राष्ट्रिय आवश्यकता र जनभावनाको उपेक्षा गरी व्यक्तिगत स्वार्थ र मोलमोलाइका निम्ति सिद्धान्तमा सम्झौता गर्नु जबजअनुकूल आचरण मान्न सकिँदैन । पछिल्ला दिनमा पार्टी एकीकरणपश्चात् नेकपा एवं सत्तारुढ दलको नेतृत्वमा सिद्धान्त र व्यवहारबीच गम्भीर विरोधाभास देखिन्छ । संविधानको कार्यान्वयन, राष्ट्रिय स्वाभिमान, शान्ति, समृद्धि र स्थायित्वका एजेन्डामा जनताले दिएको अभिमतको विरुद्धमा गएर दुई तिहाई संसदीय शक्तिको दुरुपयोग हुने खतरा बढेको छ । संविधान संशोधनको विपक्षमा अडान लिएका कारण चुलिएको आफ्नै व्यक्तित्वको समेत ख्याल नगरी यतिखेर नेकपा नेतृत्व संविधान संशोधनका एजेन्डामा लिखित तमसुक गर्न तयार भएको देखिन्छ । यसैगरी मिलिजुली सरकारका नाममा विगतमा भएका विकृति अन्त्यको अपेक्षा सहित जनताले एउटै दललाई पर्याप्त बहुमत दिइसक्दा समेत फेरि पनि जनताबाट तिरष्कृत भएका पात्र र प्रवृत्तिलाई सरकारमा भित्र्याउने, मन्त्रालय टुक्र्याउने र मन्त्रिपरिषदको आकार अस्वाभाविक रुपमा बढाउनेसम्मका तयारी भएका छन् । यसका निम्ति संविधान संशोधन गर्न समेत तयार हुनु निकै खेदजनक र आपत्तिजनक विषय हो । 
एकाध नेताका व्यक्तिगत स्वार्थको संवद्र्धन गर्ने औजार जबज बन्नु हुँदैन । जबजको वास्तविक मर्म र मान्यताबाट पथविचलित गराउन नेतृत्व तह नै अग्रसर हुने आत्मघाती प्रवृत्तिले मुलुकको त अवश्य पनि हित गर्ने छैन, त्यसले राष्ट्रिय राजनीति थप दुर्गन्धित हुनेछ । राष्ट्रिय हित र प्राथमिकता तामेलीमा पर्नेछन् । राजनीतिक स्थायित्व र आर्थिक विकास एवं समृद्धिको जनअपेक्षामा तुषारापात हुनेछ । बृहत समुदायको हितलाई तिलाञ्जलि दिँदै सीमित व्यक्तिको सौदामा गएर जबजलाई बिसाउने हो भने त्यो जननेता मदन भण्डारीको आत्मा र समग्र कम्युनिस्ट आन्दोलनप्रति नै गम्भीर धोका हुनेछ । नेतृत्वले पनि के बुझ्नुपर्छ भने सिद्धान्तलाई कुल्चेर व्यक्तिगत महत्वाकांक्षाको घोडा दौडाउन खोज्दा हुने भनेको दुर्घटना मात्र हो । कुनै पनि सार्थक गन्तव्यमा पुग्न सकिने छैन । आजको दिनमा आमजनतामा चुलिएको अपेक्षा र जनआकांक्षामाथि घात गर्ने हो भने त्यसको प्रतिक्रियामा आउने निराशा र आक्रोश वर्तमान सरकार र पार्टी नेतृत्वका निम्ति अझ महँगो सावित हुनेछ । चेतना भया । 

Related News