​जनतालाई प्रधानमन्त्रीको धम्की

कम्युनिस्ट शासन आएपछि रुन पाइँदैन । कम्युनिस्टलाई जिताए चुनावै हुँदैन । चुनावपछि फेरि प्रधानमन्त्री मै हुन्छु । बामहरुले जिते विदेशी सहयोग आउँदैन । यी र यस्तै प्रकारका धम्कीपूर्ण अभिव्यक्ति मुलुकका प्रधानमन्त्रीबाट आइरहेका छन्, केही समययता । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति पनि हुन् । त्यो जिम्मेवार ओहोदामा रहेका नेता अहिले चुनावी अभियानका दौरान केही विचलनपूर्ण लवजका साथ उपस्थित भएका छन् । उनका अभिव्यक्ति सुन्ने कुनै नेपालीले मुलुकप्रति आशावादी हुने ठाउँ छैन । उनका अनुसार, मुलुकको संविधान संकटमा छ । व्यवस्था धर्मर छ । आउँदा दिन सुखद छैनन् । बाम शक्तिहरु यो मुलुकका सबैभन्दा ठूला शत्रु हुन् र ती शत्रुले मुलुकलाई तत्कालै आक्रमण गर्दैछन् भन्ने शैलीमा उनी प्रस्तुत भइरहेका छन् । र, सुदूरपश्चिमका जनतासामु उनी भोलि मै प्रधानमन्त्री हुन्छ, भोट नदिए देखा जायगा भन्ने भावमा उत्रिएका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर, मुलुकको एक पुरानो र प्रमुख दलको नेतृत्वमा रहेर २१ औँ शताब्दीको गणतन्त्र नेपालका सार्वभौम नागरिकलाई धम्कीको भाषा प्रयोग गरिरहेका छन् । मुलुकको प्रधानमन्त्रीले नै यो हदसम्मको त्रासको वातावरण सिर्जना गर्छन् भने आमनागरिकले नपत्याउने कुरै भएन ।
२०४८ सालको निर्वाचनको मुखैमा कांग्रेसले यस्तै हौवा फिँजाएको थियो । कम्युनिस्टहरु सरकारमा गएपछि ६० वर्षमाथिकालाई गोली हान्छन् । धर्म संस्कृति संकटमा पर्छ । जनताको स्वतन्त्रता संकटमा पर्छ । यस्तैयस्तै प्रचार गरिएको थियो । कतिसम्म भने कांग्रेसले त्यतिखेर रुढिग्रस्त नेपाली समाजमा व्याप्त जातीयताको प्रवद्र्धन गर्दै दलितहरु गैरदलितको घरमा जबरजस्ती प्रवेश गर्छन् र दलितको हातको सबैले पानी खानुपर्छ भन्ने खालका असामाजिक प्रकृतिका हौवा फिँजाएर समेत जनमत प्रभावित पार्ने काम गरेको थियो । ती अत्यन्त गैरजिम्मेवार खालका चुनावी हतियार थिए । पछि एमालेको ९ महिने सरकार आएपछि कांग्रेसले गोली ठोक्छ भनिएको ज्येष्ठ नागरिक समुदायले वृद्धभत्ता पायो र मुलुकमै पहिलोपल्ट सामाजिक सुरक्षाको अवधारणा सुरु ग¥यो । त्यसैगरी गरीब, दलित, भूमिहीनका पक्षमा धेरै एजेन्डा एमालेले अघि सा¥यो । मुलुकभरका धेरै भूमिहीन, सुकुम्वासीहरुले जग्गाधनी पूर्जा प्राप्त गरे । दलितहरुले सम्मानपूर्ण जीवन बाँच्न पाउनुपर्छ भन्ने अवधारणा स्थापित गरियो ।
अहिले प्रधानमन्त्री र उनका कार्यकर्ताहरु फेरि भ्रम र त्रासको खेती गरिरहेका छन् । आमनागरिकलाई आश्वस्त पार्नुपर्ने दायित्व भएका प्रधानमन्त्रीले नै धम्काउने र घुक्र्याउने हो भने मतदाताले कसरी ढुक्क हुने ? कसरी उनीहरुले स्वतन्त्र विवेक पु¥याउने ? के चुनावी सरकारको नेतृत्व भनेको यस्तै हुन्छ ? राज्यसत्ता र ओहोदाको प्रयोग गरेर चुनावको मुखमा आमनागरिकलाई धम्क्याउनु नै उनको धर्म हो ?
०४६ सालको जनआन्दोलनताका पञ्चायत प्रवेश गर्न लागेपछि तत्कालीन कांग्रेस नेतृत्वले बेलायत पठाए पनि ०४८ सालयताको राजनीतिक प्रक्रिया र प्रवाहमा देउवा अन्तर्घुलित भएर आएका छन् । हरेक राजनीतिक घटनाक्रमका साक्षी र कर्ता दुवै हैसियतमा देउवा उपस्थित छन् । विगतमा मुलुकले जुन दुर्भाग्यपूर्ण अवस्थाको सामना गर्नुप¥यो, त्यसका प्रमुख कारक तत्व गिरिजाप्रसाद कोइराला हुन् र त्यसपछिका यिनै देउवा हुन् भन्नेमा आनागरिक छर्लंग छन् । २०४७ सालको संविधानविरुद्ध प्रहार गर्न सशस्त्रकालको माओवादी जति जिम्मेवार थियो, प्रणालीभित्रै बसेर प्रणालीमाथि प्रहार गर्नमा कांग्रेसको भूमिका कम थिएन । 
नेपालका बाम शक्तिहरु हरेक जनपक्षीय आन्दोलनमा सरिक भएका छन् । लोकतन्त्रको आन्दोलनका हरेक चरणमा अग्रपंक्तिमा रहेर बलिदानीपूर्ण भूमिका खेलेका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा बरु कांग्रेसको भूमिका विचलनपूर्ण छ, बाम शक्तिहरु अविचलित रुपमा लोकतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिएका छन् । यो कुरा गणतन्त्र नेपालका हरेक सार्वभौम नागरिकले मूल्यांकन गरेको हुनुपर्छ । तैपनि, प्रधानमन्त्री किन धम्क्याउँदै छन् जनतालाई ? आफ्ना राजनीतिक एजेण्डा सकिए भन्दैमा आमनागरिकलाई धम्काउने र त्रासको भुमरी सिर्जना गर्ने काम मुलुकको प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तित्वबाट हुनुपर्ने होइन । 

Related News