​बजेट भाषणले प्राज्ञ क्षेत्रमा तरंग, ‘चोर’ पनि प्राज्ञ हुने देश नेपाल

प्रा.डा.बद्रीविशाल पोखरेल

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले हालै संघ प्रदेशको बजेटमा तीनवटा प्रज्ञा प्रतिष्ठानलाई एकीकृत रुपमा परिचालन गर्ने प्रस्ताव गरेको छ । एकेडेमीलाई अझ प्रभावकारी रुपमा परिचालन गर्ने उद्देश्य राखेर दुई तिहाइ नजिकको यस सरकारले अनुकूल परिस्थितिलाई समयसापेक्ष तथा गुणात्मक रुपान्तरण गर्ने जगका रुपमा प्रज्ञा प्रतिष्ठान परिचालन गर्न चाहेको अनुभूति हुन्छ । यस कुराले एकेडेमी सरोकार समाजको उपरि तहमा नौ रेक्टरसम्मकोे भूकम्प गएको छापा पत्रिकामा देखिएको छ । साहित्य, संगीत–नाट्य र ललित कला प्रतिष्ठानका कुलपतिहरु र सांस्कृतिक संस्थानका महाप्रबन्धकले यस कुरामा खुल्ला रुपमा तीव्र असहमति जाहेर गरिसकेका छन् । असहमति कति यथार्थ संगत छ भन्ने कुरा बहसमा ल्याउन जरुरी देखिन्छ । 
विकसित देशमा प्रज्ञा प्रतिष्ठानहरु देखेर र सुनेर अहिले हामी धुरी चढिहाल्नु उचित हुँदैन । साँच्चो कविता र कला प्रतिवद्ध स्रष्टा उहिलेदेखि अहिले र आज पर्यन्त सिर्जनामा तल्लीन भएर लागि रहेको छ । भविष्यका लागि लाग्ने लेखक भात मात्र हेरेर कलम समाइ टोपल्दैन । उ त कारमा भन्दा किताबमा गर्व गर्छ । उसले ज्ञान र सिर्जना धनलाई सर्वोपरी ठान्छ । पद,पैसा र प्रतिष्ठाका खातिर मरिहत्ते गर्ने तुच्छ जिन्दगीलाई यस्तो सर्जकले घृणा गर्छ । पोखरा निवासी प्रा.डा. पशुपतिनाथ तिमल्सेना अहिलेका कुन कुलपतिले कला साहित्य सौन्दर्यशास्त्रीय उच्च ज्ञान, सिर्जनात्मक, समीक्षात्मक तथा सांगठनिक लगायत क्षमता राख्छन् ? कसैसित यसको जवाफ छ ? लिलिपुट लेखक हिमशिखर हुँ भन्दा स्रष्टा समाजको शीर निहुरिन्छ । प्रज्ञामा नियुक्ति भएर पनि नियुक्त हुन नसकेका सशक्त सर्जक अनि पुरस्कृत भएर पनि र पुरस्कृत नभएका वा रातारात तिरस्कृत भएका अग्रज सर्जक यसको जिउँदो प्रमाण हो । पुरस्कारको बधाइ एउटाले खान्छ, पुरस्कार अर्कैले थाप्ने गरेको जस्ता चरम विकृति प्रज्ञा प्रतिष्ठानका हालका कुलपति स्वयंले विगतदेखि गरिरहेका छन् । यस्तो रोग ०४६ पछि बग्रेल्ती देखिन थालेको छ । 
विशेषतः २०४६ साल अघि र पछि नियुक्त कुलपति र उपकुुलपति लगायतको नियुक्तिलाई तुलना गर्दा उनीहरुको प्राज्ञिक औकात र योग्यता जग जाहेर छ । केही अपवाद छाडेर ०४६ पछि नियुक्त कुलपति प्राज्ञिक कम, कार्यकर्ता बढी देखियो र भोगियो । एउटा प्राज्ञिक व्यक्तित्व अमुक पार्टी निकट हुनु आठौँ आश्चर्य भने होइन । किनभने जीवन दर्शन र राजनैतिक सिद्धान्तका प्रणेता र प्रतिपादक प्राज्ञिक पुर्खा नै हुन् । त्यसैले राजनीतिलाई कुनै बौद्धिक प्राज्ञिकले अछुत विषय मान्नु सिल्ली कुरा मात्र हो । तर एउटा स्रष्टा,विज्ञ र विद्वान् व्यक्ति भने शीरदेखि तिरसम्म पार्टी कार्यकर्ताको पहिचान मात्रै रमाउनु हुन्न । जुन अहिले पूर्व एमाले पार्टीमा बढी देखिन्छ । ओलीले मुखको एमाले भन्दा कामको किमती एमाले हुनु सबैभन्दा जाती र माथि हो भनेका हुन् । कम्तीमा घाँटीभन्दा माथि विषयगत,विधागत र विज्ञतागत अग्लो र सग्लो पहिचान एउटा अग्रज स्रष्टा र बौद्धिकमा अपरिहार्य हुन्छ र तदनुसारको सिर्जना मैत्री,स्रष्टामैत्री, जनमैत्री र सदाचार मैत्री पनि अपरिहार्य हुन्छ । अहिले त यस्तो प्राज्ञ खोज्न दिउँसै बत्ती बाल्नु पर्ने अवस्था छ । अहिले त प्रज्ञा परिषद्को सदस्य विषयगत र विधागत खोज अनुसन्धान र पठन संस्कृतिमा प्रायः पटक्क समय नदिने पृष्ठभूमिको निकम्मा व्यक्ति नियुक्त हुन्छ । र त्यही स्वभाव निरन्तर कायम रहे पछि प्राज्ञ प्रायः अज्ञ हुनु अपरिहार्य हुनेछ । अहिलेका प्राज्ञ एउटा नगर स्तरको साहित्यिक समितिको अध्यक्षझैँ जिल्ला जिल्लामा कवि गोष्ठी,नृत्य,संगीत र नाट्यका सतही भेला र गोष्ठीका लागि गोष्ठी गरेर समय खेर फाल्छ । यसो गर्दा आर्थिक, भौतिक, चिया र पिया पानसहित शुभलाभ मनग्गे हुँदोरहेछ । यस्ता कार्यक्रम लिएर काठमाडौँबाट आफू आउँदा अधिकांश उतैका कलाकार ल्याउने र प्रदेशका कलाकारलाई सकेसम्म कुनै मौका नदिने अनि तिनले घुटुक्क थुक निल्दै निराश र हतास भएर अछूतझैँ परबाट कार्यक्रम हेरेर बस्नु पर्ने दुःखद् अवस्था बारे यो लेखक जानकार छ । भान्टा उत्पादन गर्न नसिकाउने किताबको भान्टा देखाएर बाल र युवा कवि कलाकारहरुको नाम लिस्ट भजाएर हजम नहुने गरी हसुर्ने स्थिति पनि देखिन्छ । प्रज्ञा प्रतिष्ठानहरु प्राज्ञिक, बौद्धिक र सिर्जनात्मक केन्द्र हुन् । तर प्रज्ञा प्रतिष्ठानहरु प्रायः त्यस विपरीत देखिन्छन् । मुलुकको वर्तमान माग अनुसार के कस्तो सिर्जना र सांस्कृतिक पुनर्संरचना गर्ने तथा प्राथमिकता दिने भन्ने विषयमा प्रायः प्राज्ञ अन्यौलमा छन् । अहिले प्रज्ञा प्रतिष्ठानको मार्ग चित्र केहो र के हुनसक्छ भनेर सोध्ने हो भने यसको जवाफ तिनसित नै छैन । तर तिनैले आगामी नियुक्तिका लागि बालुवाटार चाहार्न थालेको थाहा पाइएको छ । उपकुलपति विष्णुविभु घिमिरे चाहिँ स्रष्टा मैत्री भावका हुने तर तपाईंहरु चाहिँ सामन्तवादी चिन्तन र चरित्रग्रस्त हुनु पर्ने भनी एकान्तमा यस लेखकले प्रश्न गर्दा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवको अनुहार निलोकालो भएको थियो । 
तिनमा कला, साहित्य र सांस्कृतिक सौन्दर्य शास्त्रीय गहन ज्ञानको अभाव देखिन्छ । यस्ता व्यक्तित्वले न प्रज्ञाको,न प्राज्ञिकको न नियुक्त गर्ने पार्टीको र न देश र जनताको कसैको पनि नाक राख्न सक्तैनन् । एक जना हाल बहाल रहेका एक प्राज्ञले दुई दुई पटक सम्बन्धित मन्त्रीलाई रिझाएर विधि र प्रक्रिया सम्मत सिफारिस गरिएका वरिष्ठ नाट्य अभिनेता देशभक्त खनाल र आदरणीय वरिष्ठ स्रष्टा भिक्टर प्रधान,काठमाडौँको नाममा टिपेक्स लगाएर प्राज्ञ भए । जुन देशमा त्रिवि कुलपति र प्राज्ञ नै चोर कर्ममा गर्व गर्छन् र अनि त्यस्तालाई नेताले काखी च्याप्छन् भने देश कहिल्यै अघि बढ्दैन । प्रधानमन्त्री ओलीले आजीवन इमान्दार हुनु चाहिँ ठूलो कुरा हो भनेझैँ यस क्षेत्रमा ठूलै शल्यक्रिया गर्न जरुरी देखिन्छ । 
  यही जेठ २६ गते इटहरी उपमहानगर पालिकाका प्रमुख द्वारिकलाल चौधरीले कवि कलाकारको गुनासो सुनेर पाँच दिवसीय इटहरी सांस्कृतिक महोत्सवको आयोजना सम्पन्न भयो । स्रष्टा समन्वय समिति,इटहरीको कार्यक्रमिक संयोजनमा जेठ २२ र २३ गते स्थानीय युवा नृत्य र संगीतकारहरुलाई कार्यशाला, २४ गते विचारगोष्ठी,२५ गते नाट्य अभिनय विमर्श,र यस बीचमा प्रदेश स्तरीय प्रतियोगितात्मक कविगोष्ठी समेत सम्पन्न गरेको छ । यसमा प्रा.डा.अभि सुवेदी,डा.भक्त गुरुङ,सुप्रसिद्ध कलाकारहरु गोरे गुरुङ,इमन बिक्रम शाह,सोनल रघुवंशी,जसराज किराँती लगायत अग्रज स्रष्टाहरुको न्यानो आतिथ्य रहेको यस खालको कार्यक्रम गर्न जागिरे मनोवृत्तिको एकेडेमीले १५,२० हजार रकम खर्च गथ्र्यो होला तर इटहरीका कवि कलाकारहरुले साढे तीन लाखमा नबढाई सम्पन्न गरे । दृढ इच्छाशक्ति र समर्पण भावका साथ लागि पर्नेका अगाडि द्रव्य प्राथमिक र सर्वोपरि हुन सक्तैन । माओले पढ्नु भनेको देश सेवा हो भनेझैँ प्रज्ञा प्रतिष्ठानका अमुक पदमा नियुक्त हुनु भनेको देश र जनताको सेवाका खातिर प्राज्ञिक कर्म हो भन्ने भावना कति प्राज्ञिकमा होला ? सेवा निवृत्त भए पनि दोहारो सुविधा लिने प्राज्ञको नैतिक धरातल कति अग्लो होला ? साहित्यिक सांस्कृतिक कार्यपत्र,कार्यक्रम,भेला र गोष्ठीको आफ्नू प्रकारको मौलिकता हुन्छ तर प्रायः नेकपा पार्टी निकट आफूलाई प्रगतिशील भन्नेहरु साहित्यिक कार्यक्रमलाई पार्टीको भेला,प्रशिक्षण र समारोह सित ठ्याम्मै मिल्ने गरी गर्छन् । हेर्ने र सुन्नेलाई यो साहित्यिक होइन पार्टीकै कार्यक्रमझैं लाग्छ । तर अहिलेसम्म कला साहित्यिक तथा सांस्कृतिक लोली र बोली, लेखन र वाचन गर्ने प्राज्ञ यस लेखकले एकाध मात्र भेटेको छ । जनसांस्कृतिक महासङ्घ लगायत सांस्कृतिक नीति,विधि र पद्धति निर्माण गर्ने संस्थाका महासचिव लगायत प्रमुख पदाधिकारी गैर कवि र कलाकार रहेसम्म यस क्षेत्रमा माखो पनि मर्ने छैन । एक प्रसंगमा यही लेखकले महामना मोदनाथ प्रश्रितका सामु एक जन साहित्यिक मञ्चका केन्द्रका तत्कालीन अध्यक्ष प्रा.डा. जीवेन्द्र गिरीलाई संकेत गर्दै हामीले माक्र्सवाद नभनी माक्र्सवाद र जबज नभनी जबज भन्ने हो भनेको थियो । यस कुरामा प्रश्रितले सिधै समर्थन गर्नु भयो तर त्यहीँ प्रश्रितको सकारात्मक जवाफ भुइमा खस्न नपनाउँदै गिरीले दृढ असहमति जाहेर गरेर अति सामान्य कला कुटनीति विपरीत प्रश्रितको समेत अभद्रता प्रदर्शन गरेको देख्दा यो लेखक स्तब्ध बनेको थियो । आफूलाई प्रगतिशील लेखक संघको पदाधिकारी भन्ने संस्थाका अधिकांश व्यक्तिमा नै स्रष्टा मैत्रीको नितान्त अभाव देखिएको छ । गिरी बन्धुलाई यस लेखकले अझ बुझ्ने गरी कार्यक्रममा पट्यार लाग्दो रुपमा प्रगतिशील र प्रगतिवादी शब्द मात्र प्रयोग नगरी यसका पर्यायवाची र समानार्थी अनेक शब्दहरु जस्तै स्रक्रिय यथार्थको प्रतिविम्वन,सक्रिय यथार्थ,जीवन्त यथार्थ, अग्रगामी लेखन आदि प्रयोग गर्नुपर्छ भने पनि व्यवहार उस्त देखिन्छ । भौगोलिक सामन्तवाद ग्रसित भावनाका कारण काठमाडौँको चरोमुसो ठूलो पल्टिने र सर्जक समाजले तिनकै अतिस्वस्ती र सलाम गर्ने विकृत स्थिति प्रदेशको स्रष्टा समाज अझै गाँजिएको छ । त्यसैले सामान्यतया संघीय प्रज्ञा प्रतिष्ठान टाउको हो भने यो गुदीदार र गिदीदार हुनुपर्छ । यसको संरचना सानो,एकीकृत र नीति निर्माण गर्ने खालको हुनुपर्छ । कविता,कथा,नाटक,समालोचना आदि अनेक विभाग बनाएर धेरैलाई भर्ती गर्ने परिपार्टी अन्त्य गर्नुपर्छ । यसका लागि साहित्य र समालोचना विभाग मात्र राखेर क्षमतावान् व्यक्तिलाई यसको जिम्मा दिनु पर्छ । मितव्ययी रुपमा दूरगामी सिर्जनात्मक कामका लागि अहिले जस्तो भद्रगोल तरिका माथि अङ्कुश लगाउनैपर्छ । प्रज्ञा र प्राज्ञिक सिर्जनाको फराकिला जग भनेका अब प्रदेश,महानगर,नगरहरु हुन् तिनले बहुआयामिक सिर्जनात्मक काम गर्छन् । संघको एकेडेमीले नीति,विधि र कामको प्राथमिता निर्धारण र अनुगमन गर्छ त्यसैले यो मस्तिष्क हो अरु यसका अवयवहरु ह्ुन् । अमुक विषयका औपचारिक डिग्रीधारी सर्जकलाई आफू भन्दा विज्ञ अरु को होलान् भन्ने लाग्न सक्छ तर माक्र्स,लेनिन र माओ लगायत मनीषीहरुका साहित्यिक उक्ति,लिखित वा मौखिक अभिव्यक्तिहरु आज मात्र होइन भोलिका दिनमा पनि विषय विज्ञ व्यक्तित्वलाई अध्ययन,शिक्षण र अनुसन्धानका विशिष्ट सामग्री बन्नेछन् । त्यसैले कला,साहित्य र संस्कृतिक मूल्य मान्यता र यसको गुणात्मक पक्षका बारेमा विशद् जनाकार प्रधानमन्त्री ओली प्रज्ञा प्रतिष्ठानहरुलाई एकीकृत गर्दै अझ सबल,सिर्जनात्मक, सशक्त तथा परिणममुखी बनाउने विषय मात्र लहडको हुँदै होइन तर यस विषयमा गुणात्मक खालको विषयगत विज्ञ विमर्श धेरै जाती हुन्थ्यो । यसले यस सम्बन्धी धारणा बुझ्न र बुझाउन अरु सरल र सहज हुन्थ्यो भन्ने चाहिँ यस लेखकको धारणा रहेको छ । 

Related News