​राष्ट्रियसभा चुनावको तयारीमा जुट्यो वाम गठबन्धन

दृष्टि न्यूज

काठमाडौं, २७ पुस। 
एमाले र माओावदी केन्द्र राष्ट्रियसभाको चुनावमा जुटेका छन्। दुवै पार्टीले साझा उम्मेदवार उठाएर चुनाव लड्दैछन्। 
वाम गठबन्धनको पार्टी एकता संयोजन समिति बैठकले मंगलबार प्रदेश सरकार र राष्ट्रिय सभा गठनका लागि संयुक्त कार्यदल गठन गरेको  थियो।  कार्यदलले राष्ट्रयसभा निर्वाचनमा संयुक्त उम्मेदवारको विषयमा गृहकार्य सुरु गरेको छ।   

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल गठन गरेको  थियो। 
कार्यदलमा एमाले र माओवादी केन्द्रबाट ३–३ जना सदस्य छन्। 

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा वादल, वर्षमान पुन र मातृका यादव छन्। 
प्रतिनिधिसभाको चुनावमा जस्तै राष्ट्रिय सभा निर्वाचनमा पनि दुवै पार्टी मिलेर जाने र सबै प्रदेशमा मिलेर सरकार बनाउने उनीहरुको तयारी छ। 
सरकारले माघ २४ गते राष्ट्रियसभा निर्वाचन गर्दैछ। जसका लागि उसले बुधबार निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार दुवै पार्टीेले चुनावमा विवादरहित रुपमा उम्मेदवार उठाउन लागेका हुन्। 

Related News