​एमाले नेता, एमाले नै हुन् र ?

प्रा.डा. बद्रीविशाल पोखरेल । नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका कतिपय उपल्ला तहका नेताहरु एमाले नीति, सिद्धान्त र संगठनविपरीत सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । केही दिनअघि एमाले नेता प्रदीप नेपालले यस्तै अभिव्यक्ति दिएका थिए । यही मंसिर ४ गते एमाले नेता राधाकृष्ण मैनालीले सगरमाथा टेलिभिजनमा अन्तर्वार्ताका क्रममा बोलेको सुन्दा मैनाली नेता एमाले हुन् भन्नेमा गम्भीर आशंका उत्पन्न हुन गयो । यी एमाले नेतासित सम्बन्धित विषयलाई बेलीबिस्तार गर्नुभन्दा पहिले अहिले हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले उम्मेद्वारीका लागि सिफारिस गरेन वा टिकट दिएन भनेर रुवाबासी गर्ने एमाले केन्द्रीय तथा पोलिटब्युरो सदस्य तहका एकाध नेताका विषयमा चर्चा गरौँ । पार्टी केन्द्रीय सदस्य तथा बुद्धिजीवी इन्चार्ज टंक कार्कीले २०७४ कार्तिक २१ गते अन्नपूर्ण दैनिक पत्रिकामा प्रकाशित लेखमा अद्वन्द्ववादी निक्कै रापिलो रोइलो गरेका छन् । एक जुगमा एकपल्ट र एक दिन आएको वाम तालमेल र भावी एकताको महत्वलाई कार्कीले चटक्कै बिर्सिएछन् ।  नेपालको राजनीतिमा स्थिरता र आर्थिक समृद्धिसम्बन्धी सबालको अत्यन्त दूरगामी चेत र चिन्तनसहितको वाम तालमेल र भावी एकताको महत्वभन्दा आफूले टिकट नपाएको विषयलाई कार्कीले शीर्ष स्थानमा राखेर जबजको अन्तर्य नबुझ्नेको एमाले पार्टीमा हालीमुहाली बढ्दै गएको फतुर आरोप लगाएका छन् ।
एमाले पार्टीका कैयौँ सकारात्मक र दूरगामी  सिद्धान्त र कार्यक्रम पटक्क नदेखी नेमकिपाको स्तुतिगान  गर्ने कार्की आफैँले जुन बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मा लिएका छन् त्यसमा उनको राप, ताप र प्रभाव निख्लाम देखिन्छ । संविधान निर्माण र पारित गरी यसलाई लागू गर्ने सबालसित सम्बन्धित भारत प्रायोजित नेपाल नाकाबन्दीजस्तो अत्यन्त अमानवीय गतिविधिको संवेदनशील घडीमा परिषद्का राष्ट्रिय स्तरका गतिविधिहरु शून्य जस्तै थिए ।  कार्की इन्चार्जको परिषद् मुलुकका संगीन सबालका बेला पार्टीगत निकृष्ट गुटगत कोठे बैठक र क्रियाकलापमा मात्र रमाएको देखिन्थ्यो  । खाने बेलामा मात्र आँ गर्ने प्रवृत्ति एमालेका केही नेताहरुको क्रियाकलाप निन्दनीय छ । तर जसरी पनि सबै सुविधा आर्फैँमात्र पाउनु पर्छ, नपाउँदा कार्की  भाउन्न भएको लेखबाट अवगत भयो ।
एमालेकै अर्का नेता डा. विजय पौडेलले पनि प्रतिनिधि र प्रदेशसभाका निर्वाचनसित सम्बन्धित एक लेख २०७४ कात्र्तिक २२ गते अन्नपूर्ण दैनिकमा प्रकाशित गरे । पौडेलको यस लेखमा पूरै अद्वन्द्ववादी सार प्रस्तुत गरिएको देखिन्छ । आफूले सभासद्को टिकट नपाउँदा टिकट पाउने जत्तिलाई अयोग्य र बेइमान भन्न खोजेको देखिन्छ । अझ पौडेलले त डन दीपक मनाङ्गेले पार्टीबाट टिकट नपाउँदा स्वतन्त्र उम्मेद्वारी दिएको र त्यहाँ एमालेबाट टिकट पाएर उठेकी प्रतिनिधिसभा सदस्यले आफ्नो उम्मेद्वारी फिर्ता लिएको विशिष्ट परिस्थितिलाई उछाल्दै गुन्डाहरुलाई नीति निर्माण तहमा पु¥याएको परोक्ष आक्षेप पार्टीमाथि लगाएका छन् । के पौडेलले भनेझैँ टिकट पाउने सबै इमान्दार र अनुभव नभएका हुन् ? अनि ती सबैलाई एउटै डालोमा हालेर खसीबाख्री एउटै धोक्री गर्न मिल्छ ? अनि पौडेलले भनेझैँ महँगो चुनावी खर्चको दोष वामशक्तिलाई मात्र दिन मिल्छ ? यो अहिलेको र अझ दलाल पुँजिवादी निर्वाचन पद्धतिको दोष होइन ? प्रतिकूलतालाई अनुकूलतामा बदल्न छाडेर अहिलेको  निर्वाचनबाट भाग्न मिल्छ ? तर भावी दिनमा बाम तालमेल र एकताको सरकारले यस्तो चुनावी प्रणाली फेर्न कडा कानुनी प्रक्रिया र दण्ड विधान लागू गर्नुपर्छ भन्ने कुरा पनि यो लेखकले केन्द्रीय, पोलिटब्युरो र स्थायी समिति सदस्यलाई सिकाउनु पर्छ र ? कमरेड ओलीले भनेझैँ कुनै पनि तहको नेता र कार्यकर्तामा खासै फरक नहुनसक्छ अर्थात् सबै नेता र कार्यकर्ता समान हुन् । तर पदीय जिम्मेवारी र दायित्वका कारण  मात्र कुनै पनि मानिस ठूलो हुन्छ ?
यसको मतलब जिम्मेवारी अनुसार बोल्नु, लेख्नु र व्यवहार गर्नु प¥यो नि कमरेड  ! वरिष्ठ नेता भएर पनि सामान्य कार्यकर्ताझैँ व्यक्तिगत रिस र आवेगमा सदन र सडकमा  सार्वजनिक रोइलो गरेपछि कसरी नेता भइन्छ कमरेड ? अझ पौडेल त पार्टीका इमन्दार नेता र कार्यकर्ताहरुले सभासद् नपाउँदा पार्टीमा विद्रोह समेत गर्न सक्ने बताउँदै थिए । त्यसमा पनि वाम तालमेल र भावी एकता विषयको विशिष्ट बेलामा नितान्त निजी विषय उछालेर मुलायम तर गम्भीर मौन भक्कालु गर्न विज्ञ कमरेडलाई सुहाउँदैन  । यस्तै हो भने तमाम इमान्दार आम कार्यकर्ता र नेताले राजकीय र राजनीतिक कुनै पनि तहको औसर नपाउँदा पनि देश र दुनियाँका खातिर निश्वार्थ रुपमा संघर्षरत रहनु भएन । औसर सीमित हुन्छन् आकांक्षी धेरै हुन्छन् । पटक पटक एउटैले मात्र औसर पाउनु पर्छ भन्नु कुन न्याय हो ? यस्तो तथ्यपूर्ण  स्थितिलाई चटक्कै बिर्सिएर नितान्त आफ्नो मात्र भँडास सार्वजनिक गर्न सुहाउँछ ? सरदर सामान्य चेत र चिन्तका आधारमा महान् नेता भइँदैन ।  उदात्त चेत र चिन्तनले नै कुनै पनि नेता  पार्टी प्रमुख हुन सक्छ  र त्यसले नै मुलुकको अग्रगमनको उडान भर्न सक्छ  ।
पुष्पलालले जुन उदात्त चेत चिन्तनका साथ तथा दूरदृष्टिका आधारमा संयुक्त जन आन्दोलनको नीतिगत मान्यता अघि सार्नु भयो । त्यही कुरा तपाई हामीलाई  त्यही कुरा बुझ्न तीस वर्ष लाग्यो । जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गर्दा धेरै उपल्ला तहका माले वा एमाले नेता दायाँ र बायाँ भड्काउमा थिए । दूरदर्शी चेतका अभावमा जबजलाई बुझ्ने क्षमता धेरै एमाले नेतामा त्यतिबेला पलाएकै थिएन । केपी ओली, ईश्वर पोखरेल, वामदेव गौतमलगायत त्यस बेलामा अधिकांश पार्टी केन्द्रीय सदस्यहरु जबजको औचित्य र आवश्यकता बुझ्थे । र नै जबजले राष्ट्रिय महाधिवेशनमा बहुमत  पाउन सक्यो । त्यस बेला केही नेताले जबजलाई नानाथरि आरोप लगाए तर पनि यसकै  आधार र प्रकाशमा  राजनैतिक र राजकीय उच्च औसर पाए पछि ती नेता जबजका पक्षपाती बने । यसैगरी एमाले केन्द्रीय सदस्य  ठाकुर गैरैले पनि यसपालि  प्रतिनिधि सभा  सदस्यको टिकट नपाउँदा नेपालका हरेक टीभी अन्तर्वार्तामार्फत् गम्भीर आक्रोश व्यक्त गरिरहेको देखियो । राधाकृष्ण मैनाली जस्ता आन्दोलनको सैद्धान्तिक र व्यावहारिक अनुभव हासिल गरेका नेताको  कुरा त झन्  टिठलाग्दो देखियो । उनले यस चुनावको औचित्य माथि प्रश्न बर्साउँदै थिए । चुनाव विरोधी उग्र गतिविधि र अग्रगमनकारी शक्तिका बीचमा मैनालीले  कुनै फरक देखेनन् । बाम तालमेल र एकताका विषयक विरोधी विचार व्यक्त गर्दै थिए । राप्रपा र मधेसवादी दल आबद्ध नेताहरु समेत सूर्य चिन्हबाट निर्वाचनमा उम्मेद्वार बनेको विषयलाई पनि मैनाली हाँसोमा उडाउँदै थिए ।
यस खालका गठबन्धन सत्ता स्वार्थमा मात्र रहेको भनी उनी उपहास  गर्दै थिए । मैनालीको सरमाथा टीभीको अन्तर्वार्ता पिँध बिनाको लोहोटा सरह थियो । उनी सबै खराब भन्दै कसको आरती उतार्न खोज्दै थिए, स्पष्ट हुन सकेन तर दरबारबाट एमाले छिरे पनि उनमा पुरानै  धङधङी देखिन्थ्यो । देशको स्वाधीनताको सुरक्षाका लागि आवश्यक पर्दा तमाम नेपाली एकताबद्ध हुनुपर्छ  मिल्नु पर्छ भन्ने पनि उनले सोच्न सकेनन् । विगत कालमा भारतीय नाकाबन्दीका बेला ओली सरकारमा सहभागी सबै दल एक ढिक्का भएर देशको अखण्डता पक्षधर शक्तिहरुको तालमेललाई मैनालीले भुसुक्कै बिर्सिदिए । राष्ट्रिय अस्तित्व,अखण्डता र स्वाधीनता अत्यन्त संकटपूर्ण अवस्थामा रहेको कुरामा बेवास्ता गर्दै मैनाली आफ्ना नितान्त निजी भँडास पोख्तै  थिए । मानाँै उनी अमुक कुनै भड्काउ र भत्कोस पार्टीका नेता हुन् । अक्सर मानिस तीन स्तरका हुन्छन् । पहिला गल्ती नै नहुने उपाय सोच्छन्  दोस्राथरि गल्ती हुन लागेको छ भने त्यसलाई सच्याउन भरमग्दुर प्रयत्न गर्छन् । तेस्राथरि गल्ती सच्याउन होइन त्यसमाथि अरु गल्ती थोपरेर सर्वनाशतिर धकेल्न उद्यत हुन्छन् । राधाकृष्ण मैनालीका विचारमा कुनै र कत्ति पनि सकारात्मक सोच देखिएन । जसरी पनि बाउँठो र बिब्ल्याँटो कुरा गरेर समय खेर फाल्न उनी उद्यत देखिए । वर्ग पक्षधर पार्टी र सिद्धान्तका अनुयायी र पार्टीका अनुभवी मैनालीमा वर्ग स्खलन तीव्र देखियो । 
एमालेका आदरणीय र अनुभवी मानिएका वरिष्ठ भनाउँदा नेताका पानीमा के गरेजस्ता जस्ता कुरा सुन्दा अचम्म लाग्छ । एउटा अमुक परम्परावादी र पश्चगामी चिन्तन र चरित्रको पार्टीको नेता र कार्यकर्ता पार्टी भित्रका गलतै कुरालाई पनि यसरी सडकमा छताछुल्ल पोख्तैन तर एमाले पार्टीका तमाम सकारात्मक पक्षहरु हुँदाहुँदै पनि शत्रुवत् सार्वजनिक अभिव्यक्ति दिने मैनाली एमाले पार्टीका नेता त  हुन्  ? प्रदीप नेपाल नेपालका मात्रै होइन, दक्षिण एशियाका महान् आख्यानकार हुन् । नेपालको सर्जक, लेखक तथा विचारक भूमिकालाई यो लेखक सश्रद्धा सलाम गर्छ । प्रदीप नेपाल जस्ता पठन संस्कृतिका धरोहर तथा सिर्जनाका प्राणलाई बुझ्ने एमाले नै कति होलान् र ? कम्युनिष्ट आन्दोलनमा उनको अपूर्व त्याग, समर्पण र बहुआयामिक योगदान अविस्मरणीय रहेको छ । उनै प्रदीप नेपालले कमरेड मुकुन्द न्यौपाने सहित भएर नवौँ महाधिवेशनमा केपी ओलीलाई पार्टी अध्यक्ष बनाउन निर्वाह गरेको अपूर्व भूमिकाकै कारण मुलुकले कायापलट गर्ने औसर पाएको हो ।
नवौँ महाधिवेशनमा सहज रुपमा नेतृत्व हस्तान्तरण गर्न प्रदीप नेपालहरुले पार्टी अध्यक्ष पदका लागि हत्तेहाल्ने नेता नेपाललाई कटुवचन बोल्नु परेको पनि पाइयो । त्यति हुँदाहुँदै पनि प्रतिनिधि र प्रदेश निर्वाचनका सम्मुख भएको बाम तालमेल र भावी एकता विषयमा प्रदीप नेपालको अभिव्यक्तिको आलोचना गर्ने पर्ने खालको देखिन्छ । ओली र प्रचण्डप्रति आफूले बोलेका कुटनैतिक तथा मर्यादित बोलीलाई सामान्य भाषामा अझै स्पष्ट पार्दै नेपालले दुवै नेतालाई  चोट्टा समेत भन्न भ्याए । बाबु अभिभावक हुँदा सन्तानले बाबुसित रोड्याइँ गर्छ तर कुनै बेला छोरो जब अभिभावक बन्छ त्यस बेला बाबु नै अभिभावक बनेको छोरासित गैरजिम्मेवार तरिकाले रोइलो गर्दो रहेछ । पार्टीका जे कुरामा पनि अर्घेलो थापेर कुरा गर्ने एमाले नेतालाई एमाले भन्ने कुनै आधार देखिएन । के यी नेतालाई मनपरी भन्न मिल्ने मनमोजीे जे पनि भन्न  सुहाउँछ  । अनि यस खालका नेताहरुलाई एमाले नै हुन् भन्न कति सुहाउँछ ?

Related News