​एमालेसँग दिल्ली आत्तियो

काठमाडौं, २० भदौ । एकै चरणमा हुनुपर्ने र गर्न सकिने स्थानीय तहको निर्वाचनलाई सार्दैसार्दै तीन चरणसम्म पु¥याएर नेकपा एमालेलाई एक्ल्याउने रणनीतिमा लागेको कांग्रेस—माओवादी गठबन्धनको योजना दुई चरणसम्मका निर्वाचनमा विफल भएको छ । अब तेस्रो चरणमा एमालेलाई कसरी पराजित गर्ने भन्ने सत्ता गठबन्धनको एक मात्र चिन्ताको विषय बनेको छ । र, एमालेविरुद्धको गठबन्धनमा कांग्रेस—माओवादीसँगै राष्ट्रिय जनता पार्टीलाई समेत उभ्याउने कोशिस पनि पृष्ठभूमिमा भइरहेको छ । तर, राजपा आफै सग्लो रहन नसकेर हृदयेश त्रिपाठीको नेतृत्वमा बेग्लै पार्टी बन्न लागेपछि एमालेविरोधी सशक्त गठबन्धन बनाउने बाह्य शक्तिको खेल पनि पराजित हुने सम्भावना देखिएको छ ।
यसअघि एमालेले लिएका राष्ट्रवादी अडान, अन्तुलित विदेश नीति, भारतीय नाकाबन्दीलगायत विरुद्धका स्वाभिमानी राष्ट्रवादी अडानका कारण देशव्यापी जनउपभार एमालेको पक्षमा देखिएको थियो । एमालेलाई पराजित र कमजोर पार्दै राष्ट्रिय राजनीतिबाटै किनारीकृत गर्न माओवादीसँगको गठबन्धन टुटाइएको थियो । महत्वाकांक्षी विकास परियोजना र सामरिक महत्वका चीनसँगका सम्झौताका कारण दक्षिणी शक्तिले कांग्रेस—माओवादी गठबन्धन निर्माण गर्न भूमिका खेलेको थियो । कांग्रेस त्यही पार्टी हो, जो भारतीय नाकाबन्दीलाई नाकाबन्दी भन्न सकिरहेको थिएन । भारतमा रहेका कांग्रेस राजदूत दीपकुमार उपाध्याय उल्टै भारतकै पक्षमा वकालत गर्दै नेपाल सरकारको विरुद्धमा गतिविधि गरिरहेका थिए । त्यो पृष्ठभूमिमा बनेको गठबन्धनका निम्ति २ नम्बर प्रदेशको चुनाव फलामको च्यूरा सावित भएको छ । 
कांग्रेस—माओवादीले संविधान संशोधन हुन नसकेको अपसज दिँदै एमालेलाई मधेसविरोधी देखाउने र एमालेको विरुद्धमा मधेसलाई उराल्ने योजनामा पनि असफलता बेहोरेका छन् । बरु उल्टै संविधान संशोधन गर्न नसकेको र आफूलाई उपयोग मात्र गरेको भन्दै मधेसकेन्द्रित दलहरु असन्तुष्ट छन् । तराईका रैथाने मधेसीहरुमा एमालेप्रति देखिएको जनलहरबाट मधेसकेन्द्रित दल र सत्ता गठबन्धन अत्तालिएको छ । भारतीय रणनीतिकारहरु एमालेलाई पराजित गर्न सानोतिनो बलले नपुग्ने भन्दै तराईमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिल्लीलाई दिइरहेका छन् । नेपाल मामिलाका जानकार मानिने एक रणनीतिकारले सुझाएअनुसार, नेपालमा दुई चरणमा भएको स्थानीय निर्वाचनमा केपी ओली जबरजस्त रुपमा विजयी भए । उनलाई रोक्नका निम्ति कांग्रेस र माओवादी मिल्नुपर्छ भन्ने उनको सुझाव छ । २ नम्बर प्रदेशमा हुन गइरहेको चुनावमा एमालेलाई कांग्रेस, माओवादीका अलाबा मधेसकेन्द्री दल समेत मिल्नुपर्छ भनेर उनले खुलेआम बताइरहेका छन् । एक्लाएक्लै लड्दा ओलीलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा समेत एसडी मुनिले गरेका छन् । 
एमालेविरुद्ध विदेशमा पाकिरहेको खिचडीबारे एमाले नेतृत्व पनि जानकार छ र यसलाई नै प्रमुख चुनौतीका रुपमा लिएको छ । २ नम्बर प्रदेशको स्थानीय निर्वाचन मात्र नभई सिंगो मुलुकमा हुन गइरहेको प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचनमा समेत एमालेलाई साम, दाम, दण्ड, भेदलगायतका सम्पूर्ण हत्कण्डा प्रयोग गरी किनारीकृत गर्नुपर्ने दबाब विदेशीहरुले सत्ता गठबन्धनमाथि दिइरहेका छन् । एमाले महासचिव ईश्वर पोखरेका भनाइमा अहिले यस्तो एउटा अराजनीतिक अभ्यास भइरहेको छ, जहाँ एमालेविरुद्ध महागठबन्धन निर्माण गर्ने, कुनै मुद्दामा आधारित नभई एउटा पार्टीको विरुद्धमा गठबन्धन निर्माण गरेर कसरी एमालेलाई पराजित गर्न सकिन्छ भन्ने प्रयत्न भइरहेको छ । यस्तो प्रयत्न आपराधिक योजनाअन्तर्गत भइरहेको उनले खुलासा गरेका छन् । सत्तामा रहेका दलहरु नै उद्दण्ड ढंगले एमालेलाई जसरी पनि सिध्याउनुपर्ने भन्दै आपराधिक योजनामा लागेको महासचिव पोखरेलको भनाइ छ ।
बेला न कुबेला उठाइएको संविधान संशोधनको मुद्दा संसदबाटै विफल भएको र त्यसपछि सिंगो मुलुकले खुशी, शान्ति र राहत महसूस गरेको पाइएको छ । यसबाट सबैभन्दा बढी खुसी तराईका रैथाने एवं मधेसवादी भनेर आपराधिक गतिविधि गर्नेहरुबाट पीडित समुदाय रहेको छ । अहिले उनीहरुको रुझान एमालेतिर बढ्दै गएको देखेर समेत सत्ता गठबन्धन अत्तालिएको हो । हालै भारत भ्रमणका क्रममा देउवाले साखुल्ले शैलीमा व्यक्त गरेको असान्दर्भिक र अशोभनीय अभिव्यक्तिले कांग्रेसी नेता—कार्यकर्तालाई स्वाभिमानी नेपाली जनतासामु गएर भोट माग्नै लाज लाग्ने अवस्था सिर्जना भएको छ । त्यसैगरी भ्रष्टाचारीलाई उम्मेदवार बनाउन कानुन नै संशोधन गर्न कांग्रेस तयार हुनु, सुशीला कार्कीजस्ता इमानदार प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनु र लोकमानसिंह कार्कीलाई महाभियोगबाट जोगाउन लाग्नुले समेत कांग्रेसलाई जनतासामु गएर स्पष्टीकरण दिने नैतिक बल छैन । 
यस्तो अवस्थामा हुन लागेको निर्वाचनमा कांग्रेसले राज्यस्रोत, प्रहरी, प्रशासनलगायतको चरम दुरुपयोग गर्ने भएको छ । चुनावको मुखैमा भएको व्यापक सरुवा, बढुवा, नियुक्ति लगायतले समेत सत्ता गठबन्धनको नियत प्रस्ट हुन्छ । आचारसंहिताको उल्लंघन गर्दै देउवा सरकारले गरेको सार्वजनिक प्रशासनमा मनोमानीले पनि यो सरकार हतास मनोदशामा पुगेको प्रस्ट हुन्छ । आफ्नो लागि भन्दा पनि अदृश्य शक्तिका लागि चुनाव लडिदिनुपर्ने, जितिदिनुपर्ने र एमालेलाई कमजोर सावित गरिदिनुपर्ने भएकाले कांग्रेस र माओवादीमा यस खालको हतासा स्वाभाविकै भएको टिप्पणी राजनीतिक विश्लेषकहरुले गरेका छन् । 

Related News