​इथियोपियाका पूर्वप्रधानमन्त्रीको पोखरा भ्रमण

दृष्टि न्यूज

कास्की । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन् । प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन् । 
आफ्नो तीन दिने भ्रमणका क्रममा सो टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको बताइएको छ । नेपालमा स्थिर सरकार गठन भएसँगै विकासको गति सहज भएको भन्दै आर्थिकस्तर बलियो बनाउन सकिने टोलीले विश्वास व्यक्त गरेको थियो । पूर्वप्रधानमन्त्री तम्राटको टोलीले नेपालमा पर्यटन र कृषिको क्षेत्रमा उल्लेख्य फड्को मार्न सक्ने सम्भावना रहेको ठहर गरेका छन् ।
भ्रमण दलका सदस्य तथा अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृत बेन स्मिथले भने, ‘नेपालको विकासका लागि पर्यटन र कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’ 
कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं संघीय सभासद् खगराज अधिकारीले यस क्षेत्रमा भएको लेन सम्राटसहितको टोलीको भ्रमणले समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Related News