​फेसबुकमा ‘वल्र्डकप’ सकस

एमपी सुब्बा

काठमाडौं । भनिन्छ, ‘प्रेम र युद्धमा जेपनि जायज’ । त्यस्तै, खेलमा पनि केही भन्न सकिन्न । तर, दर्शक जहिल्यै ‘आफूलाई मनपर्ने खेलाडी र टीमले जितोस्’ भन्ने चाहन्छ । त्यो सकस यतिखेर सामाजिक सञ्जाल फेसबुक र ट्विटरको वालामा देखिएको छ ।  
प्रशंग, रसियामा जारी फुटबलको कूम्भमेला मानिने ‘विश्वकप’को हो । २१औं संस्करणको ‘विश्वकप’मा ३२ टिम संलग्न छन् । खेल पहिलो चरणमा भइरहेको छ । तर, फेसबुक र ट्विटरलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु यसपटक ‘विश्वकप’को ट्रफी कसले उचाल्छ ? भन्ने भन्दा पनि आफूलाई मन परेको देश र खेलाडीले जितोस् भन्ने सकस भइरहेको छ ।
‘विश्वकप’ सुरु हुन दुई साता अघिबाट सामाजिक फेसबुकमा आफूलाई मनपर्ने टीम र खेलाडीको जर्सी लगाएर स्टाटस पोस्ट गर्ने ‘डाइहार्ट फ्यान’हरुमा अहिले जोश र आक्रोश दुवै पोखिन थालेको छ ।
ती सामाजिक सञ्जालमा पोखिएका जोश, आक्रोश र तिनको सकस देख्दा लाग्छ, ‘विश्वकप रसियामा होइन, मार्क जुकरवर्गले विकास गरेको फेसबुकको मैदानमा भइरहेको छ ।’ 
अर्जेन्टिना र आइसल्याण्डबीच शनिबार पहिलो खेल भएपछि फेसबुक वालमा आक्रोशका शब्दहरु यति बर्सिए कि छेउमै भेटिएको भए अर्जेन्टिनामा क्याप्टेन लियोन लियोनेल आन्द्रेस मेस्सी कुटिन्थे । मेस्सीले पेनाल्टी मिस गरेपछि उनका फ्यान आक्रोशित भएका हुन् । 
मेस्सीले पेनाल्टी मिस गरेपछि मदन पुरस्कार विजेता कवि राजन मुकारुङले आफ्नो फेसबुक वालमा लेखे, ‘मेस्सी मेस्सी भन्छौ नि साथी हो, गोल भेट्यो कि पोलभित्र छिराउने रोनाल्डोलाई पनि सम्मान गरौं न हौं । मज्जा लागेन ।’ राजनको यो स्टाटस मेस्सीका फ्यान लक्षित थियो । कवि राजन भने रोनाल्डोका फ्यान रहेछन् । 
त्यस्तै, ब्राजिलका फ्यान गायक प्रमोद खरेलले फेसबुक वालमा लेखे, ‘यही जर्सीमा गत वर्ष जर्मनीसँगको फाइनलमा हारेको अर्जेन्टिनालाई आज पनि यो जर्सी फापेन । बल पोजिशनले संसार थाम्दैन, गोल गर्नुपर्छ ।’ फेसबुकमा पोखिएका आक्रोशहरु देख्दा मेस्सीले ‘पेनाल्टी मिस’ गर्नु ठूलै ‘अपराध’ नै गरेजस्तो भान हुन्थ्यो ।  
आइसल्याण्डविरुद्धको पहिलो खेलमै अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । विश्वकपमा नवोदयमान आइसल्याण्डलाई अर्जेन्टिनाले ‘धोवी’ हान्ला भन्ने उनका फ्यानमा आशा थियो । तर, पहिलो खेलमा १–१ गोलमा बराबर भए ।
सामाजिक सञ्जाल प्रयोगकर्ताको आधारमा नेपालमा अर्जेन्टिना, ब्राजिल र पोर्चुगलका सबैभन्दा धेरै फ्यान छन् । त्यसपछि जर्मनी, इटली, उरुग्वे र फ्रान्स फ्यान देखिन्छन् । त्यो पनि अर्जेन्टिनाका मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलियन स्ट्राइकर नेइमारको फ्यान तथा प्रशंसक यहाँ धेरै छन् । जसले तिनै खेलाडीको डिफेन्समा ‘वल्र्डकप’  जितोस् भन्ने कामना गर्दै आएका छन् ।
एक किसिमले भन्ने हो भने यतिखेर अर्जेन्टिना, ब्राजिल, जर्मनी र पोर्चगलका फ्यानबीच सामाजिक सञ्जालमा भीडन्त हुँदैछ । उता रसियाको रंगशालामा आफूले मनपर्ने खेलाडीले गोल पोस्टमा छिराउँदा यता उनीहरुका फ्यानले फेसबुकमा ‘स्टाटस पोस्ट’ गर्छन् ।  र, आफ्नो टिम र खेलाडीलाई सर्पोट गर्नलाई ‘व्यंग्य’ उस्तै चल्दै आएको छ ।
मेस्सीले पेनाल्टी मिस गर्दा उनका फ्यानका फेसबुक वालमा आक्रोश र सकसका स्टाटसले रंगिएपछि मोडल तथा कलाकार शालु गौतमले लेखिन्, ‘वल्र्डकप नसकिने बेलासम्म एम्बुलेन्स पनि साइडमै राख्नुपर्ने भयो । कतिबेला के हुने हो पत्तै हुँदैन ।’ शालुको उक्त स्टाटसले मेस्सीका फ्यानलाई व्यंग्य गरेको थियो । फेसबुकमा मोडल शालुको ब्यंग्य आएपछि समीक्षा पोखरेलले आफ्नो आफ्नो वालमा पोस्ट गरिन्, ‘मेस्सीले पेनाल्टी हान्नु नसक्कनुमा हामी निर्दोष छौं । धेरै फेसबुकको भित्तामा किचकिच नगर । अक्सर कुकुरहरु मान्छे नचिनेरै भुक्छन् । आईएम विथ मेस्सी ।’ समीक्षाको उक्त स्टाटस मेस्सीप्रतिको सहाुनभूतिसँगै उनीप्रति आक्रोश पोख्नेहरुलाई जवाफ थियो । 
यसपटकको ‘विश्वकप’मा बढी साहित्यकार, कलाकार र पत्रकार ब्राजिलको पक्षमा देखिएका छन् भने फिल्मी कलाकार तथा गायक÷गायिका अर्जेन्टिनाको पक्षमा छन् । अभिनेत्री प्रियंका कार्कीदेखि केकी अधिकारीसम्म अर्जेन्टिनाको फ्यान हुन् । उनीहरु आफ्ना टिमले जितेको हेर्न चाहन्छन् । 
यसपटक ‘वल्र्डकप’ ट्रफी कसले उचाल्छ भन्ने अहिले नै अनुमान लगाउन सकिँदैन । एक महिनासम्म चल्ने यस कुम्भमेलामा सहभागी केही राष्ट्रबाहेक धेरै टिम दावेदार छन् जबकि, विश्वकप भन्नेवित्तिकै ब्राजिल, अजेन्टिना, जर्मनी र इटलीको नाम आउँछ । तर, उरुग्वे, आइसल्याण्ड, फ्रान्स, स्पेन, अष्ट्रेलियाजस्ता टिम पनि बलियो देखिएका छन् । 
यतिखेर देखिएका ‘विश्वकप’का ‘फेसबुके’ फ्यानहरुको सकस पुरानो विश्वकपको ‘ह्याङ्ओभर’ मात्र हो । कवि तथा साहित्यकार श्रवण मुकारुङले यस्तै विश्लेषण गरेका छन्, ‘सधै ब्राजिल र अर्जेन्टिना’को फ्यान हुन हामी नेपालीका लागि ह्याङ्ओभर हो ।’ फेसबुकको मैदानमा यो ह्याङओभर अझै एक महिना देख्न पाइने छ ।    

Related News