मदिराको नशामा छोरा अपहरणको प्रहरीसँग ‘भद्दा मजाक’

दृष्टि न्यूज

 काठमाडौं, २४ साउन। 
 ११ बर्षिय निशान खड्काको अपहरणपछि भएको हत्या र अपहरणकारीको ‘इन्काउन्टर’ को बारेमा बसह चलिरहेका बेला  महानगरीय प्रहरी कार्यालय रानीपोखरीको हटलाइन १०० मा बिहीबार एक व्यक्तिले फोन गर्दै भने,‘सर मेरा छोरा अपहरणमा परे।’  
ललितपुरको पाटनबाट ४१ वर्षिय राकेश बिष्ट नामक व्यक्तिले प्रहरीमा यो उजुरी टिपाएका थिए। गम्भीर घटनाको अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखा लगायत निकायका प्रहरी अधिकारीहरु तत्कालै अनुसन्धानमा खटिए।
सुरुमा प्रहरी बिष्टको घर खोज्दै गयो। त्यहाँ पुग्दा विष्ट कुनै चिन्तामा थिएनन्। बरु हाँसिरहेका थिए। छोरा अपहरणमा परेको व्यक्ति हासेको देखेर प्रहरी अधिकारी चकित भए। 
प्रहरीले सोधपुछ गर्दा उनले आफुले रमाइलोका लागि मात्र प्रहरीमा यस्तो उजुरी दिएको बताए। प्रहरीसँग उनको भद्दा मजाक गरेका थिए। 
‘खासमा उनी मदिरमा मात्तिएर प्रहरीलाई गलत सूचना दिएका रहेछन्,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह भन्छन्,‘हामीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएका छौं।’ 
विष्ट पाटनमा खुद्रा पसल सञ्चालन गर्दै आएका व्यक्ति हुन्। पक्राउ परेपछि उनले आफुबाट गल्ती भएको बताएका छन्। 
गम्भीर विषयमा प्रहरीसँगको भद्दा मजाकका कारण उनी २४ दिन प्रहरी हिरासतमा बस्नेछन्। 

Related News