समुन्द्री जीवनको झल्को दिंदै नमूना कलेजको ग्राजुएसन फेसन शो

काठमाडौं १८ भदौ । दरबारमार्गस्थित होटल याक एन्ड यतीमा नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातकको पढाईमा अध्ययनरत १२औं ब्याचका ५७ जना विधार्थीहरुले समुन्द्री जीवनको झल्को दिदै फेसन शोको आयोजना गरेको छ । 

अक्टोपस, कोरल रिफ, सी अरचिन, स्टार फिस, जेली फिस, बे अफ अलास्का, मर्मेड, पर्ल, बेटा फिस, सी ड्रागन लगायत समुन्द्री जीवनबाट अभिप्रेरित १५ वटा अनुपम, आकर्षक र लोभलाग्दा पहिरन शैलीहरुमा फेसन शोको आयोजना गरिएको थियो । सृजनात्मक सोच र कल्पनाशीलताले सजिएका यी पहिरनहरुले करिब एक घण्टाको समय उपस्थित फेसन पारखी दर्शकहरुलाई समुन्द्री परिवेशमा विचरण गराएको अनुभूति गराएको थियो । 
‘रिकोरेन्जा डिला मोडा’ शीर्षक अन्तर्गत विद्यार्थी स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शोमा अन्य पाँच वटा सिक्वेन्स पनि प्रस्तुत गरिएका थियो । फेसन शोको प्रारम्भमा लोलिटा फेसनबाट प्रभावित पहिरनले ¥याम्पमा अवतरण गरेको थियो । त्यसपछि इन्डो वेस्टर्नको फ्युजन स्वरुपहरुले प्रवेश पायो । जसमा साडीका साथमा फिटेड ज्याकेट, स्लीम फिट ज्याकेट, केप लगायतको सुन्दर कम्बीनेसन देख्न पाइयो । त्यसपछि स्ट्रीट वेयरले आफ्नो प्रभाव देखायो । जसमा क्याजुयल र आरामदायिक मूडलाई प्राथमिकता थियो भने पहिरनहरु मुख्य गरी हेम्प फ्याब्रिकबाट बनेका थिए । 

नमूना कलेजका संस्थापक प्रिन्सीपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रुपमा परिचित ज्ञानी शोभा तुलाधर प्रति समर्पित पहिरनशैलीले कार्यक्रमको मध्य समयमा प्रवेश पाएको थियो । ज्ञानी शोभा तुलाधरले आफ्नो समयमा तयार पारेका विविध पहिरन शैलीबाट प्रभावित पहिरनहरुको नमूनालाई यो चरणमा देखिएको थियो । 

ब्युटी क्वीन शीर्षक अन्तर्गत प्रस्तुत यी पहिरनहरु मूलतः ढाकाको प्रयोगमा साटन, रअ सिल्क जस्ता फ्याब्रिकमा खेलिएका थिए । जसमा फ्लोर लेन्थ गाउन, प्रिन्सेस लाइन, केप, अफ शोल्डर डिजाइन आदि प्रमुख थिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको सो फेसन शोमा पाँच जना युवा मोडल सहित तीन दर्जन भन्दा बढी मोडलहरुले ¥याम्पमा ओहोर दोहोर गरेका थिए । 
कार्यक्रमको पाँचौं सिक्वेन्स कर्पोरेट जगतप्रति समर्पित थियो । जस अन्तर्गत मूलतः फिटेड स्कर्ट, पेन्सिल स्कर्ट, शर्ट, टप्स आदि प्रस्तुत गरिएको थियो जुन कर्पोरेट जगतका महिला प्रोफेसनलहरु प्रति केन्दि«त थिए ।





 

Related News