फुटबलको महाकुम्भ विश्वकप आजदेखि : ३२ देश, ६४ खेल र ७३६ खेलाडी

दृष्टि न्यूज

काठमाडौं , ३१ जेठ ।

विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन्।

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन्। उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन्। 

विश्वकप २१औं संस्करणमा आइपुग्दा जम्मा ८ देशले मात्र उपाधि जितेका छन्। ती देशमध्ये सर्वाधिक पाँच पटकको विजेता ब्राजिल, साविक विजेता जर्मनी, स्पेन, फ्रान्स, अर्जेन्टिना र इङ्ल्यान्डलाई उपाधिको प्रमुख दावेदार मानिएको छ। आजको अन्नपूर्ण योष्ट दैनिकमा समाचार छापिएको छ ।

 विश्वकप रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइनेछ। प्रतियोगितामा सहभागी हुन ३२ वटै टोलीका खेलाडी र खेल पदाधिकारी रसिया पुगिसकेका छन्। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राष्ट्रका पाहुना र पूर्वखेलाडी पनि रसिया पुग्ने क्रम जारी छ। ब्राजिलका पूर्वखेलाडी पेले बिरामी भएकाले यसपटक विश्वकपमा उपस्थित नहुने भएका छन्। प्रतियोगिताको उद्घाटन खेल आयोजक रसिया र एसियाली राष्ट्र साउदी अरेबियाबीच हुनेछ।

Related News