​फिल्म खेल्न जाँदा गायिकालाई हत्कडी

काठमाडौं, २६ पुस । ‘हामीलाई दुई जना मोडल चाहिएको थियो, तपाईंलाई खेलाउन चाहेका छौं, कहाँ भेट्न सकिएला ?’ गायिका प्राशना पाण्डेलाई गत बिहीबार एउटा फोनले उत्साहित बनायो । गायन र मोडलिङमा भर्खरै पाइला चाल्दै गरेकी उनी त्यसरी अफर आउँदा खुशी हुनु स्वभाविक थियो । उनले तत्काल भेट्ने प्रस्ताव राखिन् ।  ‘कहाँ भेटौं ?’ फोनकर्ताले सोधे । उनले कमलादीको डल्ले मःम रेष्टुरेन्टमा भेट्ने प्रस्ताव राखिन् । एक साथीलाई समेत लिएर उनी डल्ले मःम रेष्टुरेन्टमा पुगिन् । 
मोडलिङको अफर गर्ने युवाहरु केही समयमै आइपुगे । तर उनीहरु न त निर्माता थिए न त निर्देशक नै । उनीहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएका सादा पोशाकका प्रहरी थिए । मोडलिङका लागि नभई रातो रङको नम्बरबाट फोन आए उठाउँदा मृत्यु हुन्छ भन्दै आतंक मच्चाएको घटनामा सीआईबीले उनीमाथि छानबिन गरी त्यसरी मोडलिङको पासो थापेको थियो । रेष्टुरेन्टमा पुगेपछि उनीहरुले आफुहरु प्रहरी भएको भन्दै आफ्नो गाडीमा बस्न आग्रह गर्दै महाराजगंजस्थित सीआईबी कार्यालय पु¥याए । प्रहरी कार्यालयमा पुगेपछि मात्र पाण्डेले आफूलाई प्रहरीले पक्राउ गरेको चाल पाइन् । 
एक महिनायता रातो रङको नम्बरबाट मोबाइलमा आएको फोन उठाए मृत्यु हने भन्दै आतंक मच्चाइएको थियो । त्यसरी आतंक मच्चाउनेमध्ये एक उनै पाण्डे थिइन् । उनको फेसबुकबाट पनि उक्त गलत सूचना भाइरल भएको थियो । सोही कारण सीआईबीले उनलाई पक्राउ ग¥यो । पक्राउ परेपछि उनले दीपक बराइली नाम गरेका अर्का गायकको आग्रहमा आफूले उक्त पोष्ट गरेको बताएपछि प्रहरीले बराइलीलाई पनि पक्राउ गरेको थियो । उनीहरुले अन्जानबस पोष्ट गरेको बताएपछि पत्रकारका सामु माफी मगाएर उनीहरुलाई भोलिपल्ट सीआईबीले छाडिदिएको थियो ।
 रातो नम्बरको फोन विभिन्न मोबँइल एप्लिकेसनको खेल भएको प्रहरीले जनाएको छ । रातो नम्बरबाट आएको फोन उठाउँदा विभिन्न जिल्लामा मान्छेहरुको मृत्यु भएको भनेर समेत हल्ला फैलाइयो । एक करोडभन्दा धेरै नेपालीहरु फेसबुक चलाउने भएकाले आजभोलि यस्ता हल्लाहरु एकै छिनमा फेसबुकबाट भाइरल हुने गरेको छ । 

Related News