यी महिला फूटबल टोली भुटान उडे, पहिलो खेल पाकिस्तानसँग खेल्दै

दृष्टि न्यूज

काठमाडौं । भुटानमा हुन गइरहेको दोस्रो 'यू–१५ साफ च्याम्पियनसीप महिला फूटबल'मा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली मंगलबार भुटान प्रस्थान गरेका छन् । उक्त टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । 
भुटानको थिम्पुमा यही २४ साउनदेखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । नेपालसँगै यो समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । समूह ‘ए’ मा भारत, आयोजक भुटान, अफगानिस्तान र श्रीलंका छन् । माल्दिभ्सले प्रतियोगितामा सहभागिता जनाएको छैन । 
प्रीति राईको कप्तानीको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् ।
मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् । मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् । 
च्याम्पियनसीप खेलाउन दुई नेपाली रेफ्री, फिफा रेफ्री अस्मिता मानन्धर र फिफा सहायक रेफ्री बीना श्रेष्ठ नेपाली पनि टोलीसँगै छन् । नेपालले पहिलो खेल यही साउन २६ गते पाकिस्तानसँग खेल्नेछ । बंगलादेशसँग २८ गते प्रतिस्पर्धा गर्नेछ । 

Related News