​तलब कटौती गर्ने कम्पनीलाई ९ लाख जरिवाना


काठमाडौं, २२ जेठ । नेपाली कामदारलाई मापदण्डअनुसार तलब सुविधा नदिने मलेसियाको एक कम्पनीलाई स्थानीय अदालतले करिब ९ लाख २१ हजार (३८, ४०० रिंगिट) रुपैयाँ जरिवाना गरेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

मलेसियाको पेताजिङ जयास्थित ‘ह्युमन कनेक्सन एचआर (एम) एसडिएन बीएचडी’ नामक कम्पनीलाई मलेसियाली अदालतले जरिवाना तोकेको हो । मलेसियामा रहेका फास्टफुड चेन रेस्टुराँ र इलेक्ट्रोनिक्स कम्पनीहरूमा कामदार सप्लाई गर्दै आएको उक्त कम्पनीले त्यहाँ कार्यरत ८ नेपाली कामदारलाई ‘तलबमान नीति’ विपरीत रकम कटौती गर्ने गरेको पाइएपछि अदालतले गत मे १७ मा सजायस्वरूप जरिवाना तोकेको हो । 

ह्युमन कनेक्सनले उनीहरूलाई ‘ओउटसोस्र्ड वर्कर’ का रूपमा म्याक डोनाल्ड्स रेस्टुरेन्टलाई ३ वर्षे करारमा सप्लाई गरेको थियो । अदालतले यसबारे गत वर्ष डिसेम्बरमा परेको मुद्दामा दुई साताअघि उक्त निर्णय सुनाएको हो । अदालती निर्णयपछि ती नेपाली कामदारले झन्डै ८ महिनापछि न्याय पाएका छन् । उनीहरू चर्चित अन्तर्रा्ष्ट्रिय फास्टफुड चेन रेस्टुराँ ‘म्याक डोनाल्ड्स’ र इलेक्ट्रोनिक्स कम्पनी ‘सामसुङ’ मा कार्यरत थिए । यसबारे कान्तिपुरले गत वर्ष समाचार प्रकाशन गरेको थियो । 

मलेसियाको स्थानीय अंग्रेजी दैनिक ‘द सन’ को गत मे १७ मा प्रकाशित रिपोर्टअनुसार तलब कटौती र तोकेको मापदण्ड पूरा नगरेकाले अदालतले कम्पनीलाई जरिवाना गरेको उल्लेख छ । मलेसियाको नयाँ तलबमानअनुरूप मासिक न्यूनतम १ हजार रिंगिट दिनुपर्नेमा उल्टै ती ‘नेपाली कामदारको तलबबाट मासिक १ सय रिंगिट कटौती गर्ने र श्रम शोषण गर्ने गरेको’ खुलासा भएको थियो । यस्तो प्रवृत्तिबारे गत वर्ष नोभेम्बर २८ मा बेलायती पत्रिका ‘द गार्जियन’ ले खोजमूलक रिपोर्ट सार्वजनिक गरेको थियो ।

उक्त कम्पनीले ती कामदारलाई सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलबबाट प्रतिकामदार १ सय रिंगिटका दरले तलब कटौती गरेको थियो । तलबमान नीतिअनुसार मलेसियामा निजी क्षेत्रमा कार्यरत कामदारको न्यूनतम मासिक तलब एक हजार रिंगिट हो । उक्त ‘तलबमान नीति’ उल्लंघन गर्ने रोजगारदातालाई प्रतिकामदार १० हजार रिंगिटका दरले जरिवाना हुने कानुनी प्रावधान छ ।

Related News