भूकम्पपीडित कोटामा अमेरिका जाने हतारो गर्दा...


काठमाडौं, २८ जेठ । आफूलाई अमेरिकी दूतावासको कर्मचारी भनी चिनाउँदै ठगीमा संलग्न एक अभियुक्त प्रहरीको फन्दामा परेका छन् । भूकम्पपीडित कोटामा अमेरिका पठाउन पहल गरिदिने आश्वासन दिएर पौने ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर ठेचोका २७ वर्षीय सिद्धार्थ कार्कीलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
कार्कीले रूपन्देही घर भएका प्रकाश कार्कीलगायत ६ विद्यार्थीलाई भूकम्पपीडित कोटामा प्रतिव्यक्ति ४ लाखभन्दा बढी खर्च नलाग्ने, आफू दूतावासको कर्मचारी भएकाले अमेरिका जाने भिसा लगाउन तत्काल प्रक्रियाका लागि रकम चाहिने भन्दै रकम असुलेको महाशाखाले जनाएको छ । रकम लिई सम्पर्कविहीन भएपछि पीडितले महाशाखामा उजुरी दिएका थिए । मूलपानीबाट पक्राउ गरिएका कार्कीलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।

Related News