तस्करीमा विमानस्थलको ‘सेटिङ’


काठमाडौं, २४ पुस । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ५४ वटा सुरक्षा पोस्ट छन् । भन्सार र अध्यागमनका छुट्टाछुट्टै चेकजाँच हुन्छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको प्रतिआतंकवाद युनिटसमेत क्रियाशील छन् । तिनको अनिवार्य रेकी हुने गर्छ । यति हुँदाहुदै यहींबाट ठूला–ठूला तस्करीका घटना हुने गर्छन् । कान्तिपुर दैनिकमा खबर छ । 

कसरी सम्भव हुन्छ यो ? विमानस्थलको भन्सार पार गरेर आएको ३३ किलो अवैध सुन बरामदको पछिल्लो घटनाले यहाँको सुरक्षा प्रणालीमाथि गहन प्रश्न उठाएको छ । जवाफमा सबै निकाय एकले अर्कालाई दोष दिन्छन् । जानकारहरू भन्छन्, ‘सबैको मिलेमतोमा हुने सेटिङबिना यस्ता घटना हुनै सक्दैनन् । तस्करी गर्नेहरू उम्किनै पाउँदैनन् ।’ 

पूर्वएआईजी नवराज ढकाल यसलाई घुमाउरो पारामा ‘अन्तरसमन्वयमा कमजोरी’ ठान्छन् । ‘कमजोरी भएपछि एउटाले अर्को निकायलाई दोष लगाउने तर अन्तरसमन्वयमा कसरी चुकियो भनेर समीक्षा नगर्ने प्रवृत्तिले यस्ता घटना दोहोरिइरहेका छन्,’ उनले भने, ‘३३ किलो सुन बरामदको घटनाले विमानस्थलको सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठेको छ । यो घटनाले आशंका जन्माउँछ कि– विमानस्थल ठूला अपराध र गैरकानुनी तस्करीको केन्द्र भइरहेको त छैन ?’ 

सिनामंगलस्थित भन्सार कार्यालयका अनुसार विमानस्थलभित्र २०७१÷७२ मा अवैध सुन बरामदका २२ घटना भए । त्यस अवधिमा १२ नेपाली, १४ भारतीय, एक बंगलादेशीसहित २७ जनाबाट १८ किलो ३ सय ९५ ग्राम अवैध सुन बरामद भयो । २०७२÷७३ मा १४ केजी ८ सय ४ ग्राम अवैध सुन बरामद भयो । जसमा ३७ नेपाली, ६ भारतीय, ३ बंगलादेशी, एक थाई र एक बेलायतीसहित ४८ जना पक्राउ परे । विमानस्थलकै अधिकारीहरू भन्छन्, ‘नसमातिएका र बाहिर नआएका घटना झन् धेरै हुन्छन् । सेटिङमा हुने तस्करीमा कहिलेकाहीं लेनदेन नमिल्दा पक्राउ पर्ने हुन् । कुनै बेला काम गरेको देखाउन पक्रिने गरिन्छ । तर, अधिकांश घटनामा मूल तस्कर उम्किएकै हुन्छन् । घानमा पर्ने बिचौलियाहरू हुन्छन् ।’
 
महानगरीय प्रहरी परिसरका अनुसार साउनयता पाँच महिनामा मात्रै काठमाडौंका विभिन्न स्थानबाट १९ किलो ५ सय ९८ ग्राम अवैध सुन बरामद भएको छ । अनौठो यो छ कि, बरामदका पाँचमध्ये तीन घटना विमानस्थलसँग सम्बन्धित छन् । अवैध सुन बरामदका तथ्यांक केलाउने हो भने कैयन् घटनामा विमानस्थलको संलग्नता जोडिन्छ । यो अवधिमा केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाट बाहिरिएको करिब ३३ केजी सुन बरामद गरेको बिहीबारको घटना पहिलो हो । यति ठूला बरामद हतपति हुँदैनन् । यसअघि कात्तिकमा विमानस्थलबाटै ६ केजी ३ सय ७४ ग्राम अवैध सुन बरामद भएको थियो । 

विभिन्न तहमा हुने सुरक्षा जाँच छलेर कसरी अवैध सुन तस्करी भइरहेको छ भन्ने बुझ्न विमानस्थलको कमजोर सुरक्षा प्रणाली र अन्तरनिकाय समन्वय अभाव वा सबैको ‘सेटिङ’ लाई बुझ्नुपर्ने हुन्छ । विमानस्थलबाट यसअघि सुनका अलावा लागूऔषध र अवैध विदेशी मुद्रा ओसारपसारका कैयन् घटना सार्वजनिक भइसकेका छन् । २०७१÷७२ मा विमानस्थलबाट हङकङ, मलेसिया, थाइल्यान्ड, युरोपेली मुलुक र अफ्रिका पुर्‍याउन खोजिएको ११ किलो कोकिन र २ हजार २ सय ६० किलो चरेस बरामद भएको थियो । त्यस्तै २०७२र७३ मा ७ केजी कोकिन र १ हजार ३ सय २६ केजी चरेस बरामद भएको थियो । 

Related News