भरतपुरको मंगलपुरमा करिब २ करोड रुपैयाँ लगानीमा फूलबारी एग्रो रिसोर्ट सञ्चालनमा

चितवन, १४ पुस । भरतपुरको मंगलपुरमा करिब २ करोड रुपैयाँ लगानीमा फूलबारी एग्रो रिसोर्ट सञ्चालनमा आएको छ । चारजनाको लगानीमा खुलेको रिसोर्टका सञ्चालकमा राजकुमार गुरुङ, मीनबहादुर थापा, भेषराज गौतम र मोहनराज थापा रहेका छन् । रिसोर्टको कुल क्षेत्र २ बिघा ६ कट्ठा रहेको छ । 
रिसोर्र्ट बीचमा रहेको पोखरीको एक बिघा क्षेत्रफलमा २२ लाख रुपैयाँका विभिन्न प्रजातिका माछापालन गरिएको सञ्चालक भेषराज गौतमले जानकारी दिए । रिसोर्टमा रहेको पोखरीमा २२ लाखवटा माछाका भुरा छाडिएकाले त्यहाँ जाने पाहुनाले आफैँले माछा मारेर खान सक्ने उनले बताए ।
रिसोर्ट सञ्चालनमा आएसँगै २० वटा होमस्टेसमेत निर्माण गर्ने तयारी भएकामा माघ दोस्रो सातासम्म सात होमस्टे सञ्चालनमा ल्याइसकिने सञ्चालकमध्येका मीनबहादुर थापाको भनाइ छ । रिसोर्टमा विवाह, व्रतबन्ध, जन्मदिन तथा शुभकार्यका लागि हलसहित क्याटरिङको व्यवस्था गरिएको उनले बताए ।
थापाले रिसोर्टको आफ्नै बारीमा उत्पादन भएको खाद्यान्न पाहुनालाई खुवाइने जानकारी दिए । बजार व्यवस्थापन निर्देशक भेषराज गौतमले रिसोर्टले प्याकेजमै पर्यटकलाई घुमाउने व्यवस्था मिलाइएको बताए ।
रिसोर्टमा बास बस्ने पाहुनाले डुंगा सयरको व्यवस्था गरिएको छ भने सूचना र प्रविधिमैत्री बनाउन सुविधा थप्दै लगिने उनको भनाइ छ ।
मंगलपुरमा रहेको विद्यालय विश्वप्रकाश माविको जग्गामा रिसोर्ट सञ्चालन गरिएको हो । १० वर्षका लागि एकमुष्ट भाडा तिरेर सञ्चालनमा ल्याइएको मुख्य सञ्चालक गुरुङले बताए । 

Related News