​भृकुटीमण्डपको जग्गामा मन्त्रीको लोभी नजर

काठमाडौं, २७ भदौ । भृकुटीमण्डपको ६० रोपनी जग्गा कौडीको मूल्यमा पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको फनपार्कलाई दिएको समाजकल्याण परिषद्ले बाँकी १ सय ३३ रोपनी जग्गा पनि लिजमा दिने तयारी गरेको छ । समाजकल्याण परिषद्को मुख्य आम्दानीको स्रोतको रुपमा रहेको उक्त जग्गा फनपार्ककै जस्तो कौडीको मूल्यमा लिजमा दिने चलखेल सुरु भएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले भृकुटीमण्डपको उक्त जग्गा लिजमा दिने प्रक्रिया सुरु गर्न लागेकी छिन् । 
मन्त्री कोइराला र उक्त जग्गा भाडामा लिने पक्षबीच पटक पटकको वार्ता र मोलमोलाईपछि उक्त जग्गा लिजमा दिने प्रक्रिया अगाडि बढाउने तयारी मन्त्रालयले गरेको समाचार छ । यसअघि पुष्पकमल दाहाल सरकारका समाजकल्याण मन्त्री कुमार खड्काले सुटुक्क टेण्डर गरी नवराज लम्साल लगायतको संस्थालाई उक्त जग्गा लिजमा दिने निर्णय गर्न परिषदलाई चर्को दबाब दिएका थिए । 
तर परिषद्का कार्यकारी निर्देशक प्रल्हाद पन्तले कौडीको मूल्यमा दिएर भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्ने भएकाले मान्दै नमानेपछि उनको प्रयास असफल भएको थियो । पूर्वमन्त्री खड्काले भृकुटीमण्डपको उक्त जग्गा लिजमा दिएर करोडौं रुपैयाँ कुम्ल्याउन खोजेका थिए । 
परिषद्का कार्यकारी निर्देशक र कर्मचारीलाई समेत थाहा नदिई कुमार खड्काले टेण्डर सूचना सुटुक्क निकालेका थिए । त्यो प्रयास कार्यकारी निर्देशक पन्तका कारण असफल भएको थियो । अहिले पुनः नवराज लम्साल लगायतको समूह महिला मन्त्री आशा कोइरालालाई प्रलोभन दिएर उक्त जग्गा लिजमा लिने चलखेलमा लागेको छ । मन्त्री कोइराला पनि यो समूहको प्रलोभनमा परी उक्त जग्गा लिजमा दिन सहमत भइसकेको समाचार छ ।
२०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि काठमाडौंमा खाली जग्गाको आवश्यकता खड्किएको थियो । तर काठमाडौंको बीचमा भएको खाली जग्गा पनि ब्यापारीलाई कौडीको मूल्यमा भाडामा दिएर शेरबहादुर देउवाका मन्त्रीहरु  कमाउधन्दामा लागेका छन् । देउवा सरकारका मन्त्रीहरु राजनीतिक दलका कार्यक्रम गर्नका लागि खाली रहेको त्यही भृकुटीमण्डप पनि कौडीको मूल्यमा लिजमा दिएर करोडौं कमिसन लिन उद्यत भएका छन् । समाज कल्याण परिषद्का कार्यकारी निर्देशक प्रल्हाद पन्तसँग भृकुटीमण्डपको जग्गा लिजप्रकरणबारे प्रतिक्रिया माग्दा उनले प्रवक्ता बोधराज दाहालसँग लिनु भने । प्रवक्ता दाहालले भृकुटीमण्डपको १ सय ३३ रोपनी जग्गा लिजमा दिनका लागि पूर्वमन्त्री कुमार खड्काको पालामा टेण्डर भएको जानकारी दिए । उनले भने– त्यतिबेला टेण्डर हुँदा ५ वटा प्रस्ताव परेका थिए । तीमध्ये ३ वटाले प्रस्ताव दर्ता गरेका थिए । तर रितपूर्वक नभएकाले टेण्डर रद्द भयो, दाहालले भने, अहिले पुनः लिजमा दिने चर्चा सुनिएको हो, तर प्रक्रिया सुरु भएको छैन ।

Related News