​बधाई पाए, जिम्मेवारी पाएनन्

काठमाडौं, १४ कात्तिक । गत हप्ता दुई वटा समाचारले राजनीतिमा तरंग ल्यायो । पहिलो गगन थापा कांग्रेसको प्रवक्ता बनेको र दोस्रो मोहन बस्नेतले गृहमन्त्रीको जिम्मेवारी पाएको । तर ती दुवै फेक समाचार थिए । सामाजिक सञ्जालको जमानामा फेक समाचार भए पनि त्यसले ठूलै तरंग ल्यायो । फेसबुक, अनलाइनभरि यो समाचार भाइरल बन्यो ।
दुवै समाचार सम्बन्धित नेताले नै बाहिर ल्याएका थिए । तर, दुवै जना हिस्स परेका छन् । किनकि समाचारमार्फत् स्वार्थ पूरा गर्ने उनीहरुको चाहना पूरा हुन सकेन । 
गगनले चुनावको मुखमा पार्टीको प्रवक्ता हुने प्रयास नगरेका होइन । एकपटक देउवाले उनलाई आश्वासन पनि दिएका थिए । सोही आधारमा गगनले आफू प्रवक्ता हुने भन्दै प्रचार गरे । जुन कुरा कांग्रेसका नेताहरुले नै बिश्वास गरेका थिएनन् । 
किनकि कांग्रेसको बिधानअनुसार उनी प्रवक्ता हुन योग्य छैनन् । प्रवक्ता हुनका लागि पदाधिकारी वा प्रत्यक्ष निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान छ । दुवै हिसाबले गगन अयोग्य छन् । किनकि उनी मनोनित केन्द्रीय सदस्य मात्र हुन् । महामन्त्री लडेका उनी पराजित भएपछि उनी केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । थापा प्रवक्ता भएको भन्दै कांग्रेसकै नेता विश्वप्रकाश शर्मालगायतले सामाजिक सञ्जालमा बधाई समेत दिएका थिए । तर, थापा अहिले हिस्स बनेका छन् । कांग्रेसमा प्रचार–प्रसार विभागको जिम्मेवारी शेरबहादुर देउवाले बालकृष्ण खाँडलाई दिइसकेका छन् । खाँडसँगै प्रकाशशरण महत र एनपी साउत प्रवक्ताको दौडमा छन् । गगनलाई आफ्नो गुटमा ल्याउन मात्र देउवाले उनलाई प्रवक्ताको आश्वासन दिएका हुन् । 
त्यस्तै सञ्चारमन्त्री मोहन बस्नेतले पनि गृहमन्त्रीका रुपमा निकै बधाई खाए । देउवाले बस्नेतलाई गृहमन्त्रालयको जिम्मेवारी दिएको भन्दै समाचार लेखाए । तर, उनले पनि बधाई पाए, जिम्मेवारी पाएनन् । रमाइलो के भने फेक समाचारकै आधारमा दर्जनौं प्रहरीहरुले भने फोन गरेर बस्नेतको चाकडी गर्न भ्याइसकेका थिए । बस्नेतले पनि गृहका लागि प्रयास गरेका थिए । तर, जिम्मेवारी नै नपाई प्रचार गरेको भन्दै देउवाले उनलाई हप्काएको स्रोत बताउँछ । 

Related News