​गणेशमान, कम्युनिष्ट र जनआन्दोलन

​माथवरसिंह बस्नेत

माथवरसिंह बस्नेत  । हिजोआज कांग्रेस समर्थक बुद्धिजीवीहरु फेरि कोर्स करेक्सनका कुरा उठाउन थालेका छन् । त्यस क्रममा उनीहरु इतिहासकै पुनर्लेखनको आग्रह पनि गरिरहेका छन् । उनीहरु २०४६ सालको जनआन्दोलनमा कम्युनिष्टसंग सहकार्य गरेर गणेशमान सिंहले अक्षम्य गल्ती गरेकाले मुलुक अहिलेको कम्युनिष्टमय नेपाल व्यहोर्न वाध्य भएको निष्कर्ष निकालि रहेका छन् । त्यसो गरेर उनीहरु यसबीचको छोटो अवधिमा कम्युनिष्टहरुले हासिल गरेको चमत्कारिक उपलब्धी र नेपाली कांग्रेसमा आएको सैद्धान्तिक विचलन, आचार र व्यवहारमा देखिएको विकृति र विसंगतिलाई ढाकछोप गर्ने मात्र होइन, त्यस्तो नाटकीय कलावाजीका पर्दा पछाडिका वास्तविक निर्देशकलाई उन्मुक्ति दिने असफल प्रयास पनि गरिरहेका छन् । उनीहरु सत्ताको स्वर्ग लुटिएकोमा पुर्परोमा पश्चाताप प्रकट गर्दै भनिरहेका छन्– बीपी कोइरालाको कम्युनिष्टसंग मिलेर कुनै हालतमा आन्दोलन नगर्नु भनेको चेतावनीलाई बेवास्ता गरेर सिंहले जनआन्दोलनमा कम्युनिष्टहरुलाई सामेल गराएकाले प्रजातन्त्रको पुनस्र्थापनापछि उनीहरु कांग्रेसलाई उछिन्ने शक्ति बन्न सफल भएका हुन् । तसर्थ कम्युनिष्टहरुलाई अहिलेको स्थान र स्थितिमा उकाल्न कोही एक व्यक्ति जिम्मेदार छन् भने सिंह नै हुन् । त्यसैले कांग्रेसको दुर्गति र कम्युनिष्टहरुको उन्नतिको अपजश र जश दुवै गणेशमान सिंहलाई नै जान्छ । 
त्यसो भन्नेहरुलाई गणेशमान सिंहकै थेगो प्रयोग गरेर ओठे जवाफ माग्ने हो भने त्यसको स्वरुप यस्तो हुन्छः– २०४६ सालको जनआन्दोलनको आव्हान, नेतृत्व र संचालन, गल्ती थियो भने के पंचायत व्यवस्ता नै ठीक थियो त माने...? 
सात सालको क्रान्तिपछि उत्ति बेलाका कम्युनिष्टहरुले नारा लगाएका थिए– दिल्ली सम्झौता धोका हो, अपूर्ण क्रान्ति मान्दैनौं । त्यसको जवाफमा सवाल गर्ने गणेशमान सिंहको भाषणको थेगो थियो– त्यसो भए राणा शासन फर्काउने त माने... ? 
अहिले त्यही सवाल, कथित् बुद्धिजीवीहरुले गणेशमान सिंह र २०४६ को जनआन्दोलनमाथि उठाउन थालेकाले त्यभित्रको अन्तर्य खोतल्न पनि उनीहरुको सवालमाथि सवाल उठाउनै परेको हो । उनीहरुले चाहेको करेक्सन के हो ? कहाँबाट त्यो शुरु भएर कहाँ पुगेर अन्त्य हुन्छ ? कोही माग्नेले ढुङ्ग्रो किन लुकाएको ? 
निश्चय पनि ०४६ सालको संयुक्त जनआन्दोलन गणेशमान सिंहको आव्हान र नेतृत्वमा भएको हो ।  उहाँको आव्हान र नेतृत्व नभएको भए, न त्यो जनआन्दोलन हुनसक्थ्यो, न सफल भएर प्रजातन्त्रको पुनस्र्थापना नै संभव थियो । यद्यपि उहाँ न कुशल संगठनकर्ता, न बौद्धिक प्रतिभा, न त आम जनतालाई लठ्ठ तुल्याउने तार्किक एवं प्रखर वक्ता नै हुनुहुन्थ्यो, तथापि उहाँको जनता र प्रजातन्त्रका प्रतिको निष्ठापूर्ण समर्पण र संघर्षविना अधिकार प्राप्त हुँदैन भन्ने मूल मन्त्रप्रतिको चट्टानी अडानले कांग्रेसका नेताको कदबाट माथि उठाएर सर्वमान्य नेताको शिखरमा स्थापित गरेको थियो । कहिलै कसैसंग नझुक्ने र जनतालाई कहिलै धोका नदिने छविले उहाँप्रति सबैको अविश्वासको हदसम्मको विश्वास कायम भएको थियो । त्यही विश्वासले उहाँलाई नेपाली राजनीतिका लिजेन्ट बनाएको थियो । 
राजाको सक्रिय नेतृत्वको पंचायत २९ वर्ष टिक्नुका पछाडि राजा महेन्द्रको कांग्रेसका विरुद्ध कम्युनिष्ट र कम्युनिष्टका विरुद्ध कांग्रेसलाई प्रयोग गर्ने र ती दुइथरि शक्तिलाई कहिलै मिल्न नदिने नीतिको सफलताका कारण थियो । त्यो वास्तविकता सबैले बुझेका थिए तर त्यसलाई उल्टाएर आफ्नो पक्षमा प्रयोग गर्ने सामथ्र्य र क्षमता कसैले प्रदर्शन गर्न सकेका थिएनन् । सबैले सुविधा अनुसार विदेशी गुहार्ने काम त गरे तर आफ्नै देशभित्रका कांग्रेस र कम्युनिष्ट दुवै शक्तिलाई मिलाएर राष्ट्रिय शक्ति निर्माणको पहल भने गर्न सकेनन् । एक अर्काप्रतिको शंका र अविश्वासले पनि त्यसअघि त्यस्तो वातावरण बन्न सकेको थिएन । गणेशमान सिंहलाई त्यो ऐतिहासिक काम सम्पन्न गर्ने अवसर उपलब्ध भयो । उहाँको नेतृत्वले २०१७ सालमा गुमेको प्रजातन्त्र पुनस्थार्पित मात्र भएन, नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहीत भएको पहिलो पल्ट घोषणा गराउने संविधान पनि निर्माण भयो ।
त्यो मिसन सहज भने थिएन । जनआन्दोलन, त्यो पनि कम्युनिष्टसंग मिलेर गर्ने ? त्यो राष्ट्रिय एकता र मेलमिलाप नीतिको ठीक उल्टो दिशा हो, त्यसैले त्यो बाटो लाग्नु भनेको बीपी कोइरालाको चिन्तनलाई चटक्क छाडेर कम्युनिष्टहरुलाई अंगालो हाल्न जानु हो भन्ने तर्क जोडदार ढंगले उठेको थियो । तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला त्यो खेमाका प्रमुख प्रवक्ता थिए । उता कम्युनिष्टहरु दुई दर्जनभन्दा बढी समूहमा विभक्त थिए । एकले अर्को समूहका नेतालाई गद्धार घोषित मात्र गरेका थिएनन्, पानी बाराबारको स्थिति थियो । उनीहरु गणेशमानजीलाई अलगअलग भेट्दा उहाँको नेतृत्व स्वीकार गर्थे तर कम्युनिष्ट पार्टीकै अर्को समूहका नेताको अन्तरगत काम गर्न साफ इन्कार गर्थे ।  त्यस्ता विपरीत धु्रवका शक्तिका अप्ठेरालाई समेत सल्टाई दिएर सबैलाई समेट्नु र उनीहरुलाई एकसाथ आन्दोलनमा उतार्नु दौडेर सगरमाथा चढ्नुजस्तै दुसाध्य थियो । ती सबै अप्ठेराका बीचमा पनि एउटा सकारात्मक पक्षचाहिँ के थियो भने आन्दोलन अपरिहार्य छ र गणेशमान सिंहको सर्वस्वीकार्य नेतृत्वमै त्यो हुनुपर्छ भन्नेमा सबै एकमत थिए ।
जब कम्युनिष्ट नेताहरु आपसमा मिलेर एकजुट हुन तयार भएनन्, बेग्लाबेग्लै वार्ता गर्नुपर्ने स्थिति खडा भयो, तब गणेशमान सिंहले मोर्चा बनाउने सुझाव दिनु भयो । उहाँले अर्को शर्त पनि अघि सार्नु भयो, त्यो हो मोर्चाले बहुदलीय व्यवस्थाप्रतिको प्रतिवद्धता पनि सार्वजनिक गर्नुपर्छ । त्यसपछि कांग्रेसले त्यही मोर्चासंग मात्र वार्ता गर्नेछ, अलगअलग गर्दैन । त्यसपछि शुरुमा विभिन्न सात समूह मिलेर वाम मोर्चा गठन भयो । त्यसको अध्यक्ष साहना प्रधान बनिन् । त्यसपछि त्यसमा अरु घटक पनि थपिंदै गए । कांग्रेसले त्यही वाम मोर्चासंग मिलेर संयुक्त आन्दोलन गरेको हो र त्यसको मूल उद्देश्यचाहिँ प्रजातन्त्रको पुनस्र्थापना थियो । वाममोर्चाका उतिबेलाका दस्तावेज त्यसका साक्षी छन् । 
त्यही मोर्चा गठन गर्न लगाउने ऐतिहासिक कामलाई उहाँका आलोचकहरुले गणेशमान सिंहको ठूलो गल्ती भनेर आलोचना गर्न थालेकाले त्यो आन्दोलन र त्यसमा कम्युनिष्टहरुको भूमिकाका बहुआयामिक पक्षमाथि सविस्तार चर्चा हुनु परेको हो । त्यो क्रम जारी रहनेछ । 

Related News