​संगीतकार पराजुली अमेरिकामा सम्मानित

काठमाडौं, ४ चैत । गायक तथा संगीतकार गणेश पराजुली अमेरिकामा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले अमेरिकामा हालै एक कार्यक्रम आयोजना गरी संगीतकार पराजुलीलाई सम्मान गरेको हो । 

च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले पराजुलीलाई नेपाली गीत–संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाई सम्मान गरेका थिए । पराजुलीले आफ्ना नयाँ तथा पुराना गीत गाएका थिए । कार्यक्रममा अनेसासका पूर्वअध्यक्ष गीता खत्री, पूर्वउपाध्यक्ष राम खत्री, मेनका रोकालगायतको उपस्थिति थियो ।

गायिका यशोदा पराजुलीसँग दम्पती नै सांगीतिक क्षेत्रमा रहेका उनीहरूका ‘दिन ढल्यो अँधेरी रातमा’, ‘सुन माया जाँदै छु म टाढा’, ‘तिमीलाई अपनाऊँ भनेर’, ‘आज फेरि तिम्रो’लगायत थुप्रै गीत चर्चित छन् । इलामबाट सांगीतिक यात्रा थालेका गणेशले यशोदासँगको सहयात्रामा ‘गाउँको माया’ २०५६, ‘सहयात्रा’ २०६२ र ‘फुर्सदमा’ २०६८ गरी तीनवटा एल्बम निकालिसकेका छन् । पराजुलीले डेढ सयजति गीतमा स्वर तथा संगीत दिएका छन् । लामो समयदेखि हङकङ–नेपाल गर्दै आएका उनी फागुन तेस्रो साता अमेरिका पुगेका हुन् । उनले आफू अमेरिकामा सांगीतिक कार्यक्रम तथा भेटमा व्यस्त रहेको सुनाए । 

Related News