‘गायकगायिका खोज्न बाहिर जानुपर्दैन’


‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा’ बोलको गीतबाट सांगीतिक दम्पती गणेश पराजुली र यशोदा पराजुलीलाई सम्झिरहन्छन् श्रोता÷दर्शक । यति मात्र होइन, ‘सुन माया जाँदै छु म टाढा’, ‘तिमीलाई अपनाऊँ भनेर’, ‘आज फेरि तिम्रो’लगायत थुप्रै चर्चित गीतका यो जोडी हङकङमा बस्दै आएको छ । इलामबाट सांगीतिक यात्रा थालेका गणेशले यशोदासँगको सहयात्रामा ‘गाउँको माया’ २०५६, ‘सहयात्रा’ २०६२ र ‘फुर्सदमा’ २०६८ गरी तीनवटा एल्बम निकालिसकेका छन् । डेढ सयजति गीतमा स्वर तथा संगीत दिएका गणेश पराजुलीसँग काठमाडौंमा सचित राईले गरेको कुराकानीः

–तपाईंहरू (गायिका यशोदा पराजुली) लामो समयदेखि हङकङमा बस्दै आउनुभएको छ । हङकङमा अल्झाउने त्यस्तो के छ ?
हङकङमा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्छ । उहाँहरूसँगको सांगीतिक सामीप्य, थोरै रोजीरोटी, आफ्नो देशबाट नजिक पनि– यही कारण हङकङ बसाइ भइरहेको छ ।

–हङकङमा पनि गाएरै बस्न सक्ने अवस्था रहेछ होइन त ?
हो । हङकङमा सांगीतिक कार्यक्रम धेरै भइरहन्छन् । त्यसका साथै फुर्सदमा अरू काम पनि गर्दा राम्रै उपलब्धि हुन्छ । 

–नेपाल छाड्नै पर्ने कारण के थियो ? यहाँ संगीत क्षेत्रमा भविष्य नदेखेर हो ?
हामीले नेपाल कहाँ छाडेको छ र ? म त धेरै समय नेपाल नै बस्छु । समय–परिस्थितिअनुसार मिलाएर म नेपाल र बाहिर बस्ने गर्छु । खासमा नेपालमा पाएको सांगीतिक उपलब्धिकै कारण हामी विदेश जान सकेका हौं । नेपालमा गीतसंगीतको क्षेत्रमा चर्चित नभइदिएको भए मैले सांगीतिक कार्यक्रमकै लागि विदेश जाने अवसर कसरी पाउँथें र ! मैले त नेपालमै आफ्नो सांगीतिक करिअर देखेको छु ।

–नेपाली संगीत उद्योगलाई प्रवासी नेपालीले धानेका छन् भन्छन्, के लाग्छ तपाईंलाई ? 
केही हदसम्म यो कुरा सही पनि हो । यद्यपि, नेपाली गीतसंगीत प्रवासी नेपालीबाटै पूर्णरूपमा धानिएको हो भन्न मिल्दैन । यहाँ पानी पर्दा विदेशमा छाता ओढ्ने मात्र हो ।

–तपाईं त दम्पती नै संगीत क्षेत्रमा हुनुहुन्छ, अप्ठेरा÷सजिला अनुभव के छन् ? 
हामीलाई त धेरै सजिलो भएको छ । म संगीत गर्छु, गायकगायिका खोज्न बाहिर जानुपर्दैन । संगीत साधना पनि सँगै गरिन्छ, सिर्जनाको राम्रो÷नराम्रो पक्षमाथि घरमै विवेचना गरिन्छ । यसले गर्दा दुवै जना संगीत क्षेत्रमा हुँदा सजिलो हुने महसुस भएको छ । अप्ठेरोको त कुरै छैन ।
 
–यो सांगीतिक जोडीको भेटचाहिँ कहाँबाट अघि बढ्यो ?
सांगीतिक कार्यक्रम गर्ने सन्दर्भमा काठमाडौंमा हाम्रो पहिलो भेट भएको थियो । त्यसपछि सहयात्रा निरन्तर जारी छ । 

–तपाईंहरू दुई जनामा गायन कलामा अब्बल ?
हामी दुवै जना संगीत सिकेर यस क्षेत्रमा लागेका हौं । यशोदाले भातखन्डे संगीत विद्यापीठ लखनउ भारतबाट गायनमा बी. म्युज र मैले प्रयाग संगीत समिति इलाहवादबाट बी. म्युज गायनमा गरेका छौं । हामी अझै निरन्तर सांगीतिक अभ्यासमा छौं । को अब्बल भन्ने कुरा त हामीले भन्ने होइन, श्रोता÷दर्शकले मूल्यांकन गर्ने हो ।

–नेपाली संगीतउद्योग कसरी अघि बढिरहेको ठान्नुहुन्छ तपाईं ?
गीतसंगीतमा अहिले धेरै व्यवसायीकरण भएको छ । यस क्षेत्रमा लाग्ने कलाकारहरूलाई अहिले आफ्नो जीवन धान्न धेरै सहयोग पुगेको छ । यसको भविष्य उज्ज्वल नै छ । 

–तपाईं त निजामती क्षेत्रमा रहँदा–रहँदै संगीतमा लाग्नुभएको रहेछ, कसरी समय मिलाउनुभयो ?
म बेलुका–बेलुका रेस्टुरेन्टमा गजल गाउँथें । यसले मलाई सांगीतिक रियाजको काम गर्यो । फेरि म बिहान घरमै रियाज गर्थें । यसले गर्दा मलाई आफ्नोपनमा ढाल्न धेरै सहयोग पुग्यो । कार्यालय समयबाहेक पनि पनि म्युजिक स्कुलमा आफ्नो भोकल ट्रेनिङका लागि जान्थें । लगाव भएपछि समय त मिलिहाल्छ नि ।

–अहिले दुवै जना नेपालमा हुनुहुन्छ, अब प्रवास छाड्नुभएको हो ?
विदेश आउने–जाने क्रम रहिरहन्छ ।

–अबको योजनाचाहिँ के छ ? 
अब बढी समय नेपालमै रहेर गीतसंगीतलाई दिने योजना छ । ‘सहयात्रा २’ निकाल्ने तयारी छ । यसमा यशोदासँग नै सहयात्रा रहनेछ ।




 

Related News