​गरिबका हरिहर

बिन्दिया प्रधान । गएको हप्ता अर्थात् भाद्र २१ गते बुधबार स्वर्गीय डा.हरिहरदेव पन्तको दोस्रो स्मृति दिवसमा आयोजना गरिएको एक कार्यक्रममा उहाँलाई श्रद्धाञ्जली अर्पण गरियो । सो अवसरमा डा. हरिहरदेव पन्त स्मृतिग्रन्थको लोकापर्ण गरिएको थियो । जुन स्मृति ग्रन्थमा मैले पनि डा. पन्तबारे ‘गरिबका हरिहर’ भन्ने शीर्षकमा लघुवित्त क्षेत्रमा उहाँको भूमिकाको स्मरण गरेर उहाँलाई श्रद्धाञ्जली अर्पण गरेको थिए । आज त्यसैको सम्पादित अंश यो स्तम्भमा प्रस्तुत गरेको छु । 
नेपालको बैंकिङ वित्तीय क्षेत्रमा डा.हरिहरदेव पन्त एक चीरपरिचित नाम हो । नेपाल राष्ट्र बैंकमा लामो अनुभवसँगै डेपुटी गभर्नरसम्म भई अवकाश लिएपछिको झण्डै २५ वर्षे लघुवित्तको यात्रामा लाखौं नेपाली गरिब महिलाहरुलाई उद्यमी महिलाहरुमा रुपान्तरण गर्न सक्नु नै डा.पन्तको उल्लेखनीय योगदान रह्यो । कार्यक्षेत्रमा सक्रिय हुँदाहुँदै जटिल रोग लागेको थाहा भएको करिब आठ महिनामा नै २०७२ भाद्र २१ गते उहाँको निधन भएसँगै नेपालको लघुवित्त क्षेत्रले एक कर्मठ, पाको, अनुभवी र जुझारु नेतृत्व गुमायो । 
नेपाल राष्ट्र बैंकमा देशकै आवश्यक्ता बुझ्दै अनुसन्धान विभाग, बैंक ब्यवस्था महाशाखा तथा विकास वित्तसम्बन्धी नीतिगत निर्णय लिने उच्चपदमा रही कार्य गर्नुभयो । बास्तवमा, केन्द्रीय बैंकको मुख्य काम आन्तरिक र बाह्य स्थायित्व कायम राख्ने हो । तर पनि, नेपालजस्तो अविकसित र गरिबीको संख्या धेरै भएको देशको आर्थिकवृद्धिमा योगदान पु¥याउन बैंकिङ क्षेत्रमार्फत् बित्त परिचालनको आवश्यक्ता छ भनेर सरकार तथा राष्ट्र बैंकको उच्च ब्यवस्थापनले बुझ्दै आएको बिषय सम्झने हो भने र त्यो बुझ्ने काममा डा.हरिहरदेव पन्तको नाम नलिने हो भने सायद त्यो अधुरो हुन जान्छ । विकासको लागि वित्त परिचालन गर्न बनेका नीतिलाई कार्यान्वयनमा ल्याउन वाणिज्य बैंकहरुको आवश्यक्ता र देशको अवस्थाप्रति बैंकहरुको पनि योगदान रहनुपर्ने नीतिअनुसार सघन बैकिङ, प्राथमिकता क्षेत्रमा अनिवार्य लगानीको प्रावधान, विपन्न वर्ग कर्जा अनि बंगलादेशको ग्रामीण मोडेलको अनुसरण गर्दै देशका पाँच विकास क्षेत्रमा पाँच ग्रामीण बैंकको स्थापना आदिमा डा.पन्तको संलग्नताका कुरा पर्दछन् । 
छिमेकी मुलुक बंगलादेशका प्रोफेसर मोहम्मद युनुसले आफूले पढेको अर्थशास्त्रका सिद्धान्तले केही नभएको अनि बैंकहरुले धितो लिएर मात्र कर्जा दिने गरेकोले अत्यन्त गरिब महिलाहरुको हितमा कसैले कुनै काम गर्न नसकेको देखेर उनीहरुको तत्काल आवश्यक्तानुसारको नितान्त आफ्नै खालको स–सानो रकमको बचत संकलन, तालिम तथा कर्जा वितरण, बिमा अनि रकम रकमान्तर जस्ता साना तर तुरन्तै प्रतिफल दिने खालको कार्यक्रम शुरु गरे । यस कार्यक्मको नाम उनले ‘लघुवित्त’ राखे । ‘लघु’ अर्थात् एकदमै सानो अनि ‘बित्त’ अर्थात आर्थिक क्रियाकलापमा मौद्रिक पहँुचको मूल धार । यो नितान्त आफ्नै खालको वित्तीय प्याकेजको प्रयोगले ती असाध्यै बिपन्न महिलाहरुको जीवन नै कायापलट हँुदै गयो । प्रो.मोहम्मद युनूसको त्यो लघुवित्त कार्यक्रम देशमा तथा देश बाहिर पनि अन्तर्राष्ट्रियरुपमै लोकप्रिय हँुदै गयो । भीषण गरिबीले आक्रान्त दक्षिण एशियामा त अझ प्रो. मोहम्मद युनूसको यो पहल बरदान नै साबित भयो । उनले यो प्रयासका लागि नोबेल पुरस्कार समेत पाए । 
उनै युनूसबाट अति प्रभावित भई डा. पन्तले नेपालमा पनि रुपन्देहीको सिक्टहनमा २०४७ मा निर्धन उत्थान नामको गैरसरकारी संस्थाको स्थापना गरे । पछि केही गैरसरकारी संस्थाहरु र सहकारी संस्थाहरुलाई पनि सीमित बैंकिङ कारोबारको लाइसेन्स दिने सरकारी नीति नै बन्यो । सोहीअनुसार निर्धनले देशको गरिबी र त्यस क्षेत्रमा बित्तको प्रवाहमार्फत् गरिब महिलाहरुको उत्थान गर्ने लघुवित्तीय सोचको शुरुवातले नै निर्धन र डा. हरिहरदेव एकआपसमा एकाकार भए र आज नेपालको लघुवित्त क्षेत्रमा त्यसको विस्तारीत स्वरुपको निर्थन उत्थान बैंक एक प्रतिष्ठित संस्था बन्न सकेको छ ।
त्यस समय, जतिबेला डा.पन्तले निर्धन उत्थान संस्था स्थापना गरेका थिए, नेपालमा गरिबीको संख्या जनसंख्याको करिब आधा भागसम्म ब्याप्त थियो । गरिबीको संख्या प्रतिशतको आधारमा ४९, ४२, ३० हँुदै हाल २५ मा ओर्लेको भनिएको छ । तर हाल भने बिगतको बिनासकारी भूकम्प, पहिरो र यो सालको त्यस्तै ठूलो बाढीको प्रकोपले गरिबी फेरि बढेको हुनसक्ने अनुमान गरिएको छ । जे होस, नेपालमा बिगतमा भन्दा गरिबी घटेको छ । यसरी गरिबी घट्नुको कारण हेर्ने हो भने करिब दुई दशकयताको अवस्थामा पहिलो नम्बर वैदेशिक रोजगारीले भित्र्याएको रेमिटेन्स र दोस्रोमा लघुबित्त संस्थाहरुको प्रयासलाई सम्झनु पर्ने हुन्छ । गरिबी घट्नुमा लघुबित्तको योगदानको कुरा गर्दा थाहा छैन यदि प्रो.युनूसले लघुबित्तको सिद्धान्त प्रतिपादन नगरेको भए र डा. हरिहरदेवले यो प्रणालीलाई अझ सफल पार्न निर्धनमार्फत् संस्थागत प्रयास नगरेका भए उनीहरुकै अनुसरण गर्दै नेपालको निजी क्षेत्र समेत आकर्षित हुँदा संख्यात्मक विकासमा फड्को मारेको नेपालको आजको लघुबित्तले यत्तिका सफलता असफलताका आरोह अबरोह पार गथ्र्यो या गर्थेन । अनि आजका आधुनिक नयाँ देशी बिदेशी लघुबित्तबिज्ञहरुका लघुबित्त सम्बन्धी सोधखोज निस्कन्थे कि निस्कँदैनथे भन्न सकिँदैन । किनभने भइसकेका उपलब्धिका बिभिन्न कार्यक्रमहरु पच्छ्याउनु, अध्ययन अनुसरण गर्नु र सल्लाहा दिनु सजिलो काम हो । तर प्रतिपादन नै गर्न, त्यसलाई कर्मथलोमा नै गई प्रयोग गर्न र अझ त्यसलाई दिगो रुपमै टिकाउन गरिने अथक प्रयासहरु भने सोधखोज गर्नु जस्तो सजिलो पक्कै थिएन होला र छैन नै ।
उहाँको प्रयास, प्रेरणा अनि सम्बद्ध सबै सरोकारवालाहरु र सरकारी निकायहरुसंग जहिले पनि लघुबित्त क्षेत्रको लागि पहल गर्ने उहाँको योगदान लघुवित्त क्षेत्रले सम्झिइनै रहने छ । नेपालमा लघुवित्तको क्षेत्रमा धेरै राम्रा कामहरु भएका छन् । आज २० लाखको हाराहारीमा नेपालका गरीब महिलाहरुले लघुवित्तीय सेवा पाइरहेका छन । अचानक उहाँको निधनको खबर सुन्दा म अति नै भावुक भएकी थिएँ । नेपालको लघुवित्त क्षेत्रले एउटा सक्रिय र जुझारु अभिभावक गुमायो भन्ने लागेको थियो र भएको पनि त्यस्तै छ कि डा. पन्तको अभाव हाल यो क्षेत्रमा खट्किएको छ ।
डा. पन्तकोे श्रद्धाञ्जली स्वरुप निर्धन संस्था तथा उहाँको परिवारको पहलमा उहाँको नाममा डा. हरिहरदेव पन्त फाउण्डेसनको स्थापना, स्मृति ग्रन्थ निकाल्ने, अर्थशास्त्र तथा ग्रामीण विकास विषयमा स्नातकोत्तर तहका उत्कृष्ट विद्यार्थीहरुलाई एकेडेमिक एक्सिलेन्स पुरस्कार, आर्थिक पत्रकारिता पुरस्कार, लघुउद्यमशील पुरस्कार प्रदान गरिने ब्यवस्था गरिएको छ । परिवार र उहाँको संस्थाको यो पहल सह्राहनीय छ । तर डा. पन्त जस्तो ब्यक्तित्व जसले देशको आर्थिक अवस्थालाई नजिकबाट नियाल्दै र संवेदनशील हुँदैै बैंकिङ प्रवद्र्धन, बित्तको पहुँच तथा परिचालन अनि गरिबहरुलाई स–सानो बचत, कर्जा, सुरक्षण, तालिम, विप्रेषण र उद्यमशीलताजस्ता सम्पूर्ण बित्तीय प्याकेज समेटिएको लघुबित्तमार्फत् देशको आर्थिक विकासमा योगदान र गरिबी घटाउने अथक प्रयासमा नै जीवन बिताउनु भयो उहाँको कदरस्वरुप राज्यले नै लघुबित्त क्षेत्रमा उहाँको नाममा केही गर्न सकेमा मात्र उहाँको साँच्चैकै सम्मान हुन सक्थ्यो । अनि लघुबित्त क्षेत्रका सरोकारवाला, नियामक निकाय सबैले लघुबित्त क्षेत्रलाई गम्भीरतापूर्वक र सकारात्मक तवरले हेर्न सकेदेखि डा. हरिहरदेव पन्तको आत्माले साँच्चैनै शान्ति पाउँथ्यो ।

Related News