​गौचन हत्यामा सलग्न थप तीन पक्राउ

काठमाडौं, २८ पुस। 
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन्। घटनामा सहयोगी भूमिका निभाउनेहरु समेत पक्राउ परेका छन्। 
महानगरीय प्रहरी परिसर काठमाडौंले राजकुमार साह, सूर्य बाजी र श्याम गुप्तालाई पक्राउ गरेको छ। उनीहरुमध्ये केहीले अभियुक्तहरुलाई सिमकार्ड दिएका थिए। केही पैसाको लेनदेनमा संलग्न भएको प्रहरीले जनाएको छ। 

उनीहरु समातिएसँगै पक्राउ अभियुक्तको संख्या ११ पुगेको छ। घटनामा संलग्न ८ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो। 
घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित ८ जना पहिले नै पक्राउ परिसकेका छन्। छानबिन समितिले हत्यामा प्रत्यक्ष संलग्न राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई पक्राउ गरिसकेको छ। त्यस्तै, घटनामा प्रयोग भएको पेस्तोलसहित बसन्त थेवे र धनराज योङहाङलाई प्रहरीले यसअघि नै पक्राउ परिसकेका छन्। 

घटनामा सहयोगी भूमिका खेल्ने थप तीन जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए। योजनाकार समूहमा रहेका मनोज पुन, गंगा लिङदेन, श्यामबहादुर गुम्बे फरार छन्। त्यस्तै, समिरका निकट व्यक्तिहरु रोशन बुढाथोकी र लोप्साङ लामा लगायत पनि फरार छन्। उनीहरुलाई फरार अभियुक्त बनाएर मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Related News