​स्थानीय तह : गाउँ गाउँमा विवाद

दृष्टि न्यूज

जीवन डाँगी, रोल्पा २५ पुस । नयाँ संविधान बन्यो । संविधानले स्थानीय तहको समेत परिकल्पना ग¥यो । नागरिकमा स्थानीय सरकारबाट समृद्धिको अपेक्षा गरेका थिए । तर नागरिकको भावनाविपरीत स्थानीय तहहरुले आफूखुशी काम गरेकोप्रति उनीहरुको तीब्र गुनासो छ ।
रोल्पा जिल्लाका चार स्थानीय तहमा गाउँपालिको नाम र केन्द्रका विषयमा निकै विवाद भयो । त्रिवेणी, सुकीदह, सुर्वणावती र दुईखोली गाउँपालिकामा नाम र केन्द्रका कारण बिबाद भयो । त्रिबेणी गाउँपालिका एमालेले जितेको छ । यस गाउँपालिकामा जुगाँर र त्रिवेणी कुन ठाउँमा केन्द्र भन्ने बिषयमा बिबाद उत्पन्न भयो । दुबै भेगको प्रतिनिधित्व हुने तरिकाले एमाले नेता गोकुल घर्तीको बिशेष पहलमा बिबाद भने समाधान भएको छ । केही कार्यालय जुगाँर र केही त्रिबेणीमा राख्ने सहमति भएपछि उत्पन्न बिबाद समाधान भएको त्रिबेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जनाए ।
त्रिबेणी गाउँपालिका एमालेले जिते पनि सुकिदह, सुर्वणावती र दुईखोली भने माओवादीले जितेको छ । दुईखोली गाउँपालिका भन्दा, सुकिदह, सुर्वणावतीमा बिबाद भने कमै देखिन्छ । दुईखोली गाउँपालिकाको नाम परिवर्तन गरी सहिद नेबबहादुर केसी परिवर्तनको नाममा परिवर्तन गाउँपालिका नाम राख्ने निर्णय गाउँसभाबाट पारित  भएको अध्यक्ष निमकान्त डाँगीले बताए । यस गाउँपालिकामा कांग्रेस र एमालेले कुनै पद जितेका छैनन् । गाउँपालिकाको नाम परिवर्तनका सन्दर्भमा कुनै पनि गुनासो नआएको स्रोतले बतायो ।
विवाद त यतै छ
त्रिवेणीमा उत्पन्न बिबाद समाधान भयो । दुईखोलीमा कमै बिबाद छ । नाम परिवर्तन गरेकोमा कुनै गुनासो नआएको प्रतिनिधिहरुको भनाइ छ । सुकिदहमा नाम र केन्द्र परिवर्तन गर्ने गाउँसभाको बहुमत संख्याबाट पास भयो । नाम परिवर्तन गरि सहिद गंगा वली र देबराज वलीको नामबाट – गंगादेब गाउँपालिका राख्ने र केन्द्र सानडाँडा सार्ने निर्णय भएको छ । यता सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरि सहिद किम बहादुर थापाको नामबाट – सहिद सुनिल गाउँपालिका नामाकरण गर्ने निर्णय भयो । गाउँसभाको प्रस्ताबमा कांग्रेस निकट प्रतिनिधिहरुले भने आपति जनाएका छन । उनीहरुले आन्दोलन समेत गरे ।
बिबाद किन भयो ?
स्थानीय तहका नाम र केन्द्र फेर्न सक्ने कानुनमा उल्लेख नै छ । यसै नियमलाई टेकेर गाउँपालिकाको नाम र केन्द्र चेन्ज गरेको जनप्रतिनिधिहरुले बताए । सुकिदह र सुवर्णावती गाउँपालिकाका कार्यालयहरुमा केहिदिन पहिले ताला समेत लाग्यो । नाम र केन्द्र परिवर्तनको बिरोधमा यहाँका स्थानीयहरुले बिभिन्न आन्दोलनका कार्यक्रम समेत गरे । आन्दोलनबाट ताप बढ्दै गएपनि जिल्ला समन्बय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाको पहलमा बिबादित गाउँपालिकाका अध्यक्ष एबम् आन्दोलनको नेतृत्व गर्ने बिच बैँठक बस्यो ।
बैँठकले माघ ५ गते भित्र सुकिदह र सुवर्णावतीका अध्यक्षहरुलाई निकास खोज्न आग्रह गरेको छ । यदि ५ गते भित्र बिबादको निकास नआए सोहि दिन छलफल गरेर निकाल निकाल्ने प्रमुख बुढाले बताए ।
समाधान के ?
यी २ गाउँपालिकाका जनप्रतिनिधि सजिलै सहमति आउने भने छैनन । किन कि धेरै दिन स्थानीयले कार्यालय ताला लगाउदा र सवारीसाधन बन्द गर्दा पनि वास्ता नगरेका उनीहरुले हत्तहत आफ्नो अडानबाट भने पछि हट्ने छैनन ।
यता आन्दोलन गरेका स्थानीयहरु पनि उतिकै अडानमा रहेका छन । अब दुबै पक्ष बिबाद समाधान गर्न सहमत नभए जिल्ला समन्बय समितिले भने अबस्य एक्सन लिने देखिन्छ । सुकिदहको बिषयमा गाउँपालिकाको नाम सुहिदहनै र केन्द्र सानडाँडा बनाउने र सुवर्णावतीको नाम सहिद स्मृति गाउँपालिका बनाउन सक्ने प्रस्ताब अघि सार्ने श्रोतले बतायो ।

Related News