असक्षम प्रमाणित भइसकेपछि फेरि नेतृत्व दाबी गर्नु मूर्खता हो, नरेश गेलाल, महासचिवका उम्मेदवार (रोहन गुरुङ समूह)

नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको मुल नेतृत्व दुई वर्षसम्म सुतेर बस्यो । चुनाव आयो भनेपछि फेरि निन्द्राबाटव्यूँझेर निकै हल्लाखल्ला गरिरहेका छन् । तर, उहाँहरु व्युँझिन ढिला भएको छ । जसले संघलाई ब्यवसायीको बिरोधीको रुपमा अगाडि बढाए, अहिले तिनै ब्यक्ति फेरि अध्यक्षको उम्मेदवार बनेर आउनु भएको छ । दुई बर्षसम्म कसरी बैदेशिक रोजगार ब्यवसायलाई समाप्त पार्ने, ब्यवसायीलाई बिस्थापित गर्ने भनेर षडयन्त्र गर्नुभयो, उहाँको षडयन्त्र सवै ब्यवसायीले बुझिसकेका छन् । 
अव संघको चुनावको मिति आउन केही दिनमात्रै बाँकी छ । तर, हाम्रो जित सुनिश्चित भइसकेको छ । उहाँहरु सुतेर बसेपछि व्यवसायीहरु नेतृत्वविहीन भएका थिए । हामी अब दुई वर्ष अघिल्लो नेतृत्व जसरी सुत्नका लागि होइन, व्यवसायीको हकहितमा काम गर्नका लागि नेतृत्वमा आउन चाहेका छौँ ।  केही काम गरेर देखाउन हामी संघको नेतृत्व लिन खोजेका हौं । त्यसैले सबै व्यवसायी कुनै भ्रम वा द्विविधामा नपरी हामीलाई चुन्नुहुन्छ भन्ने पुर्ण विश्वास छ । म एउटा कुरा स्मरण गराउन चाहन्छु । हामी ‘फ्रि भिषा, फ्रि टिकट’लाई व्यवस्थित गर्नुपर्छ भनेर आन्दोलनमा थियौं । तत्कालीन मन्त्री निर्णय गर्दा हतारमा गल्ती भयो, म सच्याउँछु भन्ने निष्कर्षमा पुग्नुभयो । उहाँले सच्याउने गृहकार्य अघि बढाएकै बेला संघका अध्यक्ष विमल ढकालजीले अदालतमा गएर मुद्दा दायर गर्नुभयो र व्यवसायीलाई कमजोर बनाउनुभयो । 
हाम्रो आन्दोलन त्यसैबेलादेखि कमजोर बन्दै गयो ।  उहाँ अहिले मेरो अधुरा काम पूरा गर्न एक पटक अध्यक्ष बन्न चाहेको भन्दै फेरि उम्मेदवार बन्नुभएको छ । उहाँलाई लाज लाग्नुपर्ने हो । उहाँले आफ्नो कार्यकालमा राम्रा काम केही पनि गर्नुभएन । व्यवसायीलाई कमजोर बनाउने मात्र काम गर्नुभयो । कहिले विवरण बुझाउन लगाएर त कहिले के गर्न लगाएर व्यवसायीलाई कमजोर बनाउने भूमिकामा मात्र उहाँ लाग्नुभयो । उहाँ असक्षम अध्यक्ष हो । फेरि त्यही असक्षमको नेतृत्वलाई स्वीकार गर्न सकिदैन । फेरि नेतृत्व दाबी गर्नु उहाँको मूर्खता हो । उहाँले अहिले अध्यक्षको दाबी गर्नुको कारण अर्कै छ । उहाँ अबको संसदीय निर्वाचनमा कांग्रेसबाट टिकट लिनका लागि हो । उहाँले टिकट लिएपछि संघलाई अलपत्र पारेर जाने निश्चित छ । संघलाई अलपत्र पार्नकै लागि फेरि नेतृत्व लिन चाहेका हुन भन्ने प्रमाणित भइसकेको छ । त्यसैले हामीले व्यवयासीसँगै रहनेहरुलाई नेतृत्वमा ल्याउन खोजेका हौँ । 
‘संयुक्त व्यवसायिक समूह’ व्यवसायीसँग रहने छ । उनीहरुका पीर–मार्कामा सदैव सहयोगी बन्ने छ । त्यसैले यो समूहलाई जिताउनु सवै ब्यवसायीको दायित्व हो । ब्यवसायीहरु यस बिषयमा प्रष्ट पनि भइसकेका छन । संघलाई तहस–नहस होइन, व्यवस्थित बनाउने योजना हामीसँग छ । हामी नेतृत्वमा आएपछि पहिलो काम नै संघको भवन निर्माण गर्न चाहन्छौँ । त्यो योजना हामीसँग छ । हामीले जितेको १५ दिनभित्र साउदी दूतावाससँग कुरा गरेर सबै व्यवसायीले काम गर्ने वातावरण बनाउने छौँ ।  हामी संघमा देखिएका सबै समस्यालाई विस्तारै हल गरेर जाने छौँ । ‘फ्रि भिषा, फ्रि टिकटलाई व्यवस्थित गर्ने छौं । हामीले हाम्रो प्रतिवद्धतापत्रमा उल्लेख गरेका कामलाई पूरा गर्ने योजना बनाएका छौँ । त्यसैले संघमा यस पटक बिमल ढकालको होइन, रोहन गुरुङ नेतृत्वको समुहको बिजय अनिवार्य बनेको छ । हाम्रो नेतृत्व संघमा आवश्यक छ । जसले बैदेशिक रोजगार ब्यवसायलाई अझ सुदृढ बनाउने छ ।
महासचिवको रुपमा मैले सवै ब्यवसायीलाई समान ढंगबाट सहयोगीको भूमिका निर्वाह गर्ने प्रष्ट बताइसकेको छु । हामीले जितेपछि कुनै पनि ब्यवसायी अन्यायमा पर्नुपर्दैन । आफ्नो मात्रै हित हेरेर ब्यवसाय धरापमा पार्ने काम पनि हाम्रो समूहबाट हुनेछैन । संशोधन प्रक्रियामा रहेको बैदेशिक रोजगार ऐन २०६४ को प्रस्तावित मस्यौदालाई पूर्णता दिई धरौटी बढाउने र ब्यवसायिक संस्थाहरुलाई गर्न खोजिएको बर्गीकरण गर्न नदिन इम्प्लोयमेन्ट कन्ट्याक्टको आधारमा अन्तिम स्वीकृत दिनुपर्ने र दूतावासले प्रमाणीकरण अनिवार्य गर्नु नपर्ने कार्यलाई बिशेष जोड दिइरहेका छौं । यस्तै हाम्रो नेतृत्व स्थापित हुँदा १० हजार सेवा शुल्कको निर्णय खारेज गरी कामदारले पाउने एक महिनाको तलव बराबरको रकम ब्यवसायीले लिन पाउने ब्यवस्था गर्ने छौं । सरकारलाई बाध्य पारेर नयाँ गन्तब्य मुलुक खोजी गर्ने काम पनि हाम्रो प्रमुख प्राथमिकतामा रहेको छ । हामीले धेरै कुरा घोषणापत्रमा प्रष्ट भनिसकेका छौं, त्यो प्रतिवद्धतालाई हामी बिजय प्राप्त भएकै दिनबाट अघि बढाउँदै जानेछौं । 
यसैगरी हामीले व्यवसायीहरुको संयुक्त लगानीमा बैदेशिक रोजगार जीवन विमा, स्वास्थ्य परिक्षण संस्था र अभिमुखीकरण तालिम जस्ता व्यवसायिक संस्थाहरुको स्थापना÷साझेदारी गर्ने, वैदेशिक रोजगार सम्बन्धि अनावश्यक भ्रमहरु फैलाउने सामाजिक संञ्जालहरुलाई निरुत्साहित गर्दै आम नागरिकलाई सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गर्ने योजना बनाएका छौं । रोजगारदाता मुलुकहरुको चेम्बर अफ कमर्श लगायत सम्बन्धित निजी तथा गैरसरकारी संघ÷संस्थासँग समन्वय गरी रोजगारीको अवसर बढाउने कार्य गर्ने, उच्चस्तरीय समिति गठन गरी वैदेशिक रोजगार व्यवसाय सहज र सरल बनाउन बिभिन्न राजनीतिक पार्टी तथा अन्य संघ÷संस्थाहरुसँग समन्वय गर्ने पनि हाम्रो प्रष्ट योजना छ भने बिभिन्न निकायहरुबाट मृतक कामदारका परिवारहरुले पाउनुपर्ने क्षतिपूर्ति रकम छिटो छरितो उपलब्ध गराउन सहजीकरण गर्ने, आवश्यकताअनुसार संघको आचार संहिता परिमार्जन गरी पूर्णरुपमा लागू गर्ने र सवै ब्यवसायीको सुझावका आधारमा संयुक्त रुपमा कार्य योजना बनाई बजार प्रबद्र्धन गर्ने कामका लागि पनि हाम्रो जित अनिवार्य भइसकेको ब्यवसायीको बुझाई छ ।

Related News