​विकास निर्माणको काममा ढिलासुस्ती गर्नेमाथि निगरानी : प्रमुख आयुक्त

दृष्टि न्यूज

भीमदत्तनगर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले विकास निर्माणको काममा ढिलासुस्ती गर्नेमाथि आयोगले निगरानी बढाएको बताएका छन् । विकास निर्माणको काममा बेथिति रहेको बताउँदै उनले यस्तो बताएका हुन् ।
कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालयको नवनिर्मित भवनको सोमबार उदघाट्न गर्दै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार न्यूनीकरण सबैको साझा एजेण्डा बनेमात्रै उल्लेखनीय काम गर्न सकिने पनि बताए । घिमिरेले भने, ‘हामीले मन्त्रालयबाट पनि ठेक्काको विवरण मागेका छौँ, ८÷१० वटा निर्माण कम्पनीमाथि अनुसन्धान अघि बढेको छ ।’ स्थानीयतहमा भ्रष्टाचार बढेको उजुरी आयोगमा धेरै आइरहेको बताउँदै उनले आयोगले सातवटै प्रदेशमा आयोगका सरोकारका विषय र स्थानीयतहको गतिविधि सुक्ष्म रुपमा हेरिरहेको सन्देश दिइएको बताए ।
उनले भने, ‘स्थानीयतहको वडाध्यक्षस्तरसम्म अभिमुखीकरण कार्यक्रम लैजान आयोग र सरकार लागिरहेको छ, अर्थ मन्त्रालय त्यसका लागि आवश्यक स्रोत जुटाउन सकारात्मक देखिएको छ ।’ भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने उनको भनाइ छ । 
मुलुकमा संघीय, प्रदेश र स्थानीय गरी सबै सरकार स्थापित भइसकेको अवस्थामा मूलुकमा सुशासन स्थापना अबको मूल विषय हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा आयोगका सचिव रामेश्वर न्यौपानेले संकमणकाल भन्दैमा भ्रष्टाचार गर्ने छुट कसैलाई नरहेको बताए । 
सात करोड ३८ लाख ९८ हजारको लागतमा आयोगको दुई भवन बनाइएको हो । २०७० सालमा सम्र्पक कार्यालयका रुपमा स्थापनाभएको यहाँको आयोगको कार्यालयलाई केही समयअघि सुदूरपश्चिम प्रदेश कार्यालयको रुपमा विस्तार गरिएको थियो ।

Related News