​घोराही सिमेन्ट गुणस्तरहीन

दृष्टि न्यूज

तुलसीपर । घोराही सिमेन्टबाट उत्पादित सिमेन्टहरु गुणस्तरहीन पाइएको छ । उक्त सिमेन्ट गुणस्तरहीन भएको गुनासो आएपछि प्रशासनले बिक्री वितरणमा रोक लगाउँदै गुणस्तर तथा नापतौल विभागको टोलीले परीक्षणका लागि नमुना लगेको थियो । सो प्रशिक्षणपछि उक्त उद्योगका सिमेन्टहरु गुणस्तरहीन पाइएको हो ।
सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट परीक्षणका लागि पठाइएकामा गुणस्तर अनुरुप नपाइएको प्रतिवेदन पाइएपछि उक्त उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन सजाय  २०३२ अन्र्तगत कारबाही अगाडि बढाइएको सुचना अधकिृत महेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै, गुणास्तर तथा नापतौल विभागबाट गुणास्तर यकिन नभएसम्म उत्पादन क्रिी वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ । 
उद्योगका अनुसार गत ३१ जेठमा  बर्दियामा मापदण्ड भन्दा ओपीसी सिमेन्ट कमसल भएको गुनासो आएको थियो । ओपीसी सिमेन्टको उत्पादन कार्य जिल्ला प्रशासन कार्यालय दाङको निर्देशनमा हाल उक्त उद्योग बन्द गरिएको छ । 
विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिकल इन्जिनियर उमेशकुमार यादवले सिमेन्ट उद्योगबाट नमुना लिएका हुन् । ओपीसी र पीपीस सिमेन्टको गुणस्तर मापनका लागि जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा विभागको टोली दाङ आएको थियो ।
टोलीले १७ साउनमा उत्पादन भएको र १६ मा उत्पादन भएर १८ साउनमा तुलसीपुर बिक्री भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परीक्षणका लागि काठमाडांै लगेको थियो । टोलीले सोनापुर सिमेन्ट उद्योगबाट ल्याएको ओपीसी र पीपीसीको नमुना पनि विभागले लगेको थियो ।
घोराही सिमेन्टले उत्पादन गरेको ओपीसीमा म्याग्नेसियम बढी भएकाले मापदण्डअनुसार सिमेन्ट उत्पादन गर्न घोराही सिमेन्टले पछिल्लोपटक हजारौं मेट्रिक टन क्लिंकर मौज्दात रहे पनि केही हजार मेट्रिक टन क्लिंकर सोनापुर सिमेन्टबाट लिएको थियो ।
बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी र त्यसपछिको परीक्षणबाट ओपीसीमा म्याग्नेसियम तत्व बढी देखिएपछि सिमेन्ट उत्पादन र बिक्री वितरण रोक्न पत्राचार गरेको थियो ।
बिहीबार जिल्ला प्रशासनका प्रशासकीय अधिकृत अमरराज आचार्यको नेतृत्वमा विभागको टोली, घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपाने, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार गौतम, घरेलु कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीसहित पत्रकारको टोली उद्योग पुगेर जानकारी लिएका थिए । घोराही सिमेन्ट उद्योगले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । 

Related News