​घुम्ने मेचमाथि...

लेख्ने नयाँ कुरा केही छैनन् । हाम्रा नेताहरुको ताल देख्दा उही भूपिले भनेझैं घुम्ने मेचमाथिको अन्धो मान्छे जस्तो देखिन्छ । विगत दश वर्षदेखि हामी कहिल संविधानसभाका चुनाव त कहिले संविधानको कार्यान्वयनमै अल्झिरहेका छौं । संविधानसभाको चुनाव पनि सकियो । संविधान पनि बन्यो । तर पनि फेरि संविधान कार्यान्वयनका विषयमा प्रमुख तीन दलबीच पानी बाराबारको स्थिति किन सिर्जना भयो भन्ने कुरा पनि नेपाली जनताले बुझिसकेका छन् । लोकतन्त्र पारदर्शी शासन व्यवस्था भएकोले यो दश वर्षमा कुन पार्टीका कुन नेताले के–के गरे भन्न कुराको हिसाब किताब पनि नेपाली जनताले राखेका छन् । त्यसैले जनताको इच्छाविपरीत हिंड्ने राजनीतिक दल र तिनका नेतालाइ जनताले दण्डित गरेरै छाड्छन् भन्ने कुराको उदाहरण स्वयं पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेका छन् । यदि पहिलो संविधानसभाबाटै प्रचण्डले संविधान बनाएको भए उनी जनताबीच हाइहाई हुन्थे । तर, उनले संविधानसभा नै विघटन गरिदिएका कारण दोस्रो संविधानसभामा जनताले उनलाई दण्डित गरिदिए । माओवादी तेस्रो पार्टी बन्यो । त्यसका अध्यक्ष प्रचण्डले काठमाडौंबाट धुलो चाट्नु प¥यो । सिराहाको मतगणना उल्टाएर उनलाई जिताउनु पर्ने अवस्था सिर्जना भयो ।
इतिहासका यी घटनाक्रमलाई स्वयं प्रचण्डले कसरी मूल्यांकन गरिरहेका छन् भन्ने कुराले उनको मात्र होइन, सिंगो नेपाल र नेपालीको भविष्य सुनिश्चित हुन सक्छ  गोर्वाचोभको जस्तो अवस्थामा पुगेर पश्चाताप गर्नुको कुनै अर्थ छैन । विश्व उदारीकरणलाई पछ्याउन खोज्दा गोर्वाचोभ असफल भए र सिंगो देश संघीयताको कारण टुक्रा टुक्रा भयो । तर, त्यही कुरालाई देङ सियाओ पेङले लागू गदा चीनले आर्थिक समृद्धि मात्रै हासिल गरेन, विश्व शक्तिकै रुपमा चीन उदायो । अहिले हामी संघीयताको बहसमा छौं । कस्तो संघ बनाउने भन्ने एकमत छैन । हरेक पार्टीका आ–आफ्ना धारणा छन् । दक्षिणले प्रचण्डमार्फत् नेपाली जनताका थाप्लोमा बोकाएको यो भारीले नेपाली जनताहरु विभाजित छन् । हरेकको मन, मतिष्क आन्दोलित बनिरहेको छ । संघीयतालगायतका विवादित मुद्दामा जनमत संग्रहमा जाने हो भने नेपाली जनताले संघीयताको विपक्षमा मतदान गर्ने कुरामा दुईमत छैन । तर, पनि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा नेपाललाई सोभियत संघ, आफ्नो भविष्यलाई गोर्वाचोभ बनाउन हिंडिरहेका छन् भन्ने कुरा बुझेरै पाँच नम्बर प्रदेशका जनता आन्दोलित भएका हुन् ।
जनताको यो भावनालाई प्रचण्डले बुझ्न नसक्नु भनेको उनीभित्रको गोर्वाचोभ प्रवृत्ति हो । आफू सत्तामा टिक्नकै लागि उनले यो मुद्दालाई जबर्जस्ती बोकिरहेका छन् । यो मुद्दाले भोलिका दिनमा नेपालको भविष्यलाई कस्तो असर पार्छ भन्ने कुराको विश्लेषण उनले गरेका छ्रैनन् । भूपिले भनेझैं उनी ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ प्रचण्ड बनिरहेका छन् । यिनै ‘अन्धो मान्छे’लाई प्रयोग गरेर कतैबाट देश विखन्डन गर्ने षड्यन्त्र भइरहेको थाहा पाएरै एमाले अध्यक्ष केपी शर्मा ओली उनको आँखाको पट्टी खोल्न सडक आन्दोलनको तयारी गरिरहेका छन् । विगतमा १६ बुँदे सहमति गरेर संविधान कार्यान्वयनमा अग्रसर ओलीको ‘रोडम्याप’ बाट चिप्लदा सुशील कोइरालाको हालत जे भयो संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रचण्डको हालत पनि त्यही नहोला भन्न सकिन्न । किनभने यी त ‘एक्टर’ मात्र हुन्, डाइरेक्टर अन्तै कतै छन् । त्यो पनि नेपाली जनताले बुझेकै कुरा हो ।

Related News