​राजस्वका दुई कर्मचारी घुस लिंदालिंदै पक्राउ

काठमाडौं, २६ भदौ । भारतबाट सामान ल्याउने झोले ब्यापारीसँग घुस लिने राजस्व अनुसन्धान विभाग अत्तरियाका २ कर्मचारी ६० हजार रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरुलाई घुस सहित नियन्त्रणमा लिएको छ ।
राजस्व अनुसन्धान विभाग मध्यपश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर अस्थाई चेक पोष्ट अत्तरिया, कैलालीमा कार्यरत नायब सुब्बा नरेन्द्रकुमार साउद र कार्यालय सहयोगी टिकाराम जोशीले भारतबाट सामान ल्याई बेच्ने ब्यापारीसँग मासिक रुपमा घुस लिने गरेको उजुरी परेपछि अख्तियारले निगरानी गरेको थियो । अख्तियारको कंचनपुर सम्पर्क कार्यालयबाट खटिई गएको टोलीले उनीहरुलाई रु.६० हजार घुस रकम लिदै गर्दाको अवस्थामा उनीहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो । उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको हुदा रु. ६० हजार बिगो कायम गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

Related News