गणेशमान, कम्युनिष्ट र जनआन्दोलन–२

माथवरसिंह बस्न्यात

माथवरसिंह बस्न्यात । यसअघिको अंकमा मैले कांग्रेस र कम्युनिष्टको कार्यगत एकता र आन्दोलनमा संयुक्त सहभागिता, बहुआयामिक महत्वका छन्, त्यसैले अलिकता विस्तारमा जानुपर्ने खाँचो औंल्याएको थिएँ । त्यो भनेको तिनताकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पृष्ठभूमिमाथि विहङ्गम दृष्टिपात गर्नु हो । त्यसबाट हाम्रो विगत र आगत दुवैमाथि प्रकाश पर्ने भएकाले संक्षेपमा चर्चा अपरिहार्य भएको हो ।  
इस्वी सम्वत्को उन्नाइस सय नब्बेको दशकलाई प्रजातन्त्र, मानअधिकार र परिवर्तनको दशकका रुपमा इतिहासले रेकर्ड गरेको छ । कम्युनिष्ट क्रान्तिको जन्मस्थलो– सोभियतसंघको विघटन र रुसबाट कम्युनिष्ट शासन सत्ताको पतन त्यही दशकमा भएको हो । पूर्वी युरोपका कम्युनिष्ट देशहरु पनि एकपछि अर्को गर्दै उदार प्रजातान्त्रिक विश्वका सदस्यमा रुपान्तरित त्यसै बेला भएका हुन् । परिवर्तनको त्यस्तो हलचलपूर्ण लहर एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा पनि चलिरहेको थियो । नेपाल मात्र त्यस्तो लहरबाट अछुतो रहन संभव थिएन । रहेन पनि । किनभने युगचेता नेताहरुको नेपालमा अभाव थिएन । त्यसको उदाहरण २०४६ सालको सफल जनआन्दोलन हो । 
उनन्तीस वर्षसम्म निर्दलीय पंचायत व्यवस्थाको आवरणमा राजाको निरंकुश शासन निर्वाध चलिरहेको थियो । त्यसका विरुद्ध आन्दोलन र संघर्ष नभएका होइनन्, तर विरोधी शक्ति विभाजित भएकाले २०१७ सालमा अपहरित प्रजातन्त्र पुनस्र्थापित हुन सकिरहेको थिएन । कांग्रेस कमजोर नभएसम्म कम्युनिष्टको उत्थान हुन सक्तैन भन्ने विश्लेषण गरेर राजाले कांग्रेसमाथि निर्मम दमन गर्दा पनि उनीहरु खुच्चिङ बजाएर बस्ने गरेकाले कांग्रेसको संघर्ष सफल हुन सकेको थिएन । कम्युनिष्ट पनि  एक्लैले क्रान्ति गर्ने र परिवर्तन ल्याउने आत्मविश्वास आफैंभित्र जगाउन नसकेकाले एकताभन्दा अनेकतामा विभाजित भइरहेका थिए । उता भारत, बाहिर प्रजातन्त्रका प्रति ओठेभक्ति त देखाउँथ्यो । तर भित्र स्थिरताका नाममा राजालाई नै सघाइरहेको थियो । कम्युनिष्ट चीनले पनि आँखा चिम्लेर राजाको निरंकुशताको समर्थन गरेकै थियो । त्यस अवधिमा संसारका निम्ति अमेरिका र रुस विश्व शक्ति थिए भने नेपालका लागि भारत र चीन नै सुपर पावर थिए । ती दुवैको समर्थन र सहयोग राजालाई प्राप्त थियो । त्यसैले पश्चिमी युरोप र अमेरिकाबाट प्रजातन्त्र र मानवअधिकारका नाममा आउने सहानुभूतिका वक्तव्यले  झुल बाहिर लामखुट्टेको भुनभुनाइभन्दा बढी अर्थ र महत्व राख्ने गरेको थिएन । 
राजनीतिमा प्रतिकूलताको दौर जतिसुकै लामो भए पनि त्यो अन्त्यहीन भने हुँदैन । एउटा घुम्तिमा पुगेर त्यो अनुकूलतातिर मोडिन्छ । अथवा यसो भनौं प्रतिकूलता र नैराष्यता जब चरमोत्कर्षमा पुग्छ, तब एउटा यस्तो नेतृत्व प्रादुर्भाव हुन्छ, जसले परिवर्तनका निम्ति चाहिने अनुकूल वातावरण मात्र निर्माण गर्दैन, त्यसका लागि आवश्यक उर्जा पनि पैदा गर्छ । आन्दोलनको उर्जा भनेको त्यत्तिबेलाका सन्दर्भमा कांग्रेस र कम्युनिष्ट दुवै विचार र संगठन भएका शक्ति मिलेर गरिने संयुक्त आन्दालन थियो । २०१७ सालदेखि २०४२ सालसम्म कुनै पनि ठूला आन्दोलन चरमोत्कर्षमा नपुगि स्खलित हुनुको मुख्य कारण नै ती दुई शक्तिलाई एक अर्कासंग मिलेर आन्दोलनमा उत्रन नदिने राजाको प्रत्यक्ष वा परोक्ष रणनीतिको सफलता थियो । राजाको हातबाट त्यस प्रकारको कपट प्रयोगको छडी खोसेर उनीमाथि नै प्रयोग गर्ने कुशल प्रयोक्ता चाहिएको थियो, जसमाथि परिवर्तनका पक्षधर सबैले आस्था र विश्वास बिसाउन सकुन् । त्यस्तो अवस्थामा गणेशमान सिंहका रुपमा देशले त्यस्तो नेता पायो ।  
राज्यशक्तिको श्रोत बनेको दरवारमा राजा बीरेन्द्र आफैं अनिर्णयका बन्दी बनेका र रानीको हालहुकुम चल्ने गरेका हल्ला एक कान दुई कानहुँदै मैदान बन्नपुगेको थियो । अधिराजकुमार धिरेन्द्रका एडीसी तस्करीको आरोपमा पक्राउ पर्नु, उनले क्रिस्चियन केटीसंग दोश्रो बिहे गर्न त्यो पदत्याग गरेर लण्डन प्रस्थान गर्नु, भूमिगत गिरोहले दरवार र देश दुवै चलाएको आरोपको खण्डन नहुनु, चिनियाँ हतियार खरीदको विषयमा अत्यन्त असन्तुष्ट बनेको भारतले वाणिज्य सन्धिको म्याद सकिएपछि नाकाबन्दी लगाउनु, त्यसैका कारण पेट्रोल, डिजेल र ग्याँसका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव हुनु, महंगीले आकाश छुनु, बेरोजगारीको संख्या अप्रत्याशित रुपमा वृद्धि हुनु, उदार र अनुदार खेमामा विभाजित पंचायतले नै बहुदलीय अभ्यास गर्न थालेकाले निर्दलीयता औचित्यहीन हुनपुग्नुजस्ता आन्तरिक घटना विकासले पनि परिवर्तनको मनोवैज्ञानिक परिस्थिति निर्माण गरिरहेको थियो । अर्थात् जनता मानसिक रुपमा साथदिन तयार थिए । तर कांग्रेसभित्रै एउटा प्रभावशाली गुट आन्दोलन गर्न तयार थिएन, त्यसमाथि कम्युनिष्टसित मिलेर आन्दोलन गर्ने कुरा त सुन्न पनि तयार थिएन । त्यो गुटको नेतृत्व महामन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।     
त्यस प्रकार आन्दोलनको नेतृत्व गर्ने कांग्रेस आफैं दुई खेमामा विभाजित थियो । कम्युनिष्टसित मिलेर आन्दोलन गर्नु भनेको बीपी कोइरालाको मेलमिलापको नीति उल्टाउनु हो । कांग्रेसले त्यो कुनै हालतमा मान्न सक्तैन भन्ने उनीहरुको प्रष्ट अडान थियो । उनीहरुको त्यस्तो दावीका पछाडिको आधार भने बीपी कोइरालाले आफ्नो जीवनको अन्तिम समयमा दिनु भएको त्यो सूत्र थियो, जसमा उहाँले भन्नुभएको थियो ः –
– No confrontation with king,
 –No surrender to Panchayet system,
– No alliance with Communists,
 –No mass– movements.
त्यसैलाई वेदवाक्य मानेर उनीहरु गणेशमान सिंह, आन्दोलन र कम्युनिष्ट तीनैथरिको विरोध गरिरहेका थिए । त्यो बिबादमा कांग्रेस र नेबिसंघ केन्द्रदेखि जिल्लासम्म दुई फ्याक हुन पुगेको थियो । (लगातार जारी रहनेछ ।)

Related News