​पार्टीले जहाँ मेरो महसुस गर्छ, म त्यहीँ हुन्छु- गोकुल घर्तीमगर, युवा नेता, नेकपा एमाले

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि रोल्पाबाट सिफारिस भएका एमाले पोलिटब्युरो सदस्य गोकुल घर्तीमगर, एमाले र माओवादीबीचको चुनाबी तालमेलपछि ब्याक भए । उनी संयुक्त वाम गठबन्धन रोल्पाबाट चुनाबी संयोजक भए । प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेवारलाई भारी जनमतका साथ बिजयी बनाउनमा महत्वपूर्ण भुमिका खेलेका घर्तीमगर अनेरास्ववियुका पूर्वमहासचिबसमेत हुन । एमाले युवा नेता गोकुल घर्तीमगरसँग दृष्टिडटकमका लागि जीवन डाँगीले गरेको कुराकानी :
बाम गठबन्धनको नतिजाप्रति तपाईको प्रतिक्रिया ?
गठबन्धनले पाएको परिणामले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको ढोका खोलेको छ । दुई पार्टीबीचको तालमेलमा जनताले दिएको जनमत उत्साहजनक छ । बाम शक्तिप्रति आम नागरिकको निकै अपेक्षा छ । त्यसकारण पनि हामीहरु देशको समृद्धिका लागि कुनै कसुर बाँकी राख्ने छैनौँ ।
तपाई चुनाबी संयोजक रहेको, रोल्पा जिल्लाको मत परिणम कस्तो आयो ?
स्वभाविकै रुपले रोल्पा जिल्लाको मत परिणाम सन्तोषजनक आएको छ । एमाले र माओवादीबीचको तालमेलले पक्कै पनि रोल्पालीजनहरुमा निकै खुसीयाली छाएको थियो । रोल्पा जिल्ला वाम शक्तिहरुको किल्ला बनेको छ ।
प्रतिनिधिसभातर्फ कमरेड बर्षमान पुन र प्रदेश कबाट कमरेड कुलप्रसाद केसी यसैगरी प्रदेश खबाट कमरेड दीपेन्द्र पुनले भारी जनमतका साथ जित्नु भएको छ । म तिनै जनालाई बधाई पनि दिन्छु । हामीले यस जिल्लाका जनतालाई रातो झण्डामुनी गोलबन्ध गरेका छौँ । रातो झण्डामा यस अर्थ पनि सही छ कि समृद्ध रोल्पा, सुखी रोल्पालीको गठबन्धनले परिकल्पना गरेको छ ।
यसपटक जनप्रतिनिधि बन्नु भएन, यहाँको कतै अपेक्षा छ कि ?
म जनप्रतिनिधि नै हँु ? किनकि मैले गर्ने हरेक काम जनतासँग सम्बन्धित छन् र हुन्छन् । मलाई लाग्छ तपाईं उम्मेदवार किन नभएको भन्ने नै होला ? नेपाली जनताको भरोसा बाम शक्तिबीच पार्टी एकता हँुदै छ । पार्टी एकताअघि चुनाबी तालमेल भयो । त्यसपछि म ब्याक भएँ । रोल्पाबाट कमरेड वर्षमान, कुलप्रसाद र दीपेन्द्रलाई भारी मतका साथ जिताउनमा मेरो नेतृत्वको चुनाव परिचालन कमिटीको महत्वपूर्ण भूमिका रह्यो ।
अर्को प्रश्न अपेक्षा भन्नुभयो– मेरो कुनै पनि पदमा दाबी छैन । पार्टीले जहाँ जिम्मेवारी दिन्छ, त्यहाँ कुरा गर्छु । पार्टीले जहाँ मेरो महसुस गर्छ, म त्यहीँ हुन्छु ।
प्रदेश नं. ५ मा मुख्यमन्त्रीको होडबाजी सुरु भयो ? मुख्यमन्त्री को होला ?
यो बिषय बहस गर्न जरुरी देख्दिनँ । किनकि कमरेड केपी ओली र कमरेड प्रचण्ड बसेर टुङ्ग्याएको बिषयमा अहिले आएर जुहारी खेल्न आवश्यक छैन ।
मतलव शंकर पोखरेल भन्नुभयो ?
स्पस्ट छ, अरुले पनि आकांक्षा र दाबी गर्न त पाए तर मुख्यमन्त्री चाहिँ कमरेड शंकर पोखरेल नै हुुनुहुन्छ ।
एमाले र माओबादीबीच पार्टी एकता हुन्छ ?
पार्टी एकता हुनेमा कुनै शंका छैन । अवश्य पनि एमाले र माओबादीबीचको एकता सरकार बनेपछि देख्नुहुन्छ । 

Related News