कसरी उम्क्यो ३३ किलो सुन ?

काठमाडौं, २२ पुस । यूएईबाट एयर अरेबियाको विमानमा बुधबार बाँकेका गोपालबहादुर शाहीले सुन लिएर आएका थिए । भोलिपल्ट अर्थात् बिहीबार मात्रै उनी सुनसहितको लगेज भाडाको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिरिए । जब उनी विमानस्थलको सुरक्षा घेरा सजिलै पास गरेर मुख्य प्रवेशद्वार (गोल्डेन गेट) नजिक आइपुगे, तब करिब ३३ किलो अवैध सुनसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लियो । कान्तिपुर दैनिकमा खबर छ ।

ब्युरोले शाहीलाई पक्रेपछि उनले नै सुनको जिम्मा लिन आउँदै गरेका दुई व्यक्तिलाई बोलाए । निजी कार हाँकेर सुन लिन आएका मोरङका दीनबन्धु थापा र धनुषाका सन्तोष काफ्ले पनि तत्कालै गिरफ्तार भए । 

बरामद गरिएको सुनको बजारमूल्य करिब १५ करोड रुपैयाँ छ, जसमा २८२ वटा दस तोलाको बिस्कुट, १८ वटा सिक्री र १९ वटा औंठी छन् । सुनलाई दुई फरक–फरक लगेजभित्र प्लास्टिकले र्‍याप गरिएको थियो । सिक्रीमा अन्य पत्थर पनि भएकाले जाँचेपछि मात्रै सुनको यकिन परिणाम आउनेछ । भन्सारको नियमित सुरक्षा घेरा र भन्सार पार गरेर यति धेरै परिणामको अवैध सुन कसरी बाहिर आयो भन्ने गम्भीर प्रश्न उठेको अनुसन्धान अधिकारीहरूको भनाइ छ । ब्युरो प्रमुख डीआईजी नवराज सिलवालले विदेशबाटै प्राप्त सुराकीका आधारमा सुन पक्राउ परेको उल्लेख गर्दै भने, ‘अवैध कारोबारमा संलग्नमाथि बयान लिने र अन्यमाथि थप अनुसन्धान हुँदै छ ।’ 

जानकारहरूका अनुसार विमानस्थलमा मात्रै ५४ वटा सुरक्षा पोस्ट छन् । त्यसबाहेक भन्सार र अध्यागमनको छुट्टै चेकजाँच हुन्छ । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रहरीको प्रतिआतंकवाद युनिटको समेत विमानस्थलमा अनिवार्य रेकी चलिरहेको हुन्छ । डीआईजी गोविन्द निरौलाको नेतृत्वमा अहिले ३ सय ५० प्रहरी विमानस्थलमा खटिएका छन् । डीआईजी निरौलाले लगेज सुरक्षा एक्सरे मेसिनबाट पास भएपछि मात्रै यात्रु बाहिर निस्कन पाउने उल्लेख गर्दै भने, ‘यो काममा भन्सार कर्मचारी मात्रै संग्लन हुन्छन्, हामीले त सुराकी आएमा बाहिर समात्ने हो । यसमा भन्सार कर्मचारीकै कमजोरी देखिन्छ ।’ 

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले विमानस्थल गेटमा पक्राउ परेकाले भन्सार छलेरै ल्याएको होरहोइन भन्ने प्रस्ट नभएको बताए । विमानस्थलमा भन्सारका उपसचिव नारायण सापकोटाको नेतृत्वमा १५ कर्मचारी खटिएका छन् । भन्सारबाटै सुन पास भएको प्रमाणित भएमा कर्मचारीमाथि छानबिन गरिने उनले बताए । ढुंगानाले यसो भने पनि प्रहरीले सुनसहित बरामद गरेको सुटकेसमा विमानस्थलकै सुरक्षा स्टिकर टाँसिएको छ । 

Related News