​बरामद सुनका मालिक पत्ता लगाउनै गाह्रो

​काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बाहिरबाट बरामद ३३ किलो सुनको ‘मालिक’ अझै पत्ता लाग्न सकेको छैन ।  सुन बरामद भएको दुई दिन बित्दा पनि प्रहरी सुन मालिकको खोजीमा छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष सुराकका आधारमा सुन बरामद गरे पनि सुन मालिक पत्ता लागी नसकेको ब्युरोका प्रहरी उपरीक्षक मीरा चौधरीले स्वीकार गरेका छन् । बरामद सुनसँगै पक्राउ परेका तीन व्यक्तिले आफूहरू ‘भरिया’ भनेपछि उन्मुक्ति पाएका छन् । त्यस्तै, केही दिनअघि कलङ्कीबाट सात किलो अवैध सुनसहित महानगरीय प्रहरी अपराध महाशाखाले एक व्यक्तिलाई निजी सवारी साधनसहित पक्राउ ग¥यो ।  सुन बोकेर रसुवाबाट काठमाडौँ आएका चालक कुसाङ लामाले आफू भरिया बताएपछि उन्मुक्ति पाए ।  

त्यसअघि मङ्सिरमा बौद्धबाट बरामद १० किलो सुनको मालिकाको सम्बन्धमा पनि अझै पत्तो लाग्न सकेको छैन ।  महानगरीय प्रहरी वृत्त बौद्धले अवैध सुनका मालिकको खोजी भइरहेको जनाएको छ ।  

महानगरीय प्रहरीका अनुसार, जेठदेखि पुससम्ममा राजधानीबाट ५५ किलो अवैध सुन बरामद भएको छ ।  तर, सुन मालिक भने पक्राउ पर्न सकेका छैनन् ।  प्रहरीले अवैध सुन विशेष सुराकीका आधारमा बरामद गर्ने गरेको छ ।  बौद्धमा पटक–पटक गरी तीन पटकमा १२ किलो, पेप्सीकोलाबाट तीन किलो, कलङ्कीबाट सात किलो र विमानस्थल बाहिरबाट ३३ किलो सुन बरामद भएको छ ।  यी सबै सुन प्रहरीले सुराकका आधारमा बरामद गरेको हो ।  सुन मालिक पत्ता नलाग्नु घटना आफैँमा रहस्यमय बनेको छ । अवैध सुन ओसारपसारमा संलग्न भरिया भने सहजै पक्राउ पर्छन् ।  ती अवैध सुन तस्करीका घटनामा सात जना भरिया पक्राउ परेका छन् ।  

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘अवैध सुनको सूचना आउँछ तर सुन मालिकको नाम नखोल्ने भएकाले पत्ता लगाउनै गाह्रो हुन्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।

Related News