‘सुन तस्करी राष्ट्रिय लज्जा’


काठमाडौं, २७ पुस । विमानस्थल सुरक्षा घेरा पार गर्दै गत बिहीबार बाहिरिएको ३३ किलो अवैध सुन बरामद भएको घटनालाई उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय लज्जा भनेका छन् ।

संसदको अर्थ समितिको बैठकमा मंगलबार महराले सुन तस्करीमा ठूलै संगठित गिरोहको सञ्जाल रहेको बताए । ‘यस्तो गिरोहको सञ्जाल देशका थुप्रै ठाउँमा फैलिएको छ,’ उनले भने । मन्त्री महराले तस्करीको घटनामा अर्थ र गृह दुवै मन्त्रालयले दोषी सार्वजनिक गर्नुपर्ने बताए । 

समिति सभापति प्रकाश ज्वालाले हाकाहाकी सुन तस्करी हुनु सामान्य विषय नभएको बताए । ‘सुरक्षाका दृष्टिले संवेदनशील मानिएको अन्तर्रा्ष्ट्रिय विमानस्थलबाटै तस्करी हुनु अति गम्भीर कुरा हो,’ उनले भने, ‘यो उदेकलाग्दो र नांगो विषय हो ।’ ज्वालाले एक्सरे मेसिनबाट हुने जाँच र अनेकन सुरक्षा तह पार गर्दै कसरी अवैध सुन भित्रियो भन्ने प्रश्न गर्दै भने, ‘कि सुरक्षा निकायले तस्करहरूले भूमिगत बाटोबाट सुन ल्याइरहेका छन् र त्यसलाई बन्द गर्न सक्दैनौं भन्नुपर्‍यो ।’ 

यो घटनाले यसअघि पनि सुन तस्करी भइरहेको थियो भन्ने आशंका जन्माएको ज्वालाले बताए । उनले अर्थ मन्त्रालय, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सुरक्षा निकायको दायित्व के हो भन्ने प्रश्न पनि गरे । ‘सधैं भरियामात्रै समातिने मुख्य मालिक नसमातिने किन हो ?’ उनको प्रश्न थियो । 

बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सधैं भरियामात्रै समातिने र खलनायक बाहिरै रहने हो भने यस्तोखाले आर्थिक अपराध निरन्तर चलिराख्ने बताए । उनले यो घटनाले सुन तस्करी निरन्तर भइरहेको प्रमाणित भएको पनि बताए । आर्थिक वर्ष ०७०र७१ मा ७६ करोड रुपैयाँ र आर्थिक वर्ष ०७१र७२ मा ३० करोड रुपैयाँ बराबरको अवैध सुन बरामद भएको जानकारी अर्यालले दिए । उनले भने, ‘तस्करीमा कुन–कुन निकायका को–को संलग्न छन् र तस्करीको लाभ कसले प्राप्त गरिरहेको छ, पत्ता नलगाई हुँदैन ।’

यसअघि प्रहरीले सुन बरामद गरेपछि थप अनुसन्धानका निम्ति राजस्व अनुसन्धान विभागमा बुझाउने गथ्र्यो । प्रहरीका उपल्ला अधिकारीहरूका अनुसार फितलो अनुसन्धान र अवैध साँठगाँठका कारण सधैं भरिया मात्रै जेल पर्ने वा थोरै जरिवानामा छुटने गरेको देखिन्छ । यो घटनामा भने केन्द्रीय अनुसन्धान ब्युरोले भरियामात्रै पक्राउ पर्ने परम्परा निरन्तर हुन नदिन फरक ढंगले अनुसन्धान थालेको छ । ब्युरोले पहिलोपटक सुन तस्करीको घटनामा संगठित अपराध निवारण ऐन २०६९ अन्तर्गत मुद्दा चलाएर अनुसन्धान सुरु गरिसकेको छ । महानिरीक्षक अर्यालले भने, ‘गहिराइसम्म पुग्नकै लागि संगठित अपराधअन्तर्गत मुद्दा चलाएको हो,’ महानिरीक्षक अर्यालले भने । यो ऐनअन्तर्गत मुद्दा चलाएपछि सुन तस्करीको मुद्दा प्रहरीले आफैं हेर्न पाउनेछ भने अनुसन्धानका निम्ति लामो समयसम्म थुनामा राख्ने अधिकार पाउनेछ । महानिरीक्षक अर्यालले विमानस्थलको भन्सार जाँच गर्ने एकाइमा प्रहरीलाई प्रवेश नै गर्न नदिने परिपाटीमाथि प्रश्न उठाएका थिए । उनले भन्सार क्षेत्रमा प्रहरीको उपस्थिति निषेध गरिनु त्रुटिपूर्ण भएका बताउँदै भने, ‘यसमाथि समीक्षा गर्नुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

Related News