​गृहमन्त्रीसम्म सुन तस्करको जालो

काठमाडौं, २७ भदौ । ८८ केजी सुन बरामद गरेको ८ दिन भइसकेको छ, प्रहरीले एक जना पनि सुन तस्करलाई पक्राउ गर्न सकेको छैन । पहिचान भएर पनि चिनियाँ तस्कर सजिलै उम्कनुले घटनामा प्रहरीकै मिलेमतोमा तस्कर भगाइएको आशंका बढेको छ ।  
अझ अचम्म त घटनाप्रति गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्याल मौन छन् । १२ वटा चेकपोष्टमा कतै चेकजाँच नभई ८८ किलो सुन रसुवागढी नाकाबाट काठमाडौं ल्याइएको थियो । जसमा प्रहरीले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गरेको प्रष्ट हुन्छ । 
भन्सारको मिलेमतोको आंशकामा अर्थ मन्त्रालयले सोमबार छानबिन समिति गठन गरिसकेको छ । तर, गृह र प्रहरी प्रधान कार्यालयले छानबिनमा कुनै चासो दिएको छैन । जसबाट सुन तस्कर र प्रहरीको मिलेमतोको आशंकालाई बल मिलेको छ । 
गृहमन्त्री शर्माले पार्टीका निकट प्रहरी अधिकृतलाई रसुवा र नुवाकोटको इन्चार्ज बनाएर पठाएलगत्तै सुन तस्करी फस्टाएको थियो । तस्करीमा संलग्न चिनियाँ नागरिकको परराष्ट्र तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग समेत सम्बन्ध देखिएको छ । सोही कारण पनि तस्करीमा प्रहरी मिलेमतोको पोल खुल्ने डरले गृह मन्त्रालयले छानबिनमा चासो नदेखाएको स्रोत बताउँछ ।  सुनमा नेपालका केही प्रभावशाली माडवारी व्यवसायीको समेत लगानी भएकाले पनि उनीहरुले चिनियाँलाई संरक्षण गरेका छन् । 
यसैबीच, दृष्टि अनलाइनले काठमाडौंको क्षेत्रपाटीमा बरामद भएको ८८ किलो सुन सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको भएको समाचार भदौ २१ गते नै उजागर गरेको थियो । भदौ १९ गते क्षेत्रपाटीबाट अपराध महाशाखाले बरामद गरेको र भदौ १५ गते केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेको १५ किलो सुन पौडेलकै भएको खुलासा दृष्टिले गरेको थियो, जुन कुरा पुष्टी भएको छ । उनलाई सिन्धुपाल्चोक माओवादीका नेता अग्नि सापकोटादेखि सबै मिलेर माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट गृहमन्त्री जनार्दन शर्मालाई भनेर जोगाइएको छ । हाल उनलाई गृहमन्त्री शर्माकै निर्देशनमा पक्राउ हुनबाट जोगाउन भारततर्फ भगाइएको छ । सीआइबीका डीआइजी पुष्कर कार्कीले बरामद १५ किलो सुन राजकुमार पौडेलकै भएको थाहा पाएर पनि उनलाई पक्राउ नगरी सुरक्षित भारततर्फ जाने मौका दिएको आरोप छ । पौडेलले प्रहरीलाई समेत राम्रै भेटीको प्रबन्ध गरेको चर्चा छ ।

Related News