निगमबाट बर्खास्त भएका गोपाल खड्का पुनर्वहालीको माग गर्दै अदालतमा

काठमाडौै, ४ असोज । जग्गा खरिदमा डेढ अर्ब भ्रष्टाचार गरेको आरोपमा सरकारले सोमबार बर्खास्त गरेका नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपालबहादुर खड्काले आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका छन् ।
खड्काले वारेस मोतिलाल तामाङमार्फत् बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । खड्काको रिट निवेदनमा आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई हटाइएको भन्दै निर्णय खारेजीका लागि उत्प्रेषणको आदेश माग गरिएको छ । तर गोपाल खड्काको नियुक्ति गर्दा तत्कालीन सुशील कोइराला सरकारले अवधि नतोकी गरेको थियो । उनको नियुक्तिका क्रममा कुन ऐन नियम अन्तर्गत भन्ने समेत उल्लेख नगरी गरिएको बताइएको छ ।
आयल निगमले तेल भण्डारणका लागि जग्गा खरिद गर्दा प्रचलित मूल्यभन्दा ८ गृुणा महंगोमा गरेको थियो । निगमले खोलाको बगर र रेलले अधिग्रहण गर्न लागेको जग्गा समेत खरिद गरेको संसदको सार्वजनिक लेखासमितिको अध्ययनका क्रममा देखिएको  थियो ।

Related News