माओवादी केन्द्रमा किराँतीद्वारा विद्रोह !

दृष्टि न्यूज

काठमाडौं, ८ फागुन । १० वर्षसम्म सशस्त्र विद्रोह गरेर संविधानसभामार्फत नयाँ संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले एमालेसँगको पार्टी एकताप्रति असहमति जनाउँदै विद्रोह गर्ने घोषणा गरेका छन् । 



सामाजिक सञ्जालमार्फत उनले एक बिज्ञप्ति जारी गर्दै माओवादी केन्द्रको महाधिवेशन समुह बनाएर अघि बढ्ने संकेत गरेका छन् ।
उनले बक्तव्यमार्फत भनेका छन्, ‘महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु ।’ उनले आफूलाई नेकपा माओवादी केन्द्रको संयोजक समेत घोषणा गरेका छन् । यसअघि नै पार्टी एकताप्रति असहमति जनाउँदै आएका किराँती गत फागुन १ गते मनाइएको जनयुद्ध दिवसमा पार्टीको कार्यक्रममा सहभागी नभई बैद्य–बिप्लव समुहले मनाएको बार्षिकोत्सवमा सहभागी भएका थिए । 
यद्यपि सामाजिक सञ्जालमै किराँतीमाथि पार्टीका कार्यकर्ताहरुले दह्रोसँग जवाफ समेत दिएका छन् । सामाजिक सञ्जालमा उनका एक शुभचिन्तकले भनेका छन्, ‘अहिले लगभग ९५५ नेपाली जनताले शान्ति, एकता, स्थीरता, सुशासन, विकास, आर्थिक सम्मृद्धि र रोजगारी चाहेको छ साइला दाइ । नयाँ पार्टी, आन्दोलन र युद्ध चाहेको छैन । हिजो देश र जनताले परिवर्तनको लागि युद्द र आन्दोलन चाहेको बेला तपाईं हामीले त्यो दायित्व पूरा गर्यौं । अहिले फेरि तपाइ हामीसँग जनताले अर्को दायित्वको आशा गरेको बेला जनचाहना बिपरित जाने भूल नगरौं ।’

Related News