बेलायती राजदरबारमा गोर्खा सैनिकहरूलाई विशेष सम्मान


तस्बिर साभारः सुष्मा रुपाबुङ राईको फेसबुकबाट

काठमाडौं, ३ चैत । वेलिंटन ब्यारेक्सबाट करिब डेढ सय गोर्खा सैनिक ब्रिगेड ब्यान्डको सुमधुर धुनमा कवाज खेल्दै बकिङघम प्यालेस प्रवेश गरिरहँदा दरबार परिसरमा करिब १५ हजार दर्शक एकत्रित भइसकेका थिए । ६८ वर्षीय प्रिन्स चाल्र्स र उनका छोरा ३२ वर्षीय प्रिन्स ह्यारीबाट पदक ग्रहण गर्न गोर्खाहरू निकै उत्साहित देखिन्थे । उक्त कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका अधिकारीहरू पनि सहभागी थिए । कान्तिपुर दैनिकमा खबर छ ।

गत वर्ष अफगानिस्तानको राजधानी काबुलमा सुरक्षार्थ खटिएका रोयल गोर्खा राइफल्स सेकेन्ड बटालियन (टुआरजीआर) का करिब डेढ सय गोर्खा सैनिकलाई ह्यारी र चाल्र्सले विशेष सम्मान ‘अपरेसनल सर्भिस मेडल’ प्रदान गरे । गत वर्ष गणपति लेफ्टिनेन्ट कर्णेल जेसी मुरेको नेतृत्वमा खटिएको दोस्रो गोर्खा बटालियनले मिसनको प्रारम्भदेखि नै नेटो संगठनबाट त्यहाँ खटिएका विभिन्न प्रतिनिधिलाई सुरक्षा दिएको थियो । 

आठ महिना लामो ‘अपरेसन टोरल’ का लागि गोर्खाहरू काबुल खटिएका थिए । ती गोर्खाहरूले नन कम्ब्याट भूमिकामा अफगान मन्त्री र वरिष्ठ अधिकारीहरूलाई सुरक्षा सल्लाह दिन र अफगान नेसनल आर्मी अफिसर्स एकेडेमीमा सुपरिवेक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काबुल सुरक्षा बलका लागि बटालियनको भूमिका महत्त्वपूर्ण थियो । समारोहका आकर्षण थिए रोयल गोर्खा राइफल्सका कर्णेल इन चिफ द प्रिन्स अफ वेल्स चाल्र्स र ह्यारी । उनीहरू दुवैको गोर्खासँग घनिष्ट सम्बन्ध छ । गोर्खाहरूले दुई सय वर्षदेखि ब्रिटिस फोर्समा संलग्न रहेर विभिन्न देशका प्रमुख द्वन्द्वमा सहभागी भई बहादुरी र इमानदारिता देखाएका कारण राजपरिवारको नजरमा गोर्खा सैनिक सधैं प्रशंसाका पात्र छन् । सम्बोधनका क्रममा राजकुमार चाल्र्सले गोर्खा सैनिकहरूले बेलायती राजमुकुटका लागि सेवा गरेको दुई सय वर्ष पुगेको स्मरण गर्दै अझै निरन्तर सेवा गरिरहन आग्रह गरे । उनले आफू धेरै वर्षअघि नेपाल गएको बताउँदै हिमालको सम्झना आइरहेको बताए । गोर्खा सैनिकमा १५ वर्ष कर्तव्यनिष्ठ भई उदाहरणीय काम गरेकामा राजकुमार ह्यारीले गोर्खालाई धन्यवाद दिँदै भने, ‘सैनिक लगनशीलता, मिहिनेत, अनुशासन, कर्तव्यपरायण सैनिक जीवन अति नै महत्त्वपूर्ण हुन्छ ।’ 

सन् १९९४ मा बडामहारानीले रोयल गोर्खा राइफल्सलाई निसानी माई उपहार दिएकी थिइन् । उक्त निसानी माईसहित क्याप्टेन डिल्लीकुमार राई, सार्जेन्ट सन्त लिम्बू, लीलाराज लोक्समलगायत टोलीले कवाज प्रस्तुत गर्दै परेड मास्टर बटालियन गणपति लेफ्टिनेन्ट कर्णेल जेसी मुरेले राजपरिवारलाई शाही सलामी दिएका थिए । 

समारोहमा तल्लो अधिकृतका रूपमा दुई दशक लामो समयमा इमानदार, बहादुर र कर्तव्यनिष्ठ भई उदाहरणीय सैनिकको संज्ञा पाएका संखुवासभाका क्याप्टेन छत्र लिङथेबलाई गोर्खा इतिहासमै पहिलो प्रशंसनीय पदक प्रदान गरिएको छ । दरबारको भव्य सभाहलमा द्वन्द्वग्रस्त राष्ट्रहरू अफगानिस्तान, इराक, सेरालियोन जस्ता मुलुकमा ७ सय २० दिन अहोरात्र सुरक्षामा खटिएका दोस्रो गोर्खा बटालियनका प्रमुख लेफ्टिनेन्ट कर्णेल जेसी मुरे, मेजर डेनिल ओकर्ण, साम मिडोज, यातायात प्रमुख क्याप्टेन कृष्ण लोक्सम, वारेन्ट अफिसर वसन्त राई, कलर सार्जन्ट श्री जिमी, वसन्तकुमार राई, कर्पोरल विनोदकुमार राई, रूपेन्द्र राई, सुरज वालिङ राई, खिम थापा र धनप्रसाद घलेलाई अति विशिष्ट पदक (अकुमुलेटेड क्याम्पियन सर्भिस मेडल) प्रदान गरियो । सन् २००८ जनवरीअघि यो पदक प्राप्त गर्न हरेक सैनिकले द्वन्द्वग्रस्त राष्ट्रहरूमा १ हजार ८० दिन सेवा गरेको हुनुपथ्र्यो ।

Related News