गोटी बन्ने कि स्ट्राइकर

​सन्दर्भःभूपी शेरचनको ८२औँ जन्मजयन्ती

श्याम रिमाल ।
हामी कलिको
बलिवेदीमा तेस्र्याइएको युगका मान्छे
कुनै पनि क्षण,
दुई महाबलिका बीच भनाभन
चर्कँदा चर्कँदै,
थिचिन सक्दछ हट लाइन निर बसेका मध्ये एक जनाको
औँलाद्वारा बटन,
र हामीले प्रेमी–प्रेमिकालाई अँगालो मार्दामार्दै
म्वाइँ  खाँदाखाँदै,
हामी जस्ताका त्यस्तै निष्प्राण हुन सक्तछौँ...
(भूपि शेरचन, जय महाबली कलि, घुम्ने मेचमाथि अन्धो मान्छे)

सम्पन्न थकाली परिवारमा जन्मेका भूपेन्द्रमान शेरचन  बनारसमा कम्युनिष्टहरुको सङ्गतमा परेर ‘सर्वहारा’ पनि बने । नेपाली कविताका अध्येता तथा लण्डन युनिभर्सिटीका नेपाली तथा हिमाली अध्ययनका प्रा डा माइकल हट त उनी बाँचेको समय नै लोभलाग्दो थियो भन्छन् ।  ‘द लाइफ अफ भूपि शेरचन, पोएट्री एण्ड पोलिटिक्स इन पोष्ट राणा नेपालः इन ट्युन विद करेण्ट टाइम्स’मा सन् १९७०–८० दशकमा भूपि संभवतः धेरै लोकप्रिय र सबभन्दा बढी पढिनेमा पर्ने बताउँछन् । संस्थापन पक्षविरुद्धको भाव र नेपालीलाई सजिलै छुने दैनिक जीवनमा आउने भाषा  प्रयोगका कारणले उनको लोकप्रिया बढेको उनको भनाइ छ । पहिले पहिले नेपाली कविहरु केही उल्लेख्य अपवादबाहेक आफ्ना कविताहरु संस्कृत शब्द र संकेतबाट भर्थे जुन शास्त्रीय विद्वान्हरु मात्र बुझ्थे । सन् १९६०को दशकम केही युवा कविहरु पश्चिमी मिथक र विम्ब लिएर आएर जुन धेरै नेपालीका लागि दुरुह नै थियो । भूपिले त्यहीँनिर आफ्नो तागत देखाए र शास्त्रीय र पश्चिमी प्रभावबाट मुक्त नेपाली कविता दिए । भूपिको कवितामा नेपालीले नेपालको  गौरव  पुनःस्थापित भएको पाउँछ । पढ्दा आनन्द दिने ती कविता विषादका क्षणमा आशा देखाउने खालका पनि छन् । मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशलाई शब्दमा गेयात्मकताका साथ व्यङ्ग्यालङ्कार दिएर  उने । 
जन्मथलो मुस्ताङ थाक टुकुचेबाट भूपेन्द्रमान अध्ययनका क्रममा परासी, नौतनवा, बनारस पुगे । बनारसमै यिनी कम्युनिष्ट भए जहाँ पुष्पलाल आदि निर्वासित  थिए । त्यहाँ उनी यस्ता कविता लेख्थे– 
धनवाद तिम्रो जनवाद हाम्रो एक दिन त दाँजौँला
आमाको काखमा देशको नाममा एक दिन बाझौँला

पछि फेरि टुकुचे फर्की उनी काठमाडौँ आइपुगे ।  यिनै कवि कम्युनिष्ट विचार छाडी  कालान्तरमा राजा वीरेन्द्रको गान पो गाउन लागे । चुरोट र रक्सी  खूब खान्थे, खुवाउँथे ।  अस्तव्यस्त जीवनबीच सबैको वाहवाही पाउने कविता रच्न सक्ने उनीजस्ता प्राणी फेरि पाउन गाह्रो छ । 
युवा कवि भुवन थपलिया(अङ्ग्रेजी)ले कोही जन्मजात कवि हुन्छन्, कोही पछि कविताको सीप सिकेर कवि हुन्छन्, कोही तिनमाथि धक्का दिने कवि हुन्छन् भनी कविको तीन प्रकारको वर्गीकरण गरेका छन् । उनले  भूपिलाई पछिल्लो श्रेणीमा राखेका छन् जसले नेपाली कविताको भाग्य र भविष्यलाई नै माथिल्लो तहमा पु¥याए । गद्य कवितालाई लोकप्रिय बनाउनेमा गोपालप्रसाद रिमालपछि उनी नै थिए । “उनले मानवीय जीवनको विश्लेषण गरे र सर्वसाधारणको भाषामा कला दिए, पछिल्लो पुस्तालाई शानदार कविताद्वारा बाटो पनि देखाइदिए”, थपलिया भन्छन् । 
तुकबन्दीमा यिनलाई कल्ले जित्ने –
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ? सबथोक छ
असङ्ख्य रोग छ,
अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ (मेरो चोक, घुम्ने मेचमाथि अन्धो मान्छे)

त्रिविमा एकपल्ट भएको कविगोष्ठीमा वैरागी काइँला बौद्धिक कविता बोकेर गएका थिए, किनकि काइँलाले सोचे त्रिविमा बौद्धिकहरु बस्छन्, पढ्छन्, पढाउँछन् ।  भूपि भने उही ‘मेरो चोक’, ‘यो हल्लै हल्लाको देश हो’, ‘घण्टाघर’ मार्काका कविता लिएर गए । काइँलाले कविता सुनाउँदा कतै केही प्रभाव परेनछ । भूपीले सुनाउँदा हल नै ज¥याकजुरुक भई ‘वन्स मोर वन्स मोर’ भन्न थाल्यो । यो काइँलाले नै कुनै कार्यक्रममा स्रोतालाई सुनाएको कुरा हो  । पोखराको एक होटेलमा अम्बर गुरुङसँग खाना खान गएका भूपी अम्बरलाई खाना ल्याएको धेरै बेरपछि पनि खाली नै रहे, वास्तै गरिएनन् । अनि उनले त्यहीँ टेबल ठटाएर गाउन थालिहाले नि–
अम्बरलाई भात पनि दाल पनि
म भूपीलाई आए न थाल पनि

सधैँ विदेशीको हात र इशारामा काम गर्ने बानी परेको नेपाली राजनीतिप्रति उनको तीव्र व्यङ्ग्य रहेको ‘हामी’ कवि अमर छ, त्यसले अहिले पनि नेपाली सान्दर्भिकता बोक्छ । हामी पानीका थोपा जस्ता, च्याउको उचाइ जस्ता, चटकेले अग्ला बाँसमा खुट्टा हालेर अग्लो भएका जस्ता, लामो चुच्चे टोपी लगाउने सर्कसको जोकर जस्तो, बामपुड्के गुलिभर जस्ता, क्यारोम बोर्डका गोटी जस्तो, वीर तर बुद्धु अनि बुद्धु तर वीर जस्तो, धनुवाण सिक्न इन्कारित– उपेक्षित एकलव्य जस्तो र शरीरले आफूलाई पालेको भन्ठान्ने पाइताला जस्तो अनेक नाम दिएका छन् कविले नेपालीलाई –
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याइदिनुपर्ने,
हामी आफखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने –हामी, घुम्ने मेचमाथि...)

के नेपाली स्वभिमान र राष्ट्रियताको रक्षा गर्न तथा देशमा आर्थिक समृद्धि हासिल गर्न ‘हामी’ कवितामा गरिएको व्यङ्ग्य आफूहरुलाई नै गरेको सम्झँदै मुलुकका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, बौद्धिक वर्ग र सर्वसाधारण नेपाली अब आफैँ जुर्मुराएर अघि बढ्न सक्लान् ? विदेशीको मुख ताकेर पाइला नाप्ने हाम्रा राजनेताहरु स्ट्राइकरले हानेर गतिवान् हुने क्यारोमबोर्डको गोटीबाट माथि उठ्न सक्लान् ? तिनले एकपल्ट यिनै भूतपूर्व कम्युनिष्ट कविका कविता एक पल्ट पढिदिए हुन्थ्यो ।
हुनेलाई चारै छाक मासु छ,
नहुनेलाई आँखाभरि आँसु छ ।(दसैँ, भूपी शेरचनका कविता) 

Related News