​भूमाफिया जोगाउन मन्त्रीको फोन

काठमाडौं, १४ मंसिर । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम तीव्र बृद्धि भएको छ । सरकारी जग्गा जोगाउनुपर्ने निकायले चासो नदिंदा बज्रबाराहीमा नगरपालिका र प्रहरीले सक्रियता देखाउनुपरेको छ ।
 ललितपुरको बज्रबाराही नगरपालिकामा हजारौं रोपनी सरकारी जग्गा भूमाफियाले अतिक्रमण गरेपछि नगरपालिका र प्रहरीको सक्रियताले केही ब्यक्ति पक्राउ परेका छन् । कानुन हातमा लिएर डोजर नै लगाएर सरकारी जग्गा अतिक्रमण गर्ने हिम्मत भूमाफियाले गरेका छन् ।
 बज्रबाराही नगरपालिका वडा नम्बर १० को चिहानडाँडा र सरकारी बाटोमै डोजर कुदाएर जग्गा अतिक्रमण गरेको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । यसरी सयौं रोपनी सरकारी जग्गा अतिक्रमण हुँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् ।
 प्रमुख जिल्ला अधिकारीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा अतिक्रमण गर्नेलाई अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । 
बज्रबाराही नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई महानगरीय प्रहरी बृत्त चापागाउँको सहयोगमा पक्राउ गरेका छन् । प्रहरीले दुई वटा डोजरसहित राजन भन्ने चक्रप्रसाद तिम्सिना, मवलकिशोर यादव र खड्गबहादुर सारुलाई सात दिनअघि पक्राउ गरेको छ । उनीहरुलाई सात दिनको म्याद थपी सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारीमा प्रहरी छ । सरकारी जग्गा अतिक्रमणमा देखिएका पात्र राजन भनिने चक्रप्रसाद भए पनि राजनीतिक दलका नेतादेखि वर्तमान सरकारका मन्त्रीसमेत पर्दापछाडि संलग्न रहेका छन् । 
आपूर्ति मन्त्री दीपक बोहरा नै सरकारी जग्गा अतिक्रमणमा मुछिएका छन् । उनले प्रहरीदेखि नगरपालिकाका कार्यकारी अधिकृतसम्मलाई सरकारी जग्गा अतिक्रमणकारीलाई छुटाउन चर्को दबाब दिइरहेको स्रोतले बताएको छ । चापागाउँ, झरुवारासी, ठेंचो र लेले गाविसलाई मिलाएर बज्रबाराही नगरपालिका बनेको हो । यो नगरपालिकामा १८ हजार ३३ रोपनी सरकारी जग्गा छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी सरकारी जग्गा भएको नगरपालिका बज्रबाराही नै हो । 
जग्गाको मूल्य ह्वात्तै बढेपछि भूमाफियाहरुको नजर बज्रबाराहीका सार्वजनिक जग्गामा परेको छ । एउटा झोले राजनीतिक दल खोलेका डीबी थापा पनि बज्रबाराहीका सरकारी जग्गा अतिक्रमण गर्नेमा अग्रपंक्तिमा छन् । उनले सरकारी जग्गा अतिक्रमण गर्दै प्लटिङको ब्यवसाय गर्दैआएका छन् । उनलाई पनि प्रहरीले खोजी गरिरहेको छ ।  
 बज्रबाराही नगरपालिकाअन्तर्गतका सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्न थालेपछि कार्यकारी अधिकृत टेकराज पन्थीले अभियान नै सुरु गरेका छन् । उनले राजनीतिक दल, नागरिक समाज र पत्रकारहरुलाई सरकारी जग्गा अतिक्रमणबाट जोगाउन आग्रह गरेका छन् । कार्यकारी अधिकृत पन्थीले भने, बज्रबाराही अन्तर्गत १८ हजार ३३ रोपनी सरकारी जग्गा छ । ती सरकारी जग्गा संरक्षणका लागि नगरपालिकासँग आवश्यक जनशक्ति अमिन नै छैन । जनशक्ति नभई सरकारी जग्गा छुट्याउन समस्या भएको छ । 
जनशक्ति विहीन नगरपालिकाले सरकारी जग्गा अतिक्रमणकारीलाई कारबाहीको दायरामा ल्याउन खोजेको छ । तर माथिल्लो निकायबाट सरकारी जग्गा अतिक्रमणकारीविरुद्ध नलाग्न धम्की र दबाब आउने गरेको छ । कार्र्यकारी अधिकृतले चाहेरमात्र सरकारी जग्गा संरक्षण गर्न मुस्किल छ । आवश्यक जनशक्ति नभई कसरी संरक्षण गर्ने ? अरु देशमा भए सरकारी सम्पत्ति जोगाउने पन्थी जस्ता राष्ट्रसेवक सम्मानित हुने थिए तर ललितपुरमा भने उनलाई असुरक्षित महसुस गर्ने अवस्था भूमाफियाले सृजना गरेका छन् । 
प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माको संयोजकत्वमा जिल्ला वन कार्यालयका प्रमुख, एलडीओ, मालपोत कार्यालयका प्रमुख र नापी प्रमुख रहेको एक समितिले भूकम्पपीडितका लागि बेनिस्सा, गुठी र विर्ता जस्ता जग्गा दर्ता गर्न पुस ३ गतेसम्मको म्याद दिएको छ । त्यसमा भूकम्पपीडितले १० बर्षदेखि बसोबास गर्दैआएको प्रमाण पेश गरे उक्त जग्गा दर्ता गर्न सिफारिस गर्ने अधिकार दिएको छ । यसरी जग्गा सिफारिसमा पनि भूमाफियाको प्रभावमा सिफारिस भएको गुनासो छ ।

Related News