पोखरेल दोस्रोपटक प्राधिकरणको सीईओ


काठमाडौं, २८ पुस । सरकारले प्रा.डा. गोविन्दप्रसाद पोखरेललाई पुनः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्राधिकरणका तत्कालीन सिइओ सुशील ज्ञवालीलाई बर्खास्त गर्दै पोखरेललाई दोस्रोपटक सीईओ नियुक्त गरेको हो ।

ज्ञवालीलाई दुईपटक स्पष्टीकरण सोधे पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठकले उनलाई हटाउने निर्णय गरेको हो । नवनियुक्त सीईओ पोखरेलले बुधबार नै कार्यभार सम्हालेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ । 

पोखरेल पहिलोपटक २८ साउन ०७२ मा प्राधिकरणको सीईओ बनेका थिए । सुशील कोइराला नेतृत्वमा बनेको तत्कालीन सरकारले योजना आयोगका उपाध्यक्ष रहेका पोखरेललाई नै सीईओको जिम्मेवारी दिएको थियो । त्यस बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अध्यादेशअन्तर्गत प्राधिकरणले काम गरेको थियो भने पोखरेल सीईओ बनेका थिए । तर, सरकारले समयमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रतिस्थापन विधेयक संसद्बाट पारित गर्न नसक्दा प्राधिकरण निष्क्रिय भयो भने पोखरेल पनि सीईओबाट बाहिरिएका थिए ।

प्राधिकरण ऐनअनुसार पोखरेलले करिब तीन वर्ष ११ महिना १५ दिन सीईओको रूपमा काम गर्नेछन् । प्राधिकरणको सीईओको कार्यकाल पाँच वर्ष हुन्छ । तर, सरकारले पहिलोपटक नियुक्त भएका सीईओ हटाएर दोस्रो नियुक्त गर्नुपरेमा बाँकी अवधिका लागि मात्रै सीईओ बनाउन सक्ने व्यवस्था छ । १० पुस ०७२ मा सीईओ भएका ज्ञवालीले १ वर्ष १७ दिन सीईओका रूपमा काम गरे ।

सरकारले १४ पुसमा पहिलोपटक ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले २० पुसमा त्यसको जवाफ दिएका थिए । तर, २१ पुसको मन्त्रिपरिषद्को बैठकले उनीसँग दोस्रो स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले गत आइतबार दोस्रो जवाफ बुझाएका थिए । दुवैपटकको स्पष्टीकरणमा उनले आफूलाई कुनै पनि कारणले हटाउन नमिल्ने जवाफ दिएका थिए ।

प्राधिकरणलाई यो वर्ष सरकारले एक खर्ब ४० अर्ब रुपैयाँ बजेट दिएको छ । गत वर्ष ७४ अर्ब दिइएको थियो । गत वर्ष भएको दाता सम्मेलनमा दाताहरूले पुनर्निर्माणका लागि चार खर्ब १० अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । त्यसमध्ये करिब दुई खर्ब ८० अर्ब रुपैयाँको प्रतिबद्धता सरकारले पाइसकेको छ ।
 

Related News